अढाई वर्षदेखि चरा संरक्षणमा क्रियाशील कैलालीका हिरुलाल डङ्गौरा राष्ट्रिय प्रतिभा सम्मानका लागि छनोट हुनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयले उहाँलाई आर्थिक वर्ष २०७९–८० मा प्रदान गरिने राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि वातावरण संरक्षण क्षेत्रबाट छनोट गरेको हो । भजनी नगरपालिका –६ निवासी डङ्गौरा बाल्यकालदेखि वन, वातावरण, वन्यजन्तु तथा चरा संरक्षणमा क्रियाशील हुनुहुन्छ ।
जीवनको पूरै समय संरक्षणमा बितिरहेको उहाँले बताउनुभयो । सम्मानका लागि नेपाल सरकारले आफूलाई छनोट गरेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । उहाँ नेपाल पंछी संरक्षण संघ (बीसीएन) मा चरा विज्ञको रुपमा कार्यरत हुनुहुन्छ ।
डङ्गौराले सुदूरपश्चिम प्रदेशमा दुर्लभ गिद्ध, खरमजुर, सुनौलो तोप चराको हरेक वर्ष अनुगमन गर्दै आउनुभएको छ । यसैगरी, नेपालको प्रथम चरा आरक्ष घोडाघोडी चरा अभय आरण्य क्षेत्र, बसन्ता करीडोर र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्रमा नियमित चरा अनुगमन तथा संरक्षणका लागि समुदायस्तरमा सचेतनामूलक कार्यक्रमसमेत गर्दै आउनुभएको छ ।
स्कुल पढ्ने बेलादेखि डङ्गौरा कैलालीका संरक्षणकर्मी भोजराज श्रेष्ठ (गुलेली बाजे) संगै गुलेली सङ्कलन अभियानमा संलग्न हुनुभएको थियो । डल्फिन संरक्षण क्षेत्रमासमेत अग्रणी भूमिका निर्वाह गर्दै आउनुभएका डङ्गौराले २०१० मा अब्राहम संरक्षण पुरस्कार र २०१२ मा वातावरण संरक्षण पुरस्कार प्राप्त गर्नुभएको थियो ।
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : कालु राम चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
सुचना तथा संचार मन्त्रालय,
दर्ता नं. : 071/72/770,
पान नं.: 602780247