धनगढी, असोज ३० गते
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुलुक सङ्घीयतामा प्रवेश गरेपछि प्रहरीको जिम्मेवारीमा वृद्धि भएको बताएका छन्। उनले ६९ औं प्रहरी दिवसको अवसरमा आज धनगढीमा आयोजित समारोहमा यसलाई औंल्याएका हुन्।
मुख्यमन्त्री शाहले सङ्घीयतामा प्रहरीको जिम्मेवारीमा वृद्धि भएको भए पनि सीमित स्रोत र साधनका बावजुद प्रहरीले आफ्नो कार्य दायित्व पूरा गरिरहेको कुरा बताएका छन्। “कानुनले दिएको जिम्मेवारीलाई प्रहरी सौहार्दतापूर्वक निर्वाह गरिरहेको छ,” उनले भने, “कानुन कार्यान्वयनको क्रममा प्रहरी अविचिलित रुपमा अगाडि बढ्दै छ।”
उहाँले नेपाल प्रहरीको शान्ति, सुरक्षा, र विपत्मा उद्धारका कामको प्रशंसा गर्दै सङ्घीय सरकारले केही ऐन र कानुन नबनाउँदा प्रदेशलाई पर्ने समस्याबारे पनि चर्चा गरेका छन्। “प्रहरी समायोजन हुन्छ कि हुँदैन, त्यो विषयमा सङ्घ सरकारले जवाफ दिनुपर्छ,” उहाँले जोड दिएका छन्। यदि समायोजन हुन्छ भने प्रक्रिया चाँडै अगाडि बढाउनुपर्ने र नहुँदा विकल्प खोज्नुपर्ने सुझाव दिएका छन्।
मुख्यमन्त्री शाहले न्यायका लागि जनता पहिलोपटक प्रहरीसमक्ष पुग्ने भएकाले प्रहरीले आफ्नो कर्तव्य र दायित्व बिर्सनु हुँदैन भन्ने कुरा समेत जनाएका छन्।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक श्यामकृष्ण अधिकारीले प्रदेश सरकारले नेपाल प्रहरीलाई ठूलो सहयोग प्रदान गरिरहेको भन्दै आभार व्यक्त गरे।
दिवसको अवसरमा प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापा, ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गङ्गाबहादुर सारु, र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निरीक्षक दयालबहादुर साउदलाई पुरस्कृत गरिएको छ। साथै, प्रहरी वरिष्ठ हवल्दार सुरेन्द्रबहादुर चन्द, राजेन्द्र विष्ट, देवराज कामी, नरेन्द्रबहादुर बम, र प्रहरी जवान हेमराज विष्ट र सुस्मिताकुमारी रोकायालाई पनि सम्मानित गरिएको छ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी