सुखड, कैलाली: कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा अवस्थित घोडाघोडी मन्दिरमा यस वर्ष विवाह पञ्चमीका अवसरमा थारु समुदायको विशेष “लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव २०८१” हुने भएको छ। “हमार संस्कृति हमार पहिचान, संस्कृति जर्गना करना हमार अभियान” भन्ने मुख्य नाराका साथ आयोजित महोत्सव मंसिर १९ देखि २१ गतेसम्म आयोजना हुनेछ।
थारु समुदायले वर्षौंदेखि आफ्ना परम्परागत चाडपर्व अनुसार बाली घरमा भित्र्याउने बेलामा पहिले देवतालाई चढाएर मात्र उपभोग गर्ने परम्परा पालन गर्दै आएको छ। नियमित रूपमा घोडाघोडी मन्दिरमा विवाह पञ्चमीको दिन मनाइँदै आएको लवाङ्गी पूजा यस पटक पनि विशेष सांस्कृतिक उत्सवका रूपमा आयोजना गरिन लागेको हो।
महोत्सवको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक बुधराम चौधरीले यस पर्वले थारु समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानलाई सुदृढ गर्न, युवापुस्तामा हस्तान्तरण गर्न र कला–संस्कृतिको संरक्षणमा योगदान पुर्याउने उद्देश्य रहेको बताए। महोत्सवमा कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङलगायतका जिल्लाहरूबाट थारु समुदायका भक्तजनहरूको उपस्थिति हुने अनुमान गरिएको छ। थारु समुदायमा विशेषरूपमा प्रचलित बर्का नाच, सखिया नाच, मुग्रहुवा नाच, कठघोरी नाच लगायतका नृत्य प्रस्तुति तथा थारु कलाकारहरूको विशेष प्रस्तुति रहनेछ।
सन्त समागम समाजका अध्यक्ष कप्तान चौधरीका अनुसार १ सय ७३ गाउँका भलमन्सा, गुरुवा र चिराकीहरूको सहभागिताले महोत्सवलाई अझ व्यवस्थित बनाउन सहयोग हुने बताए । घोडाघोडी ताललाई विश्व रामसार सूचीमा सूचीकृत गरिएको हुँदा यस महोत्सवले तालको संरक्षण, सदुपयोग, र अन्तर्राष्ट्रिय प्रचारप्रसारको लागि थप सन्देश दिन सहयोग पुर्याउने उद्देश्य राखेको बताइयो।
कार्यक्रमको सञ्चालन घोरिघोरा नगरभलमन्सा कार्य समितिका सचिव अमन चौधरीले गरेका थिए।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी