बाजुरा, असोज ३० गते
बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाको कोल्टी आधारभूत अस्पताल भौतिक पूर्वाधारको अभावमा समस्यामा छ। स्थानीयको मागअनुसार २०८० सालमा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रलाई आधारभूत अस्पतालको रूपमा सञ्चालनमा ल्याइएको भए पनि आवश्यक भौतिक संरचना र सुविधाहरू नहुँदा सेवा प्रवाहमा कठिनाइ भइरहेको छ।
अस्पतालले आवश्यक पूर्वाधारको अभावमा आएका बिरामीलाई सेवा दिन असमर्थता जनाउँदै आएको छ। कोल्टी आधारभूत अस्पतालका चिकित्सक सन्जित शाहका अनुसार सघन उपचार कक्षको अभावले गर्दा गम्भीर अवस्थाका बिरामीहरूको उपचारमा थप चुनौती उत्पन्न भएको छ। उहाँले भन्नुभयो, “दुर्गम ठाउँका स्थानीयलाई सेवा दिनका लागि अस्पताल सञ्चालन भए पनि भौतिक पूर्वाधार नहुँदा प्रभावकारी सेवा दिन कठिन भएको छ।”
स्वास्थ्य सामग्रीको अभावले गर्दा अस्पतालले बिरामीहरूलाई अन्यत्रै रिफर गर्नुपरेको पनि चिकित्सक शाहले जानकारी दिनुभयो। अस्पताल, जसले पहिले स्वास्थ्य चौकीको रूपमा काम गरेको थियो, २०६३ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति भएको र २०८० सालमा आधारभूत अस्पतालका रूपमा विस्तार गरिएको थियो।
दुर्गम क्षेत्रका हिमाली, जगनाथ, स्वामिकात्तिक, बुढीनन्दा, मुगु, जुम्ला, र हुम्लाका बिरामीहरू उपचारका लागि कोल्टी आधारभूत अस्पतालमा आउने गरेका छन्।
बुढीनन्दा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ओमजङ्ग शाहीका अनुसार, बुढीनन्दा नगरपालिकाका बिरामीहरूका लागि सेवा दिन त सहज भए पनि अन्य पालिका र छिमेकी जिल्लाहरूबाट आउने बिरामीहरूको चापले व्यवस्थापनमा समस्या उत्पन्न भएको छ। उहाँले भन्नुभयो, “तीन जिल्लाका स्थानीयहरूको लागि यो अस्पताल आशाको केन्द्र हो, त्यसैले यसलाई विस्तार गर्दै भौतिक पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्थापनका लागि प्रदेश सरकारको सहयोग अत्यावश्यक छ।”
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी