भवानीदत्त भट्ट
कञ्चनपुर, साउन २७ गते । कञ्चनपुरमा अनुमतिबिना बिरामीको उपचार गर्ने तथा औषधी बिक्री गर्दैआएका एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यहाँको दोधारा चाँदनी नगरपालिका –१ खैराडी टोलबाट प्रहरीले सोही ठाउँका ४० वर्षीया गीता सेठीलाई नियन्त्रणमा लिएको हो । विगत लामो समयदेखि इजाजतबिना बिरामीको उपचार तथा औषधी बिक्री गर्ने गरेको सूचनाका आधारमा सेठीलाई औषधीसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र स्वास्थ्य कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले मंगलबार दिउँसो सेठीको घरमा खानतलासी गरेको थियो । खानतलासीका क्रममा उहाँको घरमा राखिएका ९९ हजार ४८५ मूल्य बराबरका औषधी र उपचार गर्न प्रयोग हुने उपकरण बरामद गरिएको प्रनाउ रावतले जानकारी दिनुभयो ।
सेठीलाई कानुन बमोजिम पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।














