ई-घोडाघोडी खबर

१४ जेष्ठ २०८१

  • चौमाला–बेहडाबाबा–कनरी सडक कालोपत्र, ६ सय मिटरमा नयाँ ठेक्का

    चौमाला–बेहडाबाबा–कनरी सडक कालोपत्र, ६ सय मिटरमा नयाँ ठेक्का

    Share

     कैलालीको चौमलाबाट बेहडाबाबा हुदै कनरी हुलाकी राजमार्ग जोड्ने सडकको साढे चार किलोमिटर सडक कालोपत्रको काम पूरा भएको छ। उत्तरमा पूर्व–पश्चिम र दक्षिणमा हुलाकी राजमार्गलाई जोड्ने सो सडकको चौमाला खण्डमा प्रदेश सरकारले कालोपत्र गरेको हो। 

    गौरीगंगा नगरपालिकाको झिल क्षेत्र र धनगढी उपमहानगरपालिकाको कनरी क्षेत्रमा यसअघि नै सडक कालोपत्र गरिसकिएको छ। सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार कार्यालय कैलालीले चौमाला पुरानो बजारदेखि साढे चार किलोमिटर सडक कालोपत्र गरेको हो। पूर्वाधार कार्यालय कैलालीका इन्जिनियर दुर्गा अवस्थीले साढे चार किलोमिटर सडक कालोपत्रको काम पूरा भएको बताए।

    प्रदेश सरकारबाट सो सडक कालोपत्रको नयाँ योजना नभएको उनले बताए। सात करोडमा साढे चार किलोमिटर सडक कालोपत्रका लागि २०७६ फागुन २८ गते सम्झौता भएको थियो। शनिवेद–उच्चाकोटी जेभीले २०७८ को भदौ २२ सम्म कालोपत्रको काम पूरा गर्नुपर्ने थियो। तर ढिलोगरि मात्र सडक कालोपत्रको काम पूरा भएको छ।

    धनगढी उपमहानगरपालिकाको रामपुर क्षेत्रमा संघीय सरकार मार्फतको सडक डिभिजन कार्यालयले कालोपत्रका लागि ठेक्का सम्झौता गरेको छ। सो खण्डमा सडक कालोपत्रको काम सुरु भएको छ। झण्डै एक करोडको लागतमा ६ सय मिटर सडक कालोपत्रका लागि काम सुरु भएको सडक डिभिजन कार्यालय, महेन्द्रनगरको फिल्ड कार्यालय, धनगढीका प्रमुख गणेश बुढाले बताए। 

    चौमाला–बेहराबाबा–कनरी सडक झण्डै १८ किलोमिटर लामो छ। गौरीगंगा नगरपालिका क्षेत्रमा सडक कालोपत्र भएको छ। धनगढी उपमहानगरपालिकाको वडा नम्बर १५ को केही क्षेत्रमा समेत सडक कालोपत्र गरिएको छ। तर धनगढी उपमहानगरपालिकाको वडा नम्बर १६ रामपुर क्षेत्रमा भने सडक कालोपत्र गरिएको छैन। सो क्षेत्रमा यात्रुहरुले सास्ती पाउदै आएका छन्।

    धनगढी उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष रामलाल चौधरीले बेहडाबाबा मन्दिर र भादा होमस्टे आउने पर्यटकहरुलाई सडक कालोपत्र नभएकाले समस्या हुँदै आएको बताए। उनले संघ तथा प्रदेश सरकारले अन्य क्षेत्रको सडकसमेत कालोपत्र गर्नुपर्ने माग उनको छ। चौमाला–बेहडाबाबा–कनरी सडकले सो क्षेत्रका नागरिकलाई धनगढीसम्म आवत–जावत गर्न सहज हुने छ।

    कृषि उत्पादनले बजार पाउनुका साथै बेहडाबाबासम्म पुग्ने पर्यटकका लागि पनि सहज हुने अपेक्षा गरिएको छ। कैलालीको कनरी–बेहडाबाबा–चौमाला सडक कालोपत्रका लागि नयाँ ठेक्का सम्झौता गरिएको छ। संघीय सरकारमार्फत रामपुर क्षेत्रमा सडक कालोपत्रका लागि नयाँ ठेक्का सम्झौता गरिएको हो।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री