ई-घोडाघोडी खबर

३० भाद्र २०८१, आईतवार

  • Mohrain Tours and Travels
  • स्वामित्व हस्तान्तरण नहुँदा धनगढी सभागृह प्रयोगविहीन

    स्वामित्व हस्तान्तरण नहुँदा धनगढी सभागृह प्रयोगविहीन
    Spread the love

    अत्तरिया (कैलाली), भदौ १६ गते/धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँमा निर्माण गरिएको ‘धनगढी सभागृह’ स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको छ। सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीमार्फत निर्माण गरिएको सो सभागृहको स्वामित्व हस्तान्तरण नहुँदा यसको उपयोग हुन नसकेको हो।

    दुई वर्षअघि निर्माण सम्पन्न भएको सभागृहमा ७०० जनाको क्षमता भएको मुख्य हल, २०० जनाको क्षमता भएको कार्यक्रम कक्ष, र १०० सवारी साधन अटाउन सक्ने पार्किङ क्षेत्र निर्माण गरिएको छ, यसबारे आयोजना कार्यान्वयन एकाइका सूचना अधिकारी सौरभ कलौनीले जानकारी दिनुभयो। उहाँका अनुसार, सभागृहको निर्माण सङ्घीय सरकारको रु ३२ करोड ६० लाख ८१ हजारको लागतमा सम्पन्न भएको हो।

    विसं २०७५ माघदेखि निर्माण सुरु भएको सभागृह २०७९ असारमा सम्पन्न भएको थियो। निर्माण कम्पनी ‘विकेओआई एमके रोयल’ जेभीले यस सभागृह निर्माण गरेको हो। धनगढी उपमहानगरपालिकाले उपलब्ध गराएको एक बिघा जग्गामा निर्माण भएको सभागृहमा रङरोगन, विद्युत् जडानलगायतका कार्य पूरा भइसकेका छन्। “निर्माण सम्पन्न भएपछि धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने योजना थियो”, सूचना अधिकारी कलौनीले भन्नुभयो, “तर उपमहानगरले फर्निचर र साउण्डसिस्टम जडान नभएको भन्दै बुझ्न मानेन। त्यसैले अहिलेसम्म हस्तान्तरण हुनसकेको छैन।”

    उहाँले थप जानकारी दिनुभयो, “साउण्डसिस्टम जडानका लागि हामीले पटक–पटक सङ्घीय सरकारसँग बजेट माग गर्दा पनि सुनुवाइ भएन। अहिले रु १५ लाख बजेट आएको छ, तर यो पर्याप्त छैन। साउण्डसिस्टम जडानका लागि कम्तिमा रु ८० लाखदेखि रु एक करोडको हाराहारीमा बजेट आवश्यक पर्छ।”

    धनगढीमा आयोजना हुने सभा, गोष्ठी, बैठक, सेमिनार जस्ता ठूला कार्यक्रमहरू सञ्चालन गर्नका लागि बनेको सभागृह सञ्चालनमा आउन नसक्दा, सरकारी कार्यालयहरूले यस्ता कार्यक्रमहरू होटल र पार्टी प्यालेसमा महँगो भाडा तिरेर सञ्चालन गरिरहेका छन्। रासस

    ई-घोडाघोडी खबर
    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247