टीकापुर नगरपालिका –१ बनगाउँका किसानहरुले सामूहिक कृषि खेतीसँगै आकर्षक पर्यटन व्यवसायको योजना सुरु गरेका छन् । समुदायमा आधारित कृषि तथा पर्यटन परियोजना नाम दिइएको कार्यक्रममा स्थानीय किसानले पाँच विघा जमिन भाडामा लिएर तरकारी खेती सुरु गरेका हुन् ।
यससँगै दश कोठा भएको फार्म हाउस र रेष्टुरेन्ट खोल्ने तयारी गरिएको किसानहरुको भनाइ छ । परियोजनालाई सफल बनाउन एक जना स्नात्तकोत्तर कृषि विज्ञ, दश जना स्थानीय कृषक कर्मचारीले दैनिक काम गर्दैआएका छन् । एक सय जना किसान परिवार जोडिएका छन् ।
परियोजना सञ्चालन गर्न हरेक किसानबाट २० हजारका दरले रुपियाँ उठाएर तरकारी खेती सुरु गर्दा १५ लाख लगानी भएको छ । पाँच विघामा तरकारी फल्न थालेको छ । रेष्टुरेन्ट सञ्चालनको तयारीमा छ भने दश कोठे आवास भवन बनाउन बाँकी छ । फार्ममा पोखरी बनाइँदैछ, त्यहाँ माछा पालिने र वरपरबाट जिउँदै माछा ल्याएर पोखरीमा राखी ग्राहकलाई मागअनुसार उपलब्ध गराइनेछ । ‘कृषि सँगसँगै पर्यटन व्यवसाय गर्ने उद्देश्यले परियोजना सुरु भएको छ’ कृषि विज्ञ कृष्ण न्यौपानेले भन्नुभयो, “थारु समुदायको संस्कृतिअनुसारका छाप्रोमा रेष्टुरेन्ट र भान्सा बनाउँदैछौं । थारु संस्कृतिलाई संरक्षण गर्दै त्यसलाई आर्थिक आयसँग जोड्ने लक्ष्य राखिएको छ ।’ कृषिसँगै पर्यटन अन्य ठाउँमा परीक्षण गर्दा सफल भैसकेकाले टीकापुरमा पनि सुरु गरिएको न्यौपानेको भनाइ छ ।
परियोजनाले यसै सिजनको तरकारी खेतीबाटै लागत र फार्महाउस बनाउने खर्च उठाउन सकिने प्रक्षेपण गरेको छ । पाँच विघाको कृषि फार्ममा काँक्रो, बोडी, टमाटर, लौका, खुर्सानीका पाँचवटा ब्लक छन् । बजार माग हेरेर तरकारी खेती गरिएकाले बजारको समस्या नहुने कृषक परशुनारायण चौधरीले बताउनुभयो ।
चौधरीका अनुसार प्रतिविघा १७ हजारका दरले पाँच विघा जग्गा भाडामा लिएर खेती भैरहेको छ भने थप पाँच विघा थप गर्ने योजना छ । यहाँ १० कक्षाभन्दा माथि पढेका किसानलाई कृषि प्राविधिक बनाउन ६ महिनाका तलवसहितको प्रशिक्षण भैरहेको छ । ‘विहान क्याम्पस जान्छौं, दिउँसो चार घण्टा खेती गर्ने प्रविधि सिक्छौं, प्रशिक्षार्थी कृषक अनुसा चौधरीले भन्नुभयो, ‘तलव पनि पाउने भनेको छ, यहाँ सिकेको कुरा आफ्नो बारीमा पनि प्रयोग गर्दछौं ।’
टीकापुरलाई कृषि पकेट र कृषि पर्यटन क्षेत्रका रुपमा विकास गर्न नगरपालिकाले काठमाडौंबाट विज्ञ खोजेर ल्याएको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डंगौरा थारुले बताउनुभयो ।
‘थारु कृषकहरु कृषि पर्यटनमा जोडिने र संस्कृतिको पनि संरक्षण हुनेछ, यो सफल भएमा अन्य ठाउँमा पनि बिस्तार गरिनेछ’ नगरप्रमुख थारुले भन्नुभयो, “प्रविधियुक्त र अग्र्यानिक खेती गर्ने लक्ष्य हो, यसअघि किसान लगानी गर्ने तर नाफा नभएमा लगानी डुबाएर भाग्ने अवस्थाको अन्त्य गर्छौं ।’ नगरपालिकाले तरकारी पकेटक्षेत्र बिस्तारमा गर्ने लगानीबाट यस परियोजनालाई सहयोग गर्ने नगरप्रमुख थारुको भनाइ छ ।
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : कालु राम चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
सुचना तथा संचार मन्त्रालय,
दर्ता नं. : 071/72/770,
पान नं.: 602780247