ई-घोडाघोडी खबर

२६ कार्तिक २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • घर निर्माण र छानामा परिवर्तन

    घर निर्माण र छानामा परिवर्तन
    Spread the love

    बाजुराका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाई लगातार भूकम्प आउन थालेपछि स्थानीयवासी त्रसित बन्न थालेका छन् । भूकम्पका कारण घर, गोठ भत्किनुका साथै केही व्यक्ति घाइते भएपछि यहाँ घर बनाउने शैली र छानासमेत परिवर्तन गर्न थालिएको छ। 

    यहाँका अधिकांश गाउँबस्तीका स्थानीयले भूकम्पको डरले घरको छानामा रहेको सिलेट (ढुङ्गा) हटाई जस्तापाता (कर्कट) प्रयोग गर्न थालेका छन्। भूकम्प आउँदा ढुङ्गाको छानो लगाएको घर भत्केर च्यापिने डरले जस्तापाताको छाना लगाउन थालेका हुन्। 

    पछिल्लो समय बाजुरामा दर्जनौँ पटक भूकम्पको धक्का महसुस हुँदै आएको छ। ढुङ्गा र माटोले बनाएका कच्ची घरहरूमा भूकम्पले बढी नै क्षति हुने गरेको छ। पछिल्लो समय घर निर्माण गर्ने शैलीमा समेत परिवर्तन भएको छ। 

    स्थानीयवासीले नयाँ घर बनाउँदा एकतले र छाना छाउदा ढुङ्गाको सट्टा जस्तापाता प्रयोग गरेका छन् । खप्तड छेडेदह गाउँपालिका–५, डोगडीका पदम सार्कीले भन्नुभयो, “पहिला गाउँमा ढुङ्गा र माटोले बनेका तीन/चारतले घर लगाउने चलन थियो। 

    भूकम्पका कारण ती घरमा बढी क्षति हुन थालेपछि शैली नै परिवर्तन गर्नु परेको छ।” गाउँका सबैले एकतले घर बनाउने र त्यसको छाना कर्कट पाताले छाउने गरेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “बाजुरामा गएको भूकम्पले माटो र ढुङ्गाले निर्माण गरेका तीन/चारतले घरमा बढी क्षति हुने गरेको छ। घर लगाउँदा सिमेन्ट, सरिया (डन्डी) र कर्कट पाताको प्रयोग बढी हुन थालेको छ।”

    यस गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावत कर्कट पाता लगाउँदा भूकम्पबाट पनि जोगिन सजिलो त छँदै छ, सिलेटभन्दा कर्कट पाता सस्तो र लगाउन सजिलो भएकोले सर्वसाधारणको रोजाइमा परेको बताउनुहुन्छ। 

    बाजुराका हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा, गौमूल, बडीमालिका, बुढीगङ्गा, खप्तड, छेडेदह, त्रिवेणी नगरपालिकालगायतका स्थानीय तहमा अधिकांश घर कच्ची भएकाले भूकम्प आउने बित्तिकै चर्किने र भत्केर क्षति हुने गरेको छ। त्यही डरले अधिकांश स्थानीयले एक तलाको घर निर्माण गरी त्यसको छाना भने कर्कट पाताको लगाउने गरेका हुन्।

    राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाजुराका बाढीपहिरो विस्थापितका लागि निर्माण गर्ने भूकम्प प्रतिरोधक घरमा पनि चारै कुनामा सरिया राख्ने र त्यसमाथि डिपिसी गरी छाना कर्कट पाताले छाउने गरिएको छ।

    यसरी निर्माण गरिएका घर भूकम्पले भत्काए पनि मानवीय क्षति भने खासै नहुने भनाइ प्राधिकरणको छ। गाउँमा सिलेट खरिद गर्दा महँगो हुने र भत्के पनि त्यसले मानवीय क्षति धेरै गर्ने भएकाले पछिल्लो समय घरको छाना सिलेटभन्दा कर्कट पाताले छाउने गरेको स्थानीय पदम रावतले बताउनुभयो।

    “एकतले घरमा कर्कट पाताको छाना राख्दा भूकम्प प्रतिरोधात्मक हुन्छ,” उहाँले भन्नुभयो, “गाउँका सबैले सिलेट हटाएर एकतले घर लगाउँदै त्यसमा भूकम्पको डरले घरको छाना कर्कट पाताले छाउने गरेका छन्।”

    यहाँको खप्तड छेडेदह गाउँपालिकाको आटीचौर, नाइना बुढाबाडा, डोगडी, जयवाग्यश्वरी, काँडा, बुढीगङ्गा, बह्रमतोला, कुल्देवमाण्डौ, बाह्रबिसलगायतका अधिकांश गाउँबस्तीमा यति बेला घरहरू मात्र नभई गाईबस्तुको गोठको छानासमेत कर्कट पाताले छाउने गरेको गरिएको छ।

    गत वर्ष माघ १० गते स्वामिकार्तिक मेलामा केन्द्रबिन्दु भएर ५.९ म्याग्नेच्युडकोे भूकम्पले सिलेटले छाएका घर भत्किनुका साथै अधिकांश घर चर्किएका थिए। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार गौमूल, हिमाली, बडीमालिका, बुढीगङ्गा, खप्तड, छेडेदहलगायत विभिन्न स्थानका १०४ घर पूर्ण,  ५०९ घर आंशिक र ४६३ वटा घरमा सामान्य क्षति भएको थियो।

    त्यस्तै वैशाख १५ गते गौमूलको दहकोटमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको अर्को भूकम्पले हिमाली गाउँपालिकाको कोट, कोटिका, रुम्दी, नाटीखोलालगायत विभिन्न स्थानका २३ वटा घर भत्किएका थिए। भत्किएका र चर्किएका अधिकांश घर ढुङ्गा र माटोबाट निर्माण गरिएका रहेका छन्।    

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी