कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको नरभक्षी बाघलाई नियन्त्रणमा लिएर ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ। निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकको सहयोगमा बाघलाई सदर चिडियाखाना, जावलाखेलमा राखिएको हो।
महिला मार्ने बाघलाई सदर चिडियाखानामा राखिएको छ। आइतबार साँझ साढे ५ बजे बाघलाई सदर चिडियाखानामा राखिएको हो। त्यहाँ पुगेपछि बाघको नामकरण गरिएको छ। उक्त पोथी बाघको नाम ‘महारानी’ राखिएको चिडियाखानाका प्रमुख डाक्टर नरेश सुवेदीले बताए।
वैशाख ८ गते बेलौरी नगरपालिका–८ पचुई गाउँ क्षेत्रमा पर्ने खप्टी नालामा ४२ वर्षीया गंगादेवी चन्दलाई आक्रमण गरेको थियो। उक्त बाघको आक्रमणमा उनको ज्यान गएको थियो। अन्य महिला भाग्न सफल भई उद्धारका लागि कुण्डा सव डिभिजन वन कार्यालयमा खबर गरेपश्चात आक्रमणमा परेकी महिलाको उद्धार र बाघ नियन्त्रण कार्यमा डिभिजन वन कार्यालय कञ्चनपुर, निकुञ्ज कार्यालय (हात्तीसहित), नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, कोषको शुक्लाफाँटा संरक्षण कार्यालयलगायतका निकाय क्रियाशील भइ बाघलाई नियन्त्रणमा लिइ भिडियाखानामा पु¥याइएको हो।
राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरद अधिकारीले बाघले धेरै मानिसहरुलाई क्षति गरेकाले नियन्त्रणमा लिएर चिडियाखानामा राखिएको बताए। उनले अहिले चिडियाखानामा ४ वटा बाघ राख्नसक्ने क्षमता भएपनि ५ वटा बाघ रहेको जानकारी गराए। ५ वटा बाघमध्ये ४ वटा भाले बाघ र एउटा पोथी बाघ रहेको छ। उनले चिडियाखानमा एउटा महाराजा नामक बाघ रहेको र उसलाई जोडी बनाउने गरी कञ्चनपुरबाट ल्याइएको बाघ महारानी नाम दिएर राख्ने योजना रहेको जानकारी दिए।
उद्धार गरिएको पोथी बाघ अन्दाजी पाँच वर्ष उमेरको रहेको र घटना भएको क्षेत्र नजिकको भारतीय वन क्षेत्रमा विगत एक महिनाको अवधिमा थप दुई (एक जना नेपालीसहित) को बाघका कारण ज्यान गएको पाइएको सदस्यसचिव अधिकारीले बताए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वरपरको क्षेत्रमा ३६ वटा वयस्क पाटेबाघ रहेको अनुमान गरिएको छ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी