कैलालीको धनगढी उपमहानगरपालिका–१८, तुल्सीबारीमा रहेको गौशालामा छाडा चौपाया राख्न थालेको छ । अन्नबाली सखाप बनाइदिने छाडा गाईवस्तु गौशालाको संरक्षणमा राखिएपछि किसानलाई राहत मिलेको छ ।
उपमहानगरपालिकाको डेढ करोड रुपियाँ लागतमा गौशाला निर्माण गरेर सामुदायिक चौपाया राख्न थालेको हो । ४५० देखि पाँच सय वटा चौपाया व्यवस्थापन गरिएको छ । उपमहानगरपालिका–१८ का अध्यक्ष भुवन रिजालले बाली जोगाउनका लागि किसानले रातभर खेतमा सुत्नुपर्ने बाध्यता हटेको बताउनुभयो । छाडा चौपायाले गहुँ, मसुर, तरकारीलगायत बाली खाएर नोक्सान गर्दै आएका थिए । छाडा चौपायाबाट खेतबारीमा क्षति भएपछि किसान आन्दोलित भएका थिए । किसानको दबाबका कारण निर्माणाधीन गौशालामा आधा जति छाडा चौपाया व्यवस्थापन गरिएको वडा अध्यक्ष रिजालले उल्लेख गर्नुभयो ।
उहाँका अनुसार गौशालामा व्यवस्थापन गरिएका चौपायाको सङ्ख्या जत्तिकै छाडा चौपाया अझै पनि सडकबाहिर छन् । बाहिर रहेका चौपाया भारताल वन क्षेत्रमा बस्ने गरेको जनाइएको छ । सडकमा देखिने चौपायालाई गौशालाका गोठालाले धपाएर जङ्गल वा कृषि बाली नरहेको ठाउँमा पु¥याउने गरेका छन् । गौशालाको चौपाया हेर्न र बाहिर रहेका चौपाया धपाउनका लागि सात जना गोठाला राखिएको छ । सामुदायिक छाडा चौपायाबाट उपमहानगरपालिका–१४, १८ र १९ मा क्षति पुग्ने गरेको छ । कृषि बाली जोगाउने उद्देश्यका साथ उपमहानगरपालिकाले गौशाला निर्माण गरेको हो । गौशालामा छाडा चौपाया व्यवस्थापनको काम सुरु भएको उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताउनुभयो । उहाँले छाडा चौपाया व्यवस्थापनमा आवश्यक सहयोग गर्न सम्बन्धित वडावासीलाई आग्रह गर्नुभएको छ ।
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : कालु राम चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
सुचना तथा संचार मन्त्रालय,
दर्ता नं. : 071/72/770,
पान नं.: 602780247