सवारी जति आवश्यक छ, यसबाट जोखिम र मानवीय क्षति पनि उत्तिकै छ। जनसंख्या र सवारी प्रयोग गर्नेको चाप बढ्दै जाँदा दुर्घटना, जोखिम घटाउने र नियमन गर्ने उपायको खोजीमा सरोकारवालाको चासो देखिँदैन।
दुर्घटनाबाट आर्थिक, भौतिक नोक्सानीले स्थिति भयावह हुँदा त्यसलाई नियन्त्रण गर्ने प्रभावकारी प्रयास हुन सकेको छैन। लाइसेन्स, सडकमा सांकेतिक ट्राफिक चिन्ह र जरिवाना प्रभावकारी नहुँदा दुर्घटना बढ्दै गएको हो। ट्राफिक व्यवस्थापनमा ट्राफिक संकेत चिह्न अनिवार्य छ, तर सुदूरपश्चिमका अधिकांश सडकमा यस्ता चिह्न नहुँदा ट्राफिक व्यवस्थापन कठिन मात्र भएको छैन, सडक असुरक्षित बन्दै गएको छ।
ट्राफिक संकेत चिह्न सडक यात्रुको सुरक्षासँग सम्बन्धित विषय हो। यी प्रमुख रूपमा सूचनामूलक, निर्देशनात्मक र निषेधात्मक हुन्छन्। सूचनात्मक चिह्नले सवारी चालकलाई अगाडिको ठाउँ आदिबारेमा जानकारी दिन्छ। निर्देशनात्मक चिह्नले सडकबारे जानकारी दिन्छ। जस्तै– ‘प्रतिघन्टा पाँच किमिमा सवारी गतिलाई सीमित राख।’ हर्न बजाउन, युर्टन गर्न, पार्किङ गर्न निषेध गर्ने संकेत आदि निषेधात्मक चिह्न हुन्।
सडकमा राखिएका यी तीन प्रकारका ट्राफिक चिह्न सवारी चालकले पालना गर्दा यातायात सुचारु भई ट्राफिक जाममा अधिक कमी आउँछ। सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा सबैभन्दा बढी ट्राफिक चिह्न र दण्ड जरिबानामा केन्द्रित छ। ट्राफिक एफएमले ‘लेन अनुशासन पालना गरौं’ भनी जनचेतनामूलक विज्ञापन दोहो¥याउँदै बजाउने गरेको छ। सडकमा लेखिएका र राखिएका चिह्नहरू पनि मेटिएर नदेखिने अवस्थामा छन्।
सडक सुरक्षा, ट्राफिक व्यवस्थापन र विशेष गरी धनगढीको छविसँग सम्बन्धित अत्याधुनिक ट्राफिक संकेत चिह्न दुरुस्त राख्न नागरिक दबाबको आवश्यकता छ। अब जनप्रतिनिधिहरूले कर्मचारीलाई यसबारेमा प्रश्न गर्न थाल्नुपर्छ। सडकमा ट्राफिक संकेत चिह्न नहुँदाको अप्ठ्यारोबारे बहस हुनुपर्छ। त्यसको जिम्मेवार पक्षलाई उत्तरदायी बनाउन सार्वजनिक दबाबको थालनी हुनुपर्छ।
धनगढीले दियो ट्राफिक प्रहरीलाई उपकरण
धनगढी उप-महानगरपालिकाले जिल्ला ट्राफिक कार्यालय कैलालीलाई ट्राफिक उपकरणहरू हस्तान्तरण गरेको छ। जिल्ला ट्राफिक कार्यालय कैलालीको समन्वयमा धनगढी उप-महानगरपालिकाले ट्राफिक उपकरणहरू हस्तान्तरण गरेको हो। समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आइतबार उप-महानगरपालिकाले बढ्दो सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनमा सहज भूमिका निर्वाह गर्न आवश्यक पर्ने ट्राफिक उपकरणहरू हस्तान्तरण गरेको जिल्ला ट्राफिक कार्यालय कैलालीले बताएको छ।
ट्राफिक उपकरणहरू ब्रेथलाइजर दुई थान, हुईल लक पाँच थान, म्याजिक लाइट दुई थान, ट्राफिक सङ्केत बोर्ड ६० थान हस्तान्तरण गरेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले धनगढी उप-महानगरपालिकाको कार्यालय परिवार तथा नगर प्रमुखलाई धन्यवाद दिएको छ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी