ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • फेरि उठे रवि लामिछाने, अरू चर्चित उम्मेदवार पनि ‘मौका परीक्षा’ मा

    फेरि उठे रवि लामिछाने, अरू चर्चित उम्मेदवार पनि ‘मौका परीक्षा’ मा
    Spread the love

    वैशाख १० गते हुने उपनिर्वाचन मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा र पराजित कम्तीमा चार उम्मेदवारका लागि ‘मौका परीक्षा’ जस्तो बनेको एक पूर्वनिर्वाचन आयुक्तले बताएका छन्। गत निर्वाचनमा विजयी भएर पछि पद खारेज भएका रवि लामिछाने पनि चितवन-२ मा पुनः उम्मेदवार बनेका छन्।

    चार महिनाअघि भएको प्रतिनिधिसभा चुनावमा निर्वाचित हुन नसकेका यी उम्मेदवारहरू बारा र तनहुँमा हुन लागेको उपनिर्वाचनमा फेरी प्रमुख दलहरूबाट उम्मेदवार बनेका छन्।

    जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहले दोस्रो मौकाका लागि सोमवार उम्मेदवारी दर्ता गराएका छन्।

    निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार उपनिर्वाचन हुन लागेका तीन वटा क्षेत्रमा ५८ जनाको उम्मेदवारी दर्ता भएको छ।

    “सबैभन्दा धेरै बारा-२ मा २९ जना चितवन-२ मा २० जना र तनहुँ-१ मा नौ जनाको उम्मेदवारी दर्ता भएको विवरण आएको छ,” उनले भने।

    चितवन-२ मा पुनः उठेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मङ्सिरमा यही क्षेत्रबाट ठूलो मतान्तरले जितेका थिए। उनले नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई पराजित गरेका थिए।

    तर नागरिकता प्रकरणमा सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएपछि यो क्षेत्रमा पुनः निर्वाचन हुन लागेको हो।

    लामिछानेसँग यो क्षेत्रमा प्रतिस्पर्धा गर्ने प्रमुख दलका उम्मेदवारहरू भने नयाँ छन्। कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने दुवै पहिलो पटक संसदीय चुनावका प्रतिस्पर्धी हुन्।

    बारा-२ मा तीन जनाका लागि दोस्रो मौका

    उपेन्द्र यादव
    तस्बिरको क्याप्शन,फाइल तस्बिर

    मङ्सिरको निर्वाचनमा असफल भएका तीन उम्मेदवारहरूको प्रतिस्पर्धाका कारण बारा-२ को उपनिर्वाचन रोचक बन्ने देखिएको छ।

    यो क्षेत्रमा प्रतिनिधिसभाको छैटौँ ठूलो दल जनता समाजवादी पार्टीका अध्यक्ष पनि चुनावी प्रतिस्पर्धामा छन्। सप्तरी-२ मा जनमत पार्टीका सीके राउतसँग पराजित भएका यादवले मङ्सिरमा आफ्नो दलले चुनाव जितेको बाराबाट उम्मेदवारी दिएका हुन्।

    चुनाव जितेका जसपाका रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा-२ मा उपनिर्वाचन हुन लागेको हो।

    अघिल्लो निर्वाचनमा रामसहाय यादवसँग झिनो मतान्तरले पराजित भएका शिवचन्द्र कुशवाह पार्टी फेरेर उम्मेदवार बनेका छन्। यसअघि माओवादीबाट उम्मेदवार बनेका कुशवाह यो क्षेत्रमा माओवादीले यादवलाई सघाउने भएपछि जनमत पार्टीमा प्रवेश गरे।

    यादव र कुशवाहजस्तै यो क्षेत्रबाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलका लागि पनि यो निर्वाचन दोस्रो मौका हो। मङ्सिरको निर्वाचनमा उनी काठमाण्डू-१ मा उम्मेदवार बनेका थिए तर सफल हुन सकेनन्।

    नेपाल प्रहरीको डीआईजी पदबाट राजीनामा दिएर राजनीतिमा प्रवेश गरेका खरेलले काठमाण्डूमा भने प्रतिस्पर्धीहरूभन्दा धेरै कम मत पाएका थिए।

    बारा-२ बाट राजेन्द्र महतो पनि उम्मेदवार बन्ने चर्चा थियो। तर उनको दलले उपेन्द्र यादवलाई सघाउने निर्णय गरेपछि उनी उम्मेदवार बनेनन्।

    तनहुँमा सर्वेन्द्र खनालका लागि दोस्रो मौका

    सर्वेन्द्र खनाल
    तस्बिरको क्याप्शन,फाइल तस्बिर

    मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा काठमाण्डू-६ बाट उम्मेदवारी दिएका सर्वेन्द्र खनाल दोस्रो भएका थिए। नेपाल प्रहरीको महानिरीक्षक पदबाट अवकाश पाएपछि नेकपा एमालेको राजनीतिमा जोडिएका खनालले फेरि तनहुँ-१ बाट उम्मेदवार बनेका छन्।

    नेपाली कांग्रेसबाट निर्वाचित भएका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त भएको यो क्षेत्रमा खनालले कांग्रेसका गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेसहितका उम्मेदवारसँग प्रतिस्पर्धा गर्न लागेका छन्।

    अर्थशास्त्री वाग्ले हालै मात्रै रास्वपा प्रवेश गरेका थिए।

    पूर्वकार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ अघिल्लो निर्वाचनमा अस्वीकृत भएका केही उम्मेदवारहरू प्रतिस्पर्धामा देखिएका कारण यो निर्वाचन उनीहरूका लागि “मौका परीक्षा” भएको बताउँछन्।

    “यो एक प्रकारले उनीहरूका लागि मौका परीक्षा हो,” गुरुङले बीबीसी न्यूज नेपालीसँग भने।

    “एक पटक जनताले अस्वीकृत गरेको उम्मेदवार तत्कालै उम्मेदवार बन्नु राम्रो चाहिँ होइन। तर जनताको छनोटको कुरा हो। कतिपयले क्षेत्र पनि छनोट गरेका छन् – अर्को ठाउँको रोजाइमा पर्छु कि भन्ने लालसा पनि हुनसक्छ।”

    Tags: nebtrump
    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी