गर्मी बढेसँगै कैलाली र कञ्चनपुरको चुरेक्षेत्रमा डढेलोको प्रकोप बढेको छ। कञ्चनपुरमा ब्रह्मदेवदेखि कैलालीको गोदावरीसम्म दर्जन बढी ठाउँमा डढेलो लागेको छ। डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिकाको ब्रह्मदेव क्षेत्र, बेदकोट नगरपालिकाको बेदकोट ताल र चोरपानी क्षेत्र, शुक्लाफाँटा नगरपालिकाको वडा ५ र ८ को उत्तरी क्षेत्रमा डढेलो लागेको हो।
चुरेमा डडेलधुरा र कञ्चनपुर जोड्ने बाटोमा डढेलोको बढी प्रकोप रहेको स्थानीयले बताएका छन्। यसैगरी, लालझाडी मोहना संरक्षित क्षेत्रमा पनि डढेलो लागेको छ। पिपरिया र चुरे फेदीमा संरक्षित क्षेत्रमा पनि डढेलो लागेको छ। डिभिजन वन कार्यालयका अनुसार डढेलोका कारण हालसम्म ११३ हेक्टर बढी वन क्षेत्र प्रभावित भएको छ। पिपरैयामा ७० हेक्टर र चुरे फेदीमा ५२ हेक्टर हाराहारी वन क्षेत्र डढेलोले प्रभावित भएको छ।
डढेलोका कारण हुने वातावरणीय र अमूल्य वनसम्पदाको क्षतिको भने लेखाजोखा नै हुने गरेको छैन। जलवायु परिवर्तनका कारण बढेको तापक्रम, लामो खडेरीका कारण यस वर्ष धेरै ठाउँका जंगलमा आगो लागेको छ आगलागीबाट वन विनाश त भयो नै, वनमा आश्रित जीवजन्तु, चराचुरुंगीका आश्रयस्थल नष्ट भए, कति जीवजन्तुले ज्यान गुमाए, भौतिक रुपमा कति क्षति भयो, कुनै लेखाजोखा नै छैन।
हरेक वर्ष लाग्ने डढेलो संकटको स्तरमा पुग्ने गरे पनि सरकारी निकायहरु जंगलको संख्या गणनामा मात्र सीमित हुने गरेका छन्। तर, डढेलोले वनस्पति तथा बहुमूल्य जडिबुटी तथा लोपोन्मुख पशुपन्छीको अस्तित्व संकटमा परेको तर्फ न त संघीय सरकार चिन्तित छ, न स्थानीय तह नै।
डढेलोले वनस्पती तथा वन्यजन्तुसम्बन्धमा पारेको असरबारे अहिलेसम्म सरकारी तथा गैरसरकारी निकाय कसैले पनि अनुसन्धान गरेका छैनन् भने वन डढेलो नियन्त्रण रणनीति कार्यान्वयन गर्न अहिलेसम्म कुनै कार्ययोजना नै बनेको छैन। यस्तै, संघीय सरकारले डढेलो नियन्त्रणका लागि छुट्याएको बजेट पनि न्युन हुँदा सो बजेट पनि तालिमकै नाममा खर्च हुने गरेको छ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी