धनगढी समाचारदाता
धनगढी, भदौ २४ गते
बाराको तीन वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटना सेलाउन नपाउँदै कैलालीमा पनि तीन वर्षीय बालिका बलात्कृत भएको घटना बाहिरिएको छ । भजनी नगरपालिका–७, की बालिकामाथि यौन दुर्व्यवहार भएको घटना बाहिरिएको हो ।
बालिका बलात्कारको अभियोगमा प्रहरीले एक १८ वर्षका युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार आरोपित युवकलाई पक्राउ गरी मुद्दा चलाइएको छ । प्रवक्ता तिमिल्सिना भन्नुहुन्छ, “मुद्दा चलिरहेकाले अहिले नै सबै कुरा भन्न मिलेन । बलात्कारको आरोपमा युवकलाई तीन/चार दिनअगाडि नै पक्राउ गरी अनुसन्धान भइरहेको छ।”
घटना चार/पाँच दिन अगाडिकै भए पनि मिलाउने दबाबका कारण ढिलो गरी प्रहरीमा उजुरी पुगेको स्थानीयले बताएका छन् । उनीहरूका अनुसार अझै पनि राजनीतिक दलका नेता, गाउँका अगुवाले घटना मिलाउने प्रयास गरिरहेका छन् । खेल्ने क्रममा बालिकाको यौनाङ्गमा चोट लागेको भनेर प्रहरीसमक्ष बयान दिन बालिकाकी आमालाई दबाब दिइरहेको स्थानीयको जिकिर छ ।