ई-घोडाघोडी खबर

१९ आश्विन २०८१, शनिबार

  • Mohrain Tours and Travels
  • कैलालीमा स्याउ खेती विस्तार, अर्को वर्षको जेठभित्रै बजारमा ल्याउने तयारी

    कैलालीमा स्याउ खेती विस्तार, अर्को वर्षको जेठभित्रै बजारमा ल्याउने तयारी
    Spread the love

    निर्माण व्यवसाय गर्दै आएका गोकर्ण ओलीले कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरमा स्याउ खेती थालेका छन्। तीन बिघा जग्गामा गत वर्षको माघमा एक हजार दुई सय स्याउ रोपेका ओली नेपालमै तराईमा व्यवसायीक स्याउ खेती गर्ने पहिलो किसान हुन्।

    गत वर्ष लगाएको बोटमा यो वर्ष फूल फूलेको भए पनि झार्न लगाएर केही बोटमा मात्रै फल हुर्काउन छोडेको ओलीले बताए। ‘गत वर्षको माघमा भारतको हिमाञ्चल प्रदेशको विलासपुरबाट स्याउका बिरुवा लिएर रोपेको हुँ। एक वर्षमै सबै बोट फूलेका थिए,’ उनले भने, ‘दुई वर्षपछि मात्रै फल लाग्न दिनुपर्छ भनेर औषधि हालेर फूल झारेको हो।

    केही बोटमा भने फल कस्तो लाग्छ भनेर छोडेको छु। दाना बढी रहेका छन्।’ गोकर्ण ओलीले सुदूरपश्चिम कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीको सल्लाहमा भारतको हिमाञ्चल प्रदेशको विलासपुरबाट एचआर ९९ प्रजातिको स्याउ ल्याएर रोपेको हुन्। उनले आफ्नो बगैंचामा ५ सय बोट लखनउ ४९ प्रजातिको अम्बा रोपेका छन् भने १ सय बोट एप्पल बयर रोपेका छन्।

    तराईंमा पनि स्याउ फल्ने विषय युट्युबबाट थाहा पाएका ओलीले कृषि निर्देशक जोशीको सल्लाहले थप हौसला मिलेको बताए। ‘सुरूमा युट्युब हेरेर तराईमा पनि स्याउ हुन्छ भन्ने थाहा पाएको हुँ। कृषि निर्देशक यज्ञराज जोशी सरको हौसलाले मलाई काम गर्न सहयोग मिल्यो,’ उनले भने, ‘अर्को वर्षबाट सबै बोटमा कम्तिमा पनि १० किलोग्राम स्याउ फल्छ।

    हरेक वर्ष १० किलोग्रामका दरले बढ्दै एक बोटमा १ क्वीन्टलसम्म स्याउ फल्नेछ।’ स्याउ, अम्बा र बयर रोपेका ओलीले फार्ममा चार ओटा भैंसी पालेका छन् भने चार÷पाँच गाई थप्ने योजना बनाएका छन्। नयाँ प्रयोग मात्रै होइन व्यवसायीक बन्न अग्रसर ओलीलाई प्रदेश सरकारले पनि आर्थिक सहयोग गरेको छ।

    प्रदेश कृषि निर्देशनालय र कृषि ज्ञान केन्द्र कैलालीबाट १५ लाख सहयोग पाएको ओलीले बताए। ‘मेरो अहिलेसम्म ७५ लाख लगानी भएको छ,’ उनले भने, ‘कृषि निर्देशनालय र ज्ञान केन्द्रबाट १५ लाख अनुदान प्राप्त भएको छ।’ यो वर्ष केही बोटमा फल फलेको भए पनि अर्को वर्षबाट बारीमा लगाएका सबै बोटमा प्रति बोट कम्तीमा १० किलोग्राम स्याउ फल्ने ओलीको अनुमान छ।

    अर्को वर्षबाट सुदूरपश्चिमको बजारमा जेठमै कैलालीमा फलेको स्याउको स्वाद लिन पाइने भएको छ। ओलीको बगैंचामा विभिन्न ठाउँबाट अबलोकन गर्न आउनेको संख्या बढेको छ भने आउने पुसबाट आफ्नो बगैंचाबाट स्याउ, अम्बा र बयरको बिरुवा बिक्री गर्ने ओलीले बताए।
    स्याउ, अम्बा, बयर रोप्दा र बगैंचालाई तारबार गर्दासम्म ७५ लाख लगानी भएको बताउने ओलीले निर्माण व्यवसायभन्दा कृषि व्यवसायमा काम गर्दा आनन्द आउने बताएका छन्। सुरुमा तराईमा स्याउ लगाउने भन्दा मान्छेहरूले विश्वास नगरे पनि अहिले बगैंचामा फलेको स्याउ हेर्न विभिन्न ठाउँबाट मान्छे आउने गरेका छन्।

    ई-घोडाघोडी खबर
    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247