बैतडी, भदौ १० गते  । बैतडीको प्रसिद्ध निङालासैनी भगवती मन्दिरको ऐतिहासिक दुधकुण्ड पुग्ने पैदलमार्ग नहुँदा यसको महिमा ओझेलमा परेको छ । दुधकुण्डको जल मन्दिरमा चढाउनुका साथै सुदूरपश्चिम प्रदेशमा मनाइने प्रमुख चाड गौरापर्वको बिरुडा धुन प्रयोग हुँदै आएको छ ।

दशरथ चन्द नगरपालिका–१, गुरुखोलामा रहेको दुधकुण्ड निङालासैनी भगवती प्रकट भएकै बेलामा दुधका धारा बगेर उत्पत्ति भएको किंवदन्ती छ । दुधकुण्ड पुग्न दशरथ चन्द राजमार्गबाट गुरुखोला गाउँतर्फ चार किलोमिटर कच्ची सडकको यात्रापछि पाँच सय मिटर पैदल हिँड्नु पर्छ । यद्यपि पैदल हिँड्ने बाटो नहुँदा भक्तजन समस्यामा पर्दै आएका छन् ।

दुधकुण्डको संरक्षणका लागि सोही गाउँका वरिष्ठ समाजसेवी मायाप्रकाश भट्टले चन्दा सहयोगबाट कुण्ड संरक्षण गर्दै भक्तजनलाई स्नान गर्न धारा निर्माण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “दुधकुण्ड पुग्ने पदमार्ग, अतिथिगृह, ढुङ्गाको गौमुखे धारा र ऐतिहासिक छबिसको खालो (गौरापर्व मनाउने आँगन) पनि छैन ।”

दुधकुण्ड संरक्षणका लागि स्थानीय भक्तजनको चन्दा सहयोगबाहेक सरकारीस्तरबाट कुनै योजना नआएको निङालासैनी भगवतीका पुजारी देवदत्त भट्टले गुनासो गर्नुभयो । उहाँ दुधकुण्ड रहेको गुरुखोलाको कलौन क्षेत्र आफैँमा ऐतिहासिक र पवित्र क्षेत्र भएको बताउनुहुन्छ । यस क्षेत्रको छबिसको खालोमा सबै जातजातिका मानिस जम्मा भएर गौरापर्व मनाउने ऐतिहासिक परम्परा रहेको स्थानीय संस्कृतिका जानकार सिद्धराज भट्टले बताउनुभयो । उहाँका अनुसार निङालासैनी भगवतीका पुजारी यही गाउँबाट रहने परम्परा अहिले पनि कायम छ ।

किंवदन्ती अनुसार कलौन क्षेत्रकै भट्ट पुजारीले यही दुधकुण्डमा नुहाएर यहीँको जल लगेर मन्दिरमा पूजा गर्ने चलन छ । यस कुण्डमा स्नान गरे पुण्य प्राप्त हुने जनविश्वास छ । कुण्डको पानी गर्मी मौसममा चिसो र जाडोमा तातो हुने गरेको स्थानीय बताउँछन् ।

निङालासैनीको दर्शन गर्न दैनिक मन्दिर जाने १५/२० जना भक्तजन कुण्डमा नुहाउन आउने गर्छन् । दुधकुण्डसम्म पुग्ने पदमार्ग नहुँदा भक्तजनले समस्या भोग्दै आएका स्थानीयको गुनासो छ । दुधकुण्डमुनि रहेको पोखरीबाट स्थानीय गाउँका खेतमा सिँचाइसमेत हुने भएकाले यहाँको पानीमा फालेको जैविक तरकारीको बजारसमेत राम्रो रहेको किसानको भनाइ छ ।

धार्मिक पर्यटकीय महìव बोकेको ऐतिहासिक निङालासैनीको दुधकुण्डको संरक्षण र प्रचारप्रसारमा तीन वटै तहका सरकारको ध्यान जानुपर्ने पर्यटन व्यवसायी मायाप्रकाश भट्टले बताउनुभयो ।