ई-घोडाघोडी खबर

५ चैत्र २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • गौरा पर्व मनाउन परदेशी घर फर्किंदै

    गौरा पर्व मनाउन परदेशी घर फर्किंदै
    Spread the love

    सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा धुमधामसँग मनाइने गौरा पर्वका लागि परदेश गएकाहरू घर फर्किन थालेका छन् । रोजगारीका लागि भारत पसेकाहरू झुलाघाट सीमा नाकाबाट घर फर्कन थालेका हुन् । यो वर्ष अगस्तोदयका कारण कतै भदौ ७ गते त कतै भदौ २१ गते गौरा मनाउने तयारी भइरहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भदौ ७ गते गौरा पर्व मनाउन उपयुक्त रहेको जनाएको छ ।

    गौराका लागि सीमानाका झुलाघाटबाट स्वदेश भित्रिनेको सङ्ख्या निकै बढेको सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ । दैनिक डेढ सयभन्दा बढी नेपाली झुलाघाट नाकाबाट स्वदेश फर्किरहेको झुलाघाट प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक जयसिंह भाटले बताउनुभयो ।

    गौरा पर्वलाई सुदूरपश्चिममा मुख्य पर्वका रूपमा मनाइन्छ । भाद्र शुक्ल वा कृष्ण पक्षमा मनाइने यो पर्वका लागि बसाइँसराइ गरेर गएकाहरू पनि थातथलोमा फर्कने गर्छन् । पहाडी समुदायमा गौराको समयमा देवीदेवताका मन्दिर तथा गौराखालो (मन्दिर परिसर) मा खेल हुने भएकाले पनि बसाइँसराइ गरेकाहरू पुख्र्यौली थलोमा फर्किन थालेका हुन् । गौरा पर्वलाई सामाजिक सद्भावको पर्वका रूपमा समेत लिने गरेको स्थानीय संस्कृतिका जानकार चन्द्रमोहन तिवारीले बताउनुभयो । गौराको समयमा गाउँका सबै मानिस एक ठाउँमा जम्मा भएर सुख दुःख साटासाट गर्न पाउँछन् । यसले गर्दा सामाजिक सद्भावमा बढ्ने गरेको उहाँले बताउनुभयो ।

    बिरुडा भारतबाट आयात 

    गौरपर्वमा अनिवार्य चाहिने बिरुडा (मास, गहत, गुरुँस, केराउलगायत पञ्च अन्न) भारतबाट आयात हुन थालेको उद्योग वाणिज्य सङ्घ बैतडीका कोषाध्यक्ष शेरसिंह भण्डारीले बताउनुभयो । बिरुडाका लागि आवश्यक पर्ने मास, गहत, गुरुँस, कलौँ (सानो केराउ) जस्ता दलहनका वस्तु उत्पादन घटेकाले भारतबाट आयात हुने गरेको उहाँले बताउनुभयो । बाँदरका कारणले पनि बैतडी सदरमुकाम आसपासका गाउँमा खेतीपाती हुन छाडेकाले पछिल्लो समय भारतबाट बिरुडाका लागि पञ्च अन्न आयात बढेको बताइएको छ ।

    भाद्र शुक्ल वा कृष्ण पक्षमध्ये जुन तिथिमा गौरा पर्व शुभ मानिए पनि पञ्चमीका दिन तामाको भाँडामा बिरुडा भिजाएर गौरा पर्व आरम्भ हुन्छ । विवाहित नारीले निराहार व्रत बसेर तामाको भाँडामा बिरुडा भिजाउने चलन रहेको छ । गौरा पर्वका दिन निराहार व्रत बसेका नारीले श्रीमान् र पुत्रको आयुको कामना गर्दै शिरको पूजा गर्ने चलन रहेको छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी