ई-घोडाघोडी खबर

३ फाल्गुन २०८१, शनिबार

  • Mohrain Tours and Travels
  • सेती अस्पतालमा सुधारको कुरा गर्दा कारबाही 

    सेती अस्पतालमा सुधारको कुरा गर्दा कारबाही 
    Spread the love

    सेती प्रादेशिक अस्पतालको सुधारको कुरा उठाउँदा आफूलाई कारबाही गरिएको अस्पताल व्यवस्थापन समतिका सदस्य डिल्लीराज भट्टले बताएका छन्। स्वास्थ्यकर्मी भर्ना प्रक्रियाको विरोध गरेका डिल्लीराज भट्टलाई नेकपा माओवादी केन्द्रको धनगढी नगर कमिटीले कारबाही गरेको छ। अस्पताल व्यवस्थापन समितिका सदस्य रहेका भट्टलाई नेकपा माओवादी केन्द्र धनगढी नगर कमिटीको पदाधिकारी बैठकले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो।

    नगर अध्यक्ष सुरज खातीको अध्यक्षतामा मङ्गलवार बसेको पदाधिकारी बैठकले पार्टीको विधि र नीति विपरीत काम गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी पार्टीबा निष्कासन गरेको हो। नगर कमिटी सचिव रमेश भट्टराईले पार्टीको अनुशासन विपरीत काम गरेकाले भट्टलाई कारबाही गरिएको बताए।

    भट्टले भने पार्टीको नीति र विधान विपरीत नगर कमिटीमा रहेका केही व्यक्तिले गैरकानूनी ढङ्गले कारबाही गरेको बताएका छन्। उनले पार्टीको विधानमा नगर कमिटीको सदस्यको हकमा जिल्ला कमिटीले अनुशासनको कारबाही गर्ने प्रावधान रहे पनि नगर कमिटीका चार जना बसेर आफूलाई कारबाही गरिएको बताएका छन्।

    ‘अस्पतालमा कर्मचारी भर्ना प्रक्रिया नियमसंगत गरौं भन्दा कारबाही’
    सेती प्रादेशिक अस्पतालमा ७१ जना कर्मचारी भर्नाको प्रक्रिया नियम संगत तरिकाले गर्नुपर्छ भनेकाले पार्टीको नाममा केही व्यक्तिले आफूलाई कारबाही गरेको भट्टले बताएका छन्। स्वास्थ्यकर्मी भर्नामा अनियमितता भइरहेको भन्दै भट्टले प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेलाई विधिसम्मत रुपमा काम गर्न ध्यानाकर्षण गराएका थिए। सोही विषयलाई लिएर माओवादी केन्द्रको धनगढी नगर कमिटिका अध्यक्ष सुरज खातीले २८ चैतमा भट्टलाई स्पष्टीकरण सोधेका थिए।

    ‘तपाईलाई पार्टीको तर्फबाट सेती प्रादेशिक अस्पताल व्यवस्थापन समिति सदस्यको जिम्मेवारी दिइएको, उक्त अस्पतालमा पार्टीको तर्फबाट व्यवस्थापन समितिको अध्यक्ष हुँदा तपाईले संस्था र पार्टीको हित विपरीत कार्य गरेका पाइएकाले दुई दिन आफ्नो लिखित जवाफ पेश गर्नका लागि यो पत्र पठाइएको छ,’ अध्यक्ष खातीले सोधेको स्पष्टिकरण पत्रमा भनिएको छ।भट्टले दुई दिन भित्र जवाफ पेश गरेको भएपनि चित्त नबुझेको भन्दै उनलाई पार्टीबाट निष्कासन गरिएको हो। पटकपटक पार्टी हित विपरीत काम गरेकाले कारबाही गरिएको नगर कमिटीले जनाएको छ।

    भट्ट माओवादी केन्द्रको धनगढी नगर सचिवालय सदस्य, प्रचारप्रसार विभाग प्रमुख र वडा नम्बर ४ को इन्चार्जको जिम्मेवारीमा थिए । प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्य भट्टले पार्टीले गरेको कारबाही आन्तरिक विषय भएको बताएका छन्।
    उनले पार्टी कमिटी र नेतृत्वसँग कारबाहीको विषयमा आफूले छलफल गरिरहेको बताउँदै अस्पताल व्यवस्थापन समितिको सदस्यको हैसियतमा व्यक्तिगत स्वार्थपूर्ति गर्न ऐन, कानून विपरीत काम गर्न नहुने बताएका छन्। प्रादेशिक अस्पतालमा नवौं तहका चिकित्सकसहित अन्य कर्मचारी पदपूर्ति गर्न थालेको प्रक्रिया विवादित बनेको थियो।
    सम्भव भएसम्म लिखित परीक्षा गर्नूः मुख्य न्यायाधिवक्ता
    अस्पतालले कोरोना महामारीका बेला बनाइएको मापदण्डमा टेकेर स्वास्थ्यकर्मी भर्ना थालेको भन्दै उजुरी परेको थियो। प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयले सामाजिक मन्त्रालयलाई महामारीका बेलाको मापदण्डको सुविधा जुनसुकै बेला लिन नपाउने राय दिएको थियो। मुख्य न्यायाधिवक्ताको कार्यालयले सम्भव भएसम्म लिखित परीक्षा नै लिएर कर्मचारी भर्ना गर्न सुझाव दिएको र त्यो सुझावलाई नै सामाजिक विकास मन्त्रालयले सेती अस्पताललाई पठाएको मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए।
     

    भट्टलाई पार्टी विधान विपरीत कारबाही
    नेकपा माओवादी केन्द्रको अन्तरिम विधान, २०६३ को पहिलो संशोधन २०७८ को अध्याय १२ संगठनात्मक सिद्धन्त, पद्धति र अनुशासनको धारा ५६ को उपधारा (२) को (ख) मा ‘कुनै पनि व्यक्ति वा सदस्यले तोकिएको दायित्व र जिम्मेवारी पालना नगरेमा समितिको हकमा माथिल्लो समितिले सचेत गर्ने वा नसिहत दिने वा निलम्बन गर्ने वा विघटन गर्न सक्नेछ र सदस्यको हकमा सम्बन्धित समितिले ठोस आधार तथा कारण खुलाई नसिहत वा  एक पद घटुवा गर्न सक्नेछ। तर, त्यस्तो निर्णय एक तह माथिल्लो समितिबाट अनुमोदन भएपछि लागू हुनेछ।’ भन्ने उल्लेख गरिएको छ।

    यस्तै, सेल, टोल र वडा समितिसम्मको कारबाही नगर/गाउँ समितिले गर्न सक्नेछ, नगर/गाउँदेखि जिल्ला अन्तर्गतका समितिहरुमा जिल्ला समितिले र जिल्ला समितिको लागि प्रदेश समितिले अनुशासनको कारबाही गर्नेछ। तर कुनै पनि तहको निर्णयको अनुमोदन एक तह माथिल्लो समितिबाट गराउनु पर्नेछ’ भन्ने विधानमा उल्लेख छ। विधानमा उल्लेखित प्रावधानअनुसार नगर किमिटीका केही व्यक्तिले आफूलाई गरेको कारबाही अवैध रहेको भट्टको दाबी छ।
     

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी