ई-घोडाघोडी खबर

३० भाद्र २०८१, आईतवार

  • Mohrain Tours and Travels
  • टीकापुर बहुमुखी क्याम्पसमा शुल्कमा राहत र छात्रवृत्ति सुविधामा वृद्धि

    टीकापुर बहुमुखी क्याम्पसमा शुल्कमा राहत र छात्रवृत्ति सुविधामा वृद्धि
    Spread the love

    टीकापुर, भदौ १९ गते। सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बनेपछि टीकापुर बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरूले शुल्कमा राहत पाएका छन् र छात्रवृत्ति सुविधामा पनि वृद्धि भएको छ।

    वि.सं. २०५८ मा समुदायद्वारा स्थापना गरिएको टीकापुर बहुमुखी क्याम्पसले पहिले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालन गरिरहेको थियो, तर हाल यो सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बनेको छ।

    स्नातकोत्तर तहको तीन सङ्कायको पहिलो सेमेस्टरमा अध्ययनरत १३९ विद्यार्थीमध्ये ३६ जनाले क्याम्पसबाट र ११ जनाले विश्वविद्यालय अनुदान आयोगबाट गरी ४७ जनाले छात्रवृत्ति पाएका छन्। यस्तै, स्नातक तहको पहिलो सेमेस्टरमा अध्ययनरत १५६ विद्यार्थीमध्ये ४७ जनाले क्याम्पसबाट र ५३ जनाले विश्वविद्यालय अनुदान आयोगबाट गरी एक सय जनाले छात्रवृत्ति पाएका छन्।

    एमबिएसको पहिलो सेमेस्टरमा अध्ययनरत छात्र तपेन्द्र अयडीले जेहेनदार कोटामा ५० प्रतिशत शुल्क बराबरको छात्रवृत्ति पाएको बताउनुभयो। बिबिए पहिलो सेमेस्टरकी छात्रा वैष्णवी रावलले २३ हजारको शिक्षण शुल्कमध्ये १५ हजार छात्रवृत्ति पाएको जानकारी दिनुभयो। बिए प्रथम वर्षका छात्र दीपक चौधरीले ३३ प्रतिशत शिक्षण शुल्कमा छात्रवृत्ति पाएको बताउनुभयो।

    सुदूरपश्चिम विश्वविद्यालयमा समायोजनपछि टीकापुर बहुमुखी क्याम्पसले कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ। क्याम्पस प्रमुख ढवीन्द्र रावलका अनुसार, पहिले ४ प्रतिशत विद्यार्थीलाई मात्र छात्रवृत्ति दिइने गरिए पनि अहिले जम्मा भर्ना भएका विद्यार्थीमध्ये २५ प्रतिशतलाई शिक्षण शुल्क पूरै छुट दिइन्छ। विश्वविद्यालय अनुदान आयोगले पनि केही विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेको छ।

    क्याम्पसमा चार जना पीएचडी, आठ जना एमफिल पूरा गरेका, र ११ जना पीएचडी गरिरहेका छन्, जसले शिक्षाको गुणस्तरलाई थप सुधार गरेका छन्।

    टीकापुर बहुमुखी क्याम्पस पूर्वविद्यार्थी समाजका उपाध्यक्ष ईश्वर साउदका अनुसार, क्याम्पस सरकारी बनेपछि शुल्क घट्नु र छात्रवृत्ति पाउने विद्यार्थीहरूको सङ्ख्या बढ्नाले विद्यार्थीहरूलाई राहत र प्रोत्साहन मिलिरहेको छ। सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्कायमा हरेक वर्ष एक सय विद्यार्थी भर्ना भइरहेका छन्, जसको डिनको कार्यालय पनि टीकापुरमै रहेको छ।

    ई-घोडाघोडी खबर
    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247