बैतडी, असोज ३० गते
डडेल्धुरामा भएको रात्रि बस दुर्घटनामा ज्यान गुमाएका चारै जना एकै परिवारका रहेको खुलासा भएको छ, बैतडीको पुर्चौडी नगरपालिकालाई शोकमा डुबाएको छ। चाडपर्वको बेला भएको यो दुर्घटनाले स्थानीय समुदायमा गहिरो पीडा छाएको छ।
मृतकहरूमा पुर्चौंडी नगरपालिका–३, बैतडीका ४५ वर्षीया जयमति बोहरा, उहाँका नाबालक छोरा, २० वर्षीया कमला बोहरा, र २२ वर्षीय सहदेव बोहरा रहेका छन्। उक्त बस करिब ४०० मिटर तल खसेर दुर्घटना भएको हो।
कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडी नगरपालिका–१, हाटतर्फ जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस मङ्गलबार राति करिब ११:४५ बजे डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटनामा परेको थियो। यो दुर्घटनामा १२ जना घाइते भएका छन् भने दुई जना अझै बेपत्ता रहेका छन्। बसमा १८ जना सवार थिए।
प्रहरीले बस चालक निदाएको कारणले दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ। गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरालाई थप उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी उपेन्द्रबहादुर बमले जानकारी दिनुभयो।
घाइतेहरूमा पुर्चौंडी नगरपालिका–७ का २४ वर्षीय नवराज साउद, वडा नं. ६ का २४ वर्षीय राजेन्द्र साउद, कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय दिनेश साउद, डडेल्धुराको आलिताल गाउँपालिका–१ का २१ वर्षीय मुकुन्द बोहरा, दार्चुलाको मार्मा गाउँपालिका–५ की ३४ वर्षीया विमला महता, कृष्णपुर नगरपालिका–५ की ६५ वर्षीया धनमती साउद, पुर्चौंडी–८ का ४२ वर्षीय पदमबहादुर बोहरा, सोही ठाउँका २४ वर्षीय बस चालक वीरेन्द्र बोहरा, वडा नं. ७ का २८ वर्षीय नवराज रतोकी, २० वर्षीय सुरेन्द्र रतोकी, वडा नं. १० का दामोदर महरा र धनबहादुर महरा रहेका छन्।
### सात प्रहरी चेकपोष्ट हुँदा पनि दुर्घटना किन रोकिएन?
सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरबाट पहाडतर्फ जाने रात्रि बसहरूमा दुर्घटनाको संख्या बढिरहेको छ। प्रदेश प्रहरी कार्यालयअन्तर्गत अत्तरिया ट्राफिक प्रहरीले पहाडी जिल्ला जाने रात्रि बसलाई टाइम कार्ड उपलब्ध गराउँदा पनि बस चालकहरू प्रायः एक जना मात्र हुने गरेका छन्। सात ठाउँमा प्रहरी चेकपोष्टहरू— अत्तरिया, बुडर, स्याउले, खोड्पे, पाटन, सतबाँझ र बैतडी सदरमुकामको खहरेपिपलमा भए पनि दुर्घटना घटाउन प्रयास असफल देखिएको छ। विशेष गरी चाडपर्वका समयमा पहाडी सडकखण्डहरूमा दुर्घटनाहरूको जोखिम बढिरहेको छ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी