रानाथारू समुदायमा कुनै बेला आफ्नै समुदायभित्र मात्रै विवाह गर्नुपर्छ भन्ने मान्यता थियो। यसको कारण यो समुदायका मानिस सजातीय विवाहका लागि बरु भौगोलिक सीमा पार गर्थे तर गैररानाथारूसँग विवाह गर्दैनथे।
कैलाली, कञ्चनपुरको रैथाने यो समुदायमा पछिल्लो दशक भने विवाहको सोचमा धेरै परिवर्तन आएको छ। विगतमा भारतमै भए पनि रानाथारू समुदायसँग मात्रै वैवाहिक सम्बन्ध गाँस्नुपर्छ भन्ने रानाथारू समुदायमा अब अन्तरजातीय विवाह हुन थालेको छ। अचेल यो समुदायका युवकयुवतीले अन्य समुदायका युवकयुवतीसँग विवाह गर्न थालेका छन्। कतिपय विवाह त पारिवारिक स्वीकृतिमै भइरहेका छन्।
“अब त थारू पहाडी सबैसँग हाम्रो विवाह चल्न थालेको छ। पहिले भने रानाको विवाह रानासँग मात्रै हुन्थ्यो, हुनु अनिवार्य मानिन्थ्यो। अहिले त्यस्तो कडाइ छैन,” धनगढी उपमहानगरपालिका–१०, जुगेडाका ७५ वर्षीय वृद्ध भिख्खु रानाले भन्नुभयो।
उहाँका अनुसार आमाबुवा वा परिवारको पहिलो रोजाइ अझै पनि सजातीय विवाह नै हो तर विस्तारै सबै कुरा परिवर्तन हुँदै गएको छ। “मेरो परिवारको कसैको विवाह मेरै जातका मान्छेसँग नै होस् भन्ने त मेरो पनि चाहना हुन सक्छ तर मैले चाहेर हुँदैन। परिवर्तनशील समयसँगै हामी चल्न सक्नुपर्छ,” भलमन्सासमेत रहनुभएका रानाले भन्नुभयो।
अचेल रानाथारू समुदायका अगुवा, बुद्धिजीवी वा उनीहरूका सन्तान अन्तरजातीय विवाह गरिरहेका छन्। यसमध्येका उदाहरण हुनुहुन्छ, पुनर्बास नगरपालिकाका उपप्रमुख भुलियाकुमारी राना र डा. यज्ञवती राना। कञ्चनपुरको पुनर्बास नगरपालिकाका उपप्रमुख भुलियाकुमारीले यसै वर्ष आफ्नै ठाउँको पदम देउवासँग वैवाहिक सम्बन्ध गाँस्नुभयो। उहाँहरूको मागी विवाह धुमधामसँग भयो।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–८ की डा. यज्ञवती राना चितवनका थारू परिवारमा यसै वर्ष बेहुलीका रूपमा भित्रिनुभयो। रानाथारू समुदायबाट पहिलो महिला डाक्टर उहाँ पूर्वसंविधान सभा सदस्य एवं निवर्तमान प्रदेश सभा सदस्य मालामती रानाथारूको छोरी हुनुहुन्छ। यज्ञवतीको आमाबुवाले चितवनबाट जन्ती बोलाएर धनगढीमै धुमधामसँग विवाह गरेका हुन्। रानाथारू समुदायका छोरी अन्य समुदायमा दुलही बन्ने मात्रै नभई यो समुदायका छोराले अन्य समुदायबाट दुलही पनि भित्र्याइरहेका छन्। यस्ता विवाह कतिपय परिवारको सहमतिमा त धेरैजसो प्रेम सम्बन्धका कारण भइरहेका छन्।
रानाथारू समुदायमा बढेको चेतनास्तर र शिक्षाका कारण अहिले अन्तरजातीय विवाह बढ्दै गएको धनगढी उपमहानगरपालिका–१०, घुइयाघाटका युवक रञ्जित रानाले बताउनुभयो। “केही वर्ष पहिले चौधरी र रानाथारूबीच नै विवाह हुँदैनथ्यो तर अहिले रानाथारूको घरघरै चौधरी परिवारबाट बुहारी आइसकेका छन्,” उहाँले भन्नुभयो। विवाह सम्बन्धका लागि जातभातभन्दा पनि राम्रो वरबधु आवश्यक रहेको रानाको बुझाइ छ।
करिब तीन दशकअघि रानाथारू समुदायमा यस्तो थिएन। अपवादका रूपमा कहीँ कतै अन्तरजातीय विवाह भए होलान तर सकेसम्म आफ्नो समुदायमा मात्रै बिहेबारी चलेको घुइयाघाटकै सालिकराम रानाले बताउनुभयो। उहाँका अनुसार गाउँभित्रै, एक गाउँबाट अर्को, कैलाली–कञ्चनपुर र भारतमा रानासँग वैवाहिक सम्बन्ध हुन्थ्यो। आफैँले भारतबाट बेहुली भित्र्याएको भन्दै उहाँले अब जोसुकैसँग विवाह भइरहेको बताउनुभयो।
विगतमा कैलाली, कञ्चनपुरका रानाथारू र भारतको रानाथारूबीच छोरी लेनदेन खुबै भएको थियो तर अचेल यो कार्य रोकिएको छ। नेपाल–भारतका रानाथारूबीच रोटीबेटीको सम्बन्धमा कमी आउनुमध्येको एउटा कारण अन्तरजातीय विवाह पनि रहेको सो समुदायका मानिसको बुझाइ छ। “अब आफ्नै समुदायका केटा वा केटीसँग विवाह गर्नुपर्छ भन्ने बाध्यता छैन। मन मिले र परिवार सहमत भएमा जोसँग पनि बिहे गर्दा हुने भयो,” कक्षा १२ सम्म अध्ययन गर्नुभएका रञ्जितले भन्नुभयो।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी