क्षेत्रीय सहरी विकास र कालिका कन्स्ट्रक्सबिच सन २०२० जुलाई १२ तारिक अर्थात २०७७ असार २८ मा सडक कालोपत्र गर्न सम्झौता भयो। क्षेत्रीय सहरी विकासमार्फत धनगढीमा १०, गोदावरीमा १६, शुक्लाफाँटामा ८ र भीमदत्तमा १४ किलोमिटर सडक कलोपत्र गर्न सम्झौता भएको थियो। सम्झौताको समय सकिदा पनि काम भने नसकिने भएको छ।
एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा निर्माण थालिएका सडकको असारभित्र काम पूरा नहुने देखिएको छ। धनगढी र भीमदत्तमा सडक कालोपत्रका लागि समय थप गर्न प्रकृया सुरु भएको छ। गोदावरी र शुक्लाफाँटामा सम्झौता अवधिभित्रै काम पूरा गर्ने तयारी छ। क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीका सूचना अधिकारी शौरभ कलौनीले सम्झौताको समयभित्र काम पूरा नहुने बताए। उनले भने, ‘गोदावरीको असारसम्म सकिन्छ। शुक्लाफाँटाको पनि सकिन्छ। भीमदत्त र धनगढीमा विद्युत पोलका कारण ढिलो भएको छ।’
क्षेत्रीय सहरी विकास आयोजनामार्फत निर्माण थालिएका सडक निमार्णको काम सम्झौता अवधिमा पूरा नहुने देखिएको छ। धनगढी उपमहानगरपालिका र भीमदत्त नगरपालिकामा कार्तिकसम्मका लागि सडक कालोपत्र गर्न समय थप गर्न लागिएको छ। निर्माण कम्पनीको निवेदन अनुसार क्षेत्रीय सहरी विकासले कार्तिकसम्म समय थप गर्न सिफारीस गरेको छ। गोदावरी र शुक्लाफाँटामा भने सम्झौता अवधिमा काम पूरा हुँदैछ। धनगढीमा ७२ प्रतिशत काम पूरा भएको छ। उनले भने, ‘धनगढीको रोडको भौतिक प्रगति ७२ दशमलव ४६ प्रतिशत पूरा भएको छ। अहिलेसम्म सम्पन्न हुनुपर्ने हो। विद्युत पोलका कारण कात्तिक १४ सम्मको समय माग गरिएको छ। सोही अनुसार सिफारीस गरेका छौ।’
फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको टुंगो नलगेकाले ढिलो भएको सडक निर्माणको काम विद्युतका पोलका कारण समेत ढिलो भइरहेको छ। क्षेत्रीय सहरी विकासको स्टिमेटमा ९ मिटर र विद्युत प्राधिकरणकोे मापदण्ड फरक भएकाले सडक निर्माणमा समस्या भएको छ। क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीका सूचना अधिकारी शौरभ कलौनीले विद्युतका पोलको विवादका कारण सडक निर्माणमा ढिलो भएको बताए।
धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको एक दशमलव ३८ किलोमिटर, २ दशमलव ७ किलोमिटरको गुल्म–चर्च सडक, ७ सय मिटर लम्बाईको हुलाकी सडक–जाखोर ताल सडक, ३ दशमलव ६५ किलोमिटरको क्याम्पस गेट–चटकपुर सडक, ८ सय ७० मिटरको धनगढी–खुटिया–स्याउले सडक, ४ सय ३० मिटरको मालपोत सडक र एक दशमलव १५ किलोमिटरको हसनपुर सडक कालोपत्रका लागि कालिका कन्ट्रक्सनसँग सम्झौता गरिएको थियो।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी