कञ्चनपुर, भदौ १६ गते: कञ्चनपुरका थारू समुदायले खेतीपातीमा रोग र कीरा नलागोस् भनेर हरेरी पूजा गर्न थालेका छन्। थारू समुदायको बसोबास रहेको गाउँबस्तीमा धान रोपाइँ पछि सामूहिक रूपमा हरेरी पूजा गर्ने प्रचलन रहेको छ।
यो पूजा साउनदेखि भदौको बीचमा गरिन्छ। पूजा अवधिभर माटो खन्ने, खेतबाट घाँस काट्ने जस्ता काम गर्न निषेध गरिएको हुन्छ। शुक्लाफाँटा वडा नं ३, जोनापुर गाउँका वडघरिया सुरेश चौधरीका अनुसार, परम्परागत रूपमा यो पूजा धानबालीमा हानि पुर्याउने गुभिया र गाँधी जस्ता कीराहरूको प्रकोप रोक्न गरिन्छ।
वडघरिया चौधरीले बताउनुभयो कि यस पूजामा मुख्य भूमिका भुइहयार गुरुवा र कशौकाको हुन्छ। यसमा भुइया भवानी, जगन्नठिया देवता लगायतका इष्टदेवहरूको पूजा गरिन्छ।
परदेशी चौधरीका अनुसार, पूजामा मादल, गोबरबाट बनेको गुइँठा, गन्यारी काठबाट निकालिएको आगो, माटोको दियो, सिन्दूर, अक्षता, र जल जस्ता सामग्रीको प्रयोग गरिन्छ। “पूजा सकिनुअघि मादल बजाउन पाइँदैन,” उहाँले भन्नुभयो, “तर पूजा सकिएपछि रातभर जाग्राम बसेर मादल बजाउँदै नाचगान गरेर रमाइलो गर्ने चलन छ।”
गाँधी, गुभिया लगायतका कीराहरूलाई पक्रेर ल्याउने र केहीलाई गुरुवाले जिउँदै चपाएर खाने पनि गरिन्छ। यसो गर्दा खेतबारीमा कीराको प्रकोप नहुने विश्वास गरिन्छ। तान्त्रिक विधिबाट सहायक गुरुवाका रूपमा रहेका केशौकामा देवता सवार गराउने परम्परा पनि रहेको छ। केशौकामा सवार देवताले गुइँठाबाट बनेको आगोमा हामफाल्ने गर्छन्, र शरीरमा आगोले नलागोस् भनेर मन्त्रद्वारा बाँध्ने कार्य गरिन्छ। आगोले नछोएमा यसलाई सुभसङ्केतका रूपमा लिइन्छ। यो पूजा दुई दिनसम्म चल्छ।
पूजा सकिएपछि, दिउँसोदेखि रातभर नाचगान गर्ने गरिन्छ। जोनापुरका बरका गुरुवा फूलराम चौधरीका अनुसार, यो पूजा गर्दा धानबाली सप्रिने र खेतबारीमा हरियाली रहने विश्वास छ। पूजाको अर्को दिन खेतको पानीमा दूध र आगो मिसाउने चलन छ, जसले धानबालीलाई अझ राम्रो बनाउने विश्वास गरिन्छ। अहिले थारू समुदायका गाउँहरूमा यो पूजा सुरु भएको छ। रासस
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : कालु राम चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
सुचना तथा संचार मन्त्रालय,
दर्ता नं. : 071/72/770,
पान नं.: 602780247