ई-घोडाघोडी खबर

६ जेष्ठ २०८१

  • अन्न जोगाउन डेहरीमा भण्डारण

    अन्न जोगाउन डेहरीमा भण्डारण

    Share

    थारू समुदायका किसानले कीरा लाग्नबाट अन्नपात जोगाउन परम्परागत ‘डेहरी’ (भकारी)मा भण्डारण गर्न थालेका छन्। घुनलगायत विभिन्न कीराबाट अन्नपात जोगाउन डेहरी उपयुक्त हुने गरेकाले त्यसमा भण्डारण गर्न थालेका हुन्। 

    पछिल्लो समय अन्न भण्डारणका लागि प्लास्टिक र टिनको भाँडाको प्रयोग बढ्न थाले पनि थारू समुदायमा डेहरीको महत्व र प्रयोग घटेको छैन। ‘हाम्रो समुदायमा अन्न भण्डारणका लागि डेहरी अनिवार्य हो’, कैलारी गाउँपालिका–९, सामरचौराका दिनेश चौधरीले भन्नुभयो। 

    “थारू समुदायको प्रत्येक घरमा डेहरी हुन्छ। त्यसमै धान, गहुँ, मसुरो राख्ने गर्दछौँ।” गाउँघरमा डेहरी प्रयोग गर्ने प्रचलन कायम अझै रहेको भनाइ उहाँको छ। अन्नपात भण्डारण गर्ने डेहरी माटोबाट बनाइएको हुन्छ। माटोमा धानको भुसा मिसाएर बनाइने डेहरी जति राम्रो माटो, त्यति बलियो रहने गरेको थारू समुदायका किसानहरू बताउँछन्। सबैले डेहरी बनाउन सक्दैन, सिपालु महिलाले मात्रै बनाउने गर्दछन्। 

    माघ र फागुनमा डेहरी बनाउने गरेको उल्लेख गर्नुहुँदै कैलारी गाउँपालिका–५, वसन्ताकी सनितादेवी चौधरीले डेहरीमा राखिएको अन्न धेरै समयसम्म सुरक्षित रहने गरेको बताउनुभयो। उहाँका अनुसार टिन र प्लास्टिकको भाडामा राखिएको अन्न चाँडै कुहिने र कीरा लाग्न सक्छ तर डेहरीमा राखिएको अन्न लामो समयसम्म सुरक्षित रहन्छ उहाँले भन्नुभयो, “डेहरीमा अन्न राखेर राम्रोसँग बिर्कोले बन्द गरियो भने केही हुँदैन।” 

    अन्न भण्डारणका लागि मात्र नभई डेहरी देवीदेवता पुज्न र प्रतिष्ठाका लागि पनि महìवपूर्ण रहेको जनाइन्छ। यो समुदायका मानिसले ‘पटहुवा डेहरी’ मा आफ्नो कुल देवताको पूजा गर्ने गर्दछन्। पटुवा डेहरीमा अडेस लगाएर वा त्यसको नजिक देवीदेवता राख्ने गरिन्छ।

    यसरी राखिएको कुल देवतालाई दशैँ तथा दीपावलीमा पूजा गर्ने क्रममा पटहुवा डेहरीमा चामलको पिठोले छाप लगाउने चलन रहेको स्थानीय सोनकेशरीदेवी डङ्गौराको भनाइ छ। घरमा बढी डेहरी हुने परिवारको समाजमा इज्जत रहने गरेको छ। 

    बढी डेहरीले धनसम्पत्ति बढी रहेको बुझ्ने चलन छ। थारू समुदायमा विवाहका लागि कुरा छिनोफानो गर्ने क्रममा विगतमा केटाकेटीको घरमा डेहरी पनि हेर्ने गरिन्थ्यो। ‘डेहरी बढी भएमा सम्पत्ति धेरै छ भन्ने मानिन्थ्यो’, डङ्गौरा भन्नुहुन्छ, “अनि विवाहका लागि सबै राजी हुने गर्दथे।” 

    अन्नबाली राख्नका लागि मात्रै नभई डेहरी धार्मिक, सांस्कृतिक रूपले पनि महìवपूर्ण रहेको छ। थारू समुदायमा यसको लोकप्रियतामा कुनै कमी नआएको कैलारी गाउँपालिका–७ का पूर्ववडाध्यक्ष कमलप्रसाद चौधरी बताउनुहुन्छ।

    “हाम्रो समुदायका लागि यही नै हो चिस्यान केन्द्र वा भण्डारण,” उहाँले भन्नुभयो, “परापूर्वकालदेखि नै डेहरी प्रयोग हुँदै आएको छ।” एक पटक बनाएको डेहरी नफुटेसम्म टिक्ने गरेको बताइन्छ। 

    तर नयाँ घर बनाउने क्रममा परम्परागत डेहरी फुट्ने गर्दछन्। नयाँ घर बनेपछि धेरैजसोेले नयाँ डेहरी नै घरमा राख्ने गरेको यो समुदायका अगुवाहरू बताउँछन्।     

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री