टीकापुर, कात्तिक १२ – टीकापुर हवाइमैदानमा पुनः परीक्षण उडान सम्पन्न भएको छ। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूल, क्याप्टेन महेश विष्ट, उज्जवल सिलवाल, इन्जिनियर सम्राट प्रधानसहितको प्राविधिक टोली परीक्षणमा सहभागी भएको थियो। परीक्षण उडान सम्पन्न भएसँगै स्थानीयवासी उत्साहित भएका छन्।
यस अवसरमा पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी टीकापुरमै रहनुभएको छ। पर्यटन मन्त्रालयको पहलमा जहाजको परीक्षण उडानले टीकापुरवासीलाई हवाई सेवा पुनः सञ्चालनको आशा दिएको छ।
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा वन वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले संघीय सरकारले निरन्तर सेवा दिन सहयोग गरे प्रदेश सरकारले पहाडी जिल्लाहरूमा हवाई सेवा विस्तारका लागि अनुदान दिन सक्ने बताउनुभयो। उहाँले टीकापुरबाट अछामको साँफेबगर, जुम्ला, काठमाडौं, धनगढी, र नेपालगञ्जमा नियमित उडान पुनः सञ्चालन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
बर्दिया क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य लालवीर चौधरीले कैलाली र बर्दियाका आठवटा पालिका तथा रानी जमरा कुलरिया सिँचाइ आयोजना लगायतका कारण यस क्षेत्रका जनतालाई हवाई यातायातको आवश्यकता रहेको बताउनुभयो।
टीकापुर नगर प्रमुख रामलाल डगौरा थारुले संघीय सरकारले जहाजको व्यवस्था गर्नुपर्ने र स्थानीय जनताको माग पूरा गर्नुपर्नेमा जोड दिनुभयो। टीकापुरको हवाइ सेवा विसं २०४१ देखि करिब एक दशक सञ्चालनमा आएर बन्द भएको थियो। तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र विष्टमगरले पनि यसअघि परीक्षण उडान गरेका थिए।
टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रपाणि सापकोटाले हवाई सेवा अब निरन्तर सञ्चालनमा ल्याउनुपर्ने माग राख्नुभएको छ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी