ढकारी गाउँपालिका–८, घोडासैनका दुर्गा जैसी मकैबारीमा रात बिताउन लागेको एक महिना बित्यो तर दुःख गरी लगाएको मकै पाक्ने बेलामा बँदेलबाट बचाउन सक्नुभएको छैन।
“गडा (गह्रा) का धार (छेउ) मा पाल हालेर रातभर बस्न लाग्याका एक महिना भयो, त्यै पनि बँदेलले केही राखेन” जैसीले भन्नुभयो, “बारीमा मकै पाक्न थालेपछि बँदेलको बथान नै आउने थालेको छ।” घोडासैन अर्का किसान पुस्कर उपाध्यायले बारीकै छेउमा बसेर हुलमा आउने बँदेल धपाउन नसकेकोमा ठुलो चिन्ता छ। “दिउँसो बाँदर, राति बँदेल। लगाएको खेती त जङ्गली जनावारको आहारा बन्यो, हामी त त्यसै मर्ने भयौँ,” पुस्करले भन्नुभयो।
मकैबारी जोगाउन कृषक बारीमै रात कटाउन थालेका छन् तर पनि, जोगाउनै मुस्किल भएको गुनासो उहाँहरूको छ। निकै मेहनत गरेर लाएको खेतीमा जनावरले खान थालेपछि रातभर त्रिपालको बास हुन्छ। हुलका हुल बँदेल र बाँदर आउने भएपछि धपाउँदा धपाउँदैमा समय बित्ने गरेको छ। अन्न बालीनालीसँगै केही दिन यता चितुवाले बाख्रा, गोरुसमेत मार्न थालेको स्थानीय कृष्ण देवकोटाले जानकारी दिनुभयो।
खेतबारीको छेउतिर त्रिपाल र खाँबा हालेर अस्थायी खर्क बनाएर बसे पनि हुलमा आउने बँदेल र बाँदरबाट खेतीपाती बचाउन नसकेको कृषकको भनाइ छ। मङ्गलसेन नगरपालिका–७, जनालीरवामा पाक्नै लागेको धान बँदेलले सखाप पारेको वडाध्यक्ष राजबहादुर शाहीले बताउनुभयो।
सदरमुकाम मङ्गलसेन, ढकारी, रामारोशन, साँफेबगरलगायत क्षेत्रमा बँदेल र बाँदरले खेती नष्ट गर्न थालेको छ। पीडित कृषकहरूले राहत रकमभन्दा आफूहरूलाई खेतगरामा जाली वा काँडेतारको माग गरेका छन्।
कृषकले जङ्गली जनावरबाट आफ्नो खेती जोगाउन स्थायी उपायका लागि तीनै तहका सरकारसँग आग्रह गरेका छन्। बालीनाली जोगिने उपाय नभएमा आफूहरू अन्यत्रै बसाइ सरेर जानुपर्ने बाध्यता आइलागेको दुर्गा जैसीको भनाइ छ।
जङ्गली जनावरले पाक्नै लागेको खेती नष्ट गरेको गुनासोसहित डिभिजन वन कार्यालय अछाममा ११८ जनाको निवेदन परेको छ। यसरी खेतबारी जोगाउन गएकालाई जङ्गली जनावरले आक्रमण गरी घाइते बनाउने गरेको छ।
बँदेलको आक्रमणबाट एक जनाको मृत्यु र दुई जना घाइते भएको फरेस्टर झपटसिंह धामीले जानकारी दिनुभयो। जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएमा १० लाख, घाइतेको उपचारमा १० हजार राहत पाइने धामीको भनाइ छ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी