बैतडीमा चार दिनपछि एक छाक पानी उपभोक्ताहरूलाई वितरण गरिदैँ छ।
जिल्लाको दशरथचन्द नगरपालिका-४ स्थित सदरमुकाममा खानेपानीको अभाव भएको हो। बैतडी साना सहरी खानेपानीका पाइपमा चुना जमेर पानी आपूर्ति कम भएको भन्दै सदरमुकामका गढी, शाहिलेक र गोठालापानी बजार क्षेत्रमा चार दिनमा एक छाक पानी दिने गरिएको हो।
छ इन्च व्यास भएको पाइपभित्र चुना (क्याल्सिइक) जम्दा पाइपको व्यास चार इन्चमा झरेको साना सहरी खानेपानीका प्राविधिक पदम ठगुन्नाले जानकारी दिए। सदरमुकाममा दैनिक पाँच लाख ५० हजार लिटर पानी आवश्यक पर्नेमा हाल दैनिक तीन लाख लिटर पानी आपूर्ति हुन थालेपछि चार दिनमा एक छाक पानी दिने गरेको उनले बताए।
तीन दिनमा एक पटक पानी आउन थालेपछि सदरमुकाम क्षेत्रमा डेरा गरेर बस्ने विद्यार्थी र होटल सञ्चालक समस्यामा परेका स्थानीय बताएका छन्। जनप्रतिनिधि बिलासी बनेका कारण सर्वसाधारणले चार दिनमा एक छाक बासी पानी खानु परेको नागरिक समाज बैतडीका प्रकाश चन्दले बताए।
सदरमुकामको खानेपानी समस्याका बारेमा दशरथचन्द नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिक्रम चन्दले साना सहरी खानेपानी मर्मतका लागि नगरपालिबाट १० लाख रुपैयाँ बिनियोजित गरेर मर्मतका लागि सम्झौता भएको बताए। जिल्ला सदरमुकामममा २०१८ सालमा खानेपानी आपूर्ति हुदै आएको सुतीगाड खानेपानी मर्मतका लागि सुदूरपश्चिम प्रदेश सरकारबाटसमेत बजेट आएको चन्दले जानकारी दिए। बैतडी सदरमुकामको खानेपानी समस्या समाधानका लागि विभिन्न पक्षहरू लागिपरिरहेको बताए पनि खानेपानी उपभोक्ताहरूको समस्या जस्ताको तस्तै रहेको छ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी