महाकाली नदी तर्ने डुङ्गा भारतीय सुरक्षाकर्मीले बिनाकारण बन्द गरेपछि सीमा क्षेत्रमा आर्थिक तथा सामाजिक कार्यमा समस्या परेको छ ।
नेपाल र भारतको सीमा छुट्याउने महाकाली नदीको पञ्चेश्वरमा पुल नहुँदा डुङ्गाबाट दुई देशका नागरिक सीमा वारि–पारि गर्दै आएका छन् । कोरोना महामारीका बेला २०७६ साल चैतमा डुङ्गा चल्न बन्द भयो । त्यसयता पञ्चेश्वर गाउँपालिका–४ स्थित हल्दु–विनायक घाटमा भारतीय सीमा सुरक्षा बलले डुङ्गा चल्न दिएको छैन । पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले महाकाली नदी तर्ने डुङ्गा बन्द हुँदा धार्मिक पूजाआजा, वैवाहिक कार्य, औषधोपचारलगायतका काममा बाधा परेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बैतडीको ६५ किलोमिटर भूभाग महाकाली नदी किनारले दुई देशको सीमा छुट्याएको छ । बैतडीको सीमामा भारतका पिथौरागढ जिल्ला र चम्पावत जिल्ला पर्छन् । चम्पावत जिल्लामा पर्ने महाकाली नदीका घाट सञ्चालनमा छन् तर पिथौरागढ जिल्ला ओहोरदोहोर गर्ने घाट बिनाकारण बन्द भएका छन् ।”
उहाँले भारतको पिथौरागढ जिल्लाका नागरिक पूजापाठ गर्न पञ्चेश्वरमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल गणमेश्वर, कैलपाल र उदयदेव मन्दिर ट्युबको सहारामा नदीमा जोखिम मोलेर आउने गरेको बताउनुभयो ।
पञ्चेश्वर गाउँपालिकाले डुङ्गा चल्ने घाटमा बोलपत्र आह्वान गरेर ठेक्कासमेत दिइसकेको छ । डुङ्गा चलाउन स्थानीय सुरेन्द्र चन्दले ६६ हजार रुपियाँ तिरिसक्नुभएको छ । उहाँले एक लाख २० हजार रुपियाँ खर्च गरेर डुङ्गा निर्माण गरेर घाटमा पु¥याए पनि थन्किएको बताउनुभयो । काठबाट निर्मित डुङ्गाको म्याद एक वर्ष मात्रै हुने भएकाले डुङ्गा बिग्रँदै गएको र लगानी खेर गएको उहाँले सुनाउनुभयो । सीमा नदीमा डुङ्गा चलाएरै जीविका चलाउँदै आएका स्थानीय चन्दले आम्दानीको स्रोतसमेत बन्द भएको दुःखेसो पोख्नुभयो ।
पञ्चेश्वर विनायकका वीरेन्द्र चन्दले डुङ्गा बन्द हुँदा गत चैतको भेटौलो पर्वमा नेपाल–भारत दुवै देशमा विवाह गरेर आए गएका छोरीचेली भेट्नसमेत नपाएको बताउनुभयो । उहाँले पञ्चेश्वरको विनायक गाउँमा घर पोत्ने रातो माटोसमेत छोरी–बुहारीले भारततर्फबाट ल्याउने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशको सीमा पो महाकालीले छुट्याएको छ। भारतीय नागरिका कुल देउता नेपालतर्फ छन्। भारतीय सीमा सुरक्षा बलले डुङ्गा बन्द गर्दैमा दुई देशको धार्मिक, सांस्कृतिक र वैवाहिक सम्बन्ध बन्द हुँदैन।”
बैतडीको तल्लोस्वराड क्षेत्रको पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा नेपाल–भारत ओहोरदोहोर गर्ने आठवटा तार–उतार डुङ्गा घाट छन्। महाकाली तरेर नेपाल–भारत आवतजावत गर्न पञ्चेश्वर गाउँपालिका–१ मा रोल घाट, वडा नं. २ मा डिम्बर घाट, ढोया घाट, पञ्चेश्वर गाउँपाकिला–४ मा हल्दु–विनायक घाट, मार्थला घाट र वडा नं. ५ मा बलारा, शिवनाथ गाउँपालिका–२ मा कुस्मत घाट र नागार्जुन घाट रहेका छन्।
यी घाटमध्ये भारतको चम्पावत जिल्लासँग सीमा जोडिएको शिवनाथ गाउँपालिकाका घाट सञ्चालन भए पनि पिथौरागढसँग सीमा जोडिएका पञ्चेश्वरतर्फका घाट बन्द रहेका छन्। पञ्चेश्वरको हल्दु–विनायक घाट सञ्चालन गर्न भारतीय पक्षसँग कुरा गरे पनि चासो नदिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो। उहाँले भन्नुभयो, “घाट खोल्ने विषयमा सीमा सुरक्षा बैठकमा कुरा राखेका थियौँ। भारतीय पक्षले खासै चासो दिएनन्। घाट बन्द हुँदा नेपालतर्फ मात्रै नभएर भारतीय नागरिक पनि समस्यामा छन्। आखिर सीमा क्षेत्रमा धार्मिक, सांस्कृतिक र वैवाहिक सम्बन्ध सदिऔँदेखि चल्दै आएको छ।” भारतबाट पूजाआजाका लागि हजारौँ भारतीय नेपाल जाने गरेकाले डुङ्गा मात्रै होइन, महाकाली नदीमा दुई देश मिलेर पुलसमेत निर्माण गर्नुपर्ने भारतीय सञ्चारकर्मी एवं पिथौरागढका स्थानीय सुरेन्द्र आर्यले बताउनुभयो।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी