बैतडी, असोज ११ गते। मेलौली नगरपालिकाका मेयर भीमबहादुर चन्द पानीको मुहान खोज्न ग्वाल्लेक संरक्षित वनको काखमा रहेको ढणौँन गाउँ पुग्दा कलकल बगिरहेको पानी भेट्नुभयो। तर, गाउँका आधाजति घरमा मानिसहरू देखिएनन्। दुई सय घरमध्ये अधिकांशमा ताला झुन्डिएका थिए। बस्तीमा बसाइँ सरेर छाडिएका घरको आँगनमा वनमारा उम्रिएका छन्। बिजुली बाल्न काठको पोलमा तार अड्याइएको देख्न सकिन्छ। वडामा आधारभूत स्वास्थ्य चौकीसमेत छैन। सामान्य औषधि सिटामोल लिनसमेत अर्को पालिका पुग्नुपर्छ। यो पीडा मेलौली नगरपालिका–३ अन्तर्गत ढणौँन, कुजगाड र बाघगोठ गाउँको हो।
मेलौली नगरपालिका–३ मा न आधारभूत स्वास्थ्य चौकी छ, न पठनपाठनका लागि विद्यालय। कक्षा ९ र १० का विद्यार्थीले माध्यमिक शिक्षा आर्जन गर्न दिनहुँ १० किलोमिटर पैदल हिँडेर विद्यालय जानुपर्छ। पानीको मुहान खोज्न आएका जनप्रतिनिधिहरूले पनि ग्वाल्लेक वन संरक्षणमा लागेका ढणौँनवासीलाई कुनै प्रोत्साहन गरेका छैनन्। प्रदेश सरकारले संरक्षित वन कार्यक्रम सञ्चालन गर्दा ढणौँनवासीलाई सहभागी नगराइएकोप्रति स्थानीय बासिन्दा वसन्त चन्दले गुनासो गर्नुभयो।
स्थानीय तहको पुनर्संरचनापछि सिंहदरबारको अधिकार गाउँमा आएको भनिए पनि मेलौली नगरपालिका–३ का बासिन्दाहरूले अहिलेसम्म कुनै सरकारी सेवा सुविधा नपाएको ७० वर्षीय गोल्मा चन्दले दुःखेसो पोख्नुभयो। छोराहरू रोजगारका लागि बाहिर गएका कारण गोल्मा चन्द घरमा एक्लै हुनुहुन्छ। गाउँका आधाभन्दा बढी मानिस बसाइँ सरेपछि गाउँ सुनसान भएको छ। वडाध्यक्ष गगनसिंह भाटका अनुसार पुनर्संरचनाअघि दुई सयभन्दा बढी घरधुरी भएका ढणौँन गाउँमा अहिले जनसङ्ख्या आधा घटेको छ।
साबिकको दुर्गास्थान गाविसका वडाहरू मिलाएर मेलौली नगरपालिका र दशरथचन्द नगरपालिकामा विभाजन गरिएको छ। तर मेलौली नगरपालिका–३ का बासिन्दाहरूले आधारभूत शिक्षा, स्वास्थ्य र यातायातका सेवाहरू अहिलेसम्म प्राप्त गर्न सकेका छैनन्। पुनर्संरचनामा भएको त्रुटि सच्याउन ढणौँनवासीहरूले २०७८ साल साउनमा ज्ञापनपत्र बुझाए पनि अहिलेसम्म सुनुवाइ भएको छैन।
गाउँको पुनर्संरचना गर्दा सामाजिक, सांस्कृतिक र आर्थिक पक्षलाई बेवास्ता गरिएकोले ढणौँनवासीले सास्ती पाइरहेको वसन्त चन्दको गुनासो छ। मेलौली नगरपालिकाको सेवा लिन गाडीमा १० हजार रुपैयाँ तिरेर मेलौली–१ को बैङ्क पुग्नुपर्ने बाध्यता छ। यसरी कठिनाइ झेल्न नसकेर आधाभन्दा बढी जनसङ्ख्या बसाइँ सरेको छ। केही गरिब परिवार मजदुरीका लागि भारत पसेका छन्।
साबिकको दुर्गास्थान स्वास्थ्य चौकी मेलौली नगरपालिका–२ मा गाभिएको छ। ढणौँनका विद्यार्थी कक्षा ५ वा ८ उत्तीर्ण गरेपछि उच्च शिक्षा आर्जन गर्न १० किलोमिटर टाढा प्रतिपुर मावि जान बाध्य छन्। प्रतिपुर मावि मेलौली नगरपालिका–१ को सिमानामा भए पनि यस विद्यालयमा ३ नम्बर वडाका विद्यार्थीलाई पहुँच छैन।
नगर प्रमुख भीमबहादुर चन्दले पुनर्संरचनामा कमजोरी भएको स्वीकार गर्दै ३ नम्बर वडामा सीमा हेरफेर आवश्यक भएको बताउनुभयो। उहाँका अनुसार, २ नम्बर वडामा दुईवटा स्वास्थ्य चौकी छन्, तर दुर्गास्थानका साबिकका ६ र ७ नम्बर वडालाई दशरथचन्द नगरपालिकामा गाभिएकाले अहिलेको ३ नम्बर वडा स्वास्थ्य सेवाबाट वञ्चित भएको छ।
सिगास र पुर्चौडीका स्थानीयलाई एक दिनको पैदल यात्रा
सिगास गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–१० का स्थानीयले पुनर्संरचनापछि गाउँ तथा नगरपालिकाबाट सेवा लिन एक दिन पैदल हिँड्नुपर्ने बाध्यता छ। जयपृथ्वी लोकमार्गसँग जोडिएको सिगास गाउँपालिका–१ का वडाध्यक्ष रामचन्द्र ऐरीका अनुसार, वडाबाट गाउँपालिकासम्म सडक सुविधा नहुँदा स्थानीयले पैदल हिँड्नुपरेको छ। पुर्चौडी नगरपालिका–१० का स्थानीयहरूले पनि सेवा लिन एक दिन पैदल यात्रा गर्नुपर्ने अवस्था रहेको छ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी