धनगढी। सुदूरपश्चिम प्रदेशमा अहिले बजेट निर्माणको चटारो छ। प्रदेश सरकारले भदौ २५ गतेभित्र चालू आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेको छ। यसै क्रममा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भदौ १९ गतेभित्र वार्षिक कार्यक्रमको प्रविष्टि सकाएको छ।
मन्त्री लक्ष्मणकिशोर चौधरी नेतृत्वको सो मन्त्रालयले तोकिएको मितिभित्र बजेट निर्माणको प्रक्रिया सम्पन्न गरेको छ। स्वास्थ्य समस्याको बाबजुद पनि मन्त्री चौधरी जिम्मेवारी पूरा गर्न समर्पित छन्।
दुबै मृगौला काम गर्न छोडेपछि चौधरीलाई एकातिर स्वास्थ्यको जटिलता छ भने अर्कोतिर जनताको जिम्मेवारीको भारी। मन्त्री चौधरीले भने, ‘मेरो हप्तामा तीन पटक डायलसिस हुन्छ। बजेट निर्माण अघि म मृगौला प्रत्यारोपणको तयारीमा थिएँ, तर जिम्मेवारी पूरा गर्न बजेट निर्माणमा नै लागिपरें। अब बजेट सार्वजनिक भएपछि मृगौला प्रत्यारोपणको तयारी गर्नेछु।’
उनको मृगौला समस्या नयाँ भने होइन। २०६४-०६५ सालतिर थारु भाषाको चलचित्र ‘भुइँचाल’ निर्माणको क्रममा उनको मृगौलामा समस्या देखिएको थियो। पछिल्लो पटक गत जेठ २० गते उनलाई मृगौलाको जटिल समस्या पुनः देखा पर्यो। अहिले उनी सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा उपचार गराइरहेका छन्। धनगढीस्थित सेती प्रादेशिक अस्पताल र नवजीवन अस्पतालमा उनी नियमित डायलसिस गराउँदै आएका छन्।
चौधरीको दुईपटक मृगौला प्रत्यारोपण भइसकेको छ। पहिलोपटक २०६५ मा उनकी आमा सुरतकुमारी थारुनीले मृगौला दिएर उनलाई जीवनदान दिएकी थिइन्। दोस्रोपटक ०७२ मा उनकी कान्छी बहिनी असर्फी चौधरीले मृगौला दिएर उनको जीवन जोगाइन्। अहिले पनि उनी तेस्रो पटक मृगौला प्रत्यारोपणको तयारीमा छन्।
कैलाली क्षेत्र नम्बर १ (२) बाट नागरिक उन्मुक्ति पार्टीका तर्फबाट निर्वाचित चौधरीको यो दोस्रो मन्त्री कार्यकाल हो। यसअघि उनी सामाजिक विकास मन्त्री भइसकेका छन्।
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : कालु राम चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
सुचना तथा संचार मन्त्रालय,
दर्ता नं. : 071/72/770,
पान नं.: 602780247