ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • नरहरि मनाइँदै: कागलाई सेल रोटी, मानिसलाई कन्दमूल

    नरहरि मनाइँदै: कागलाई सेल रोटी, मानिसलाई कन्दमूल
    Spread the love

    बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाका कागलाई सेल रोटी र मानिसले कन्दमूल खाएर मनाइने मौलिक पर्व नरहरि ( माघे सङ्क्रान्ति) पर्वको रौनक सुरु भएको छ ।

    नरहरिमा घर परिवारका सदस्यले तरुल, सखरखण्ड जस्ता कन्दमूल उसिनेर खाने परम्परा छ भने कागलाई सेल रोटी दिने परम्परा रहेको छ । नरहरिका दिन परम्परागत कोलमा उखु पेलेर गुड         (सखर) मा तिल मिसाएर ओखलमा कुटेर खाने चलनसमेत रहेको छ । गुड र तिलले शरीर न्यानो पार्ने भएकाले कन्दमूलसँगै यसको सेवन गर्ने चलन रहेको छ ।

    माघ १ गते बिहानै उठेर नदी, तलाउ र परम्परागत धारा-कुवाँमा स्नाथ गरेर बालबालिकाले कागलाई सेल रोटी दिने चलन रहेको छ । घरको धुरीमा सेल रोटी राखेर “का…कौवा का… का… मेरो सेल रोटी खा… ” भन्दै बालबालिकाले कागलाई बोलाउने चलन रहेको छ ।

    कागले सेल रोटी खाएर अघाएपछि रोटी लुकाउने गर्दछ । बैतडीमा कागले लुकाएको रोटी खोजेर गाईलाई दिने चलनसमेत रहेको छ । कागले लुकाएको रोटी गाईलाई खुवाएमा माले बाच्छो जन्मिन्छ भने जनविश्वास रहेको छ ।

    कागले शुभ-अशुभ सबै खालका समाचार ल्याउने भएकोले माघे सङ्क्रान्तिका दिन कागलाई सेल रोटी दिने चलन रहेको संस्कृत विद् चन्द्र मोहन तिवारीले बताउनुभयो । माघ महिनालाई माहात्म्य महिनाका रूपमा लिइने भएकाले यो महिनाभरि शुद्ध शाकाहारी भोजनमा कन्दमूल ग्रहण गर्ने, तीर्थाटन गर्ने र दान दिने चलन रहेको तिवारीले बताउनुभयो ।

    ज्योतिष शास्त्रअनुसार सौर मासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर सङ्क्रान्ति (माघे सङ्क्रान्ति) र सुदूर पहाडमा नरहरि पर्वका रूपमा मनाउने चलन रहेको उहाँले बताउनुभयो ।

    सूर्यको उदय विन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरु हुन्छ भन्ने मान्यता रहेको छ । उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा वृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने जन विश्वास रहेको छ ।

    माघ १ गते नरहरि पर्वको पवित्र दिन विवाह गर्ने चलनसमेत रहेको छ । माघ महिनामा पराई घर गएका छोरी चेलीलाई माइती घर बोलाएर वा छोरीकै घरमा गएर बटुक, माणा र तरुल दिने परम्परा रहेको    छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी