कञ्चनपुर समाचारदाता
महेन्द्रनगर, असार २७ गते । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले महाकाली प्रादेशिक अस्पतालका लागि सिटी स्क्यान मेसिन किन्न बजेट थप गरिने बताउनुभएको छ।
कञ्चनपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्दै उहाँले मङ्गलबार सो कुरा बताउनुभएको हो।
“अस्पताललाई बजेट केही कम परेको रहेछ, त्यसमा म थप गर्ने छु,” उहाँले भन्नुभयो, “पछिल्लो समय खोपमा हामीले धेरै प्रगति गर्दै गएका छौँ। बालबालिका कुनै पनि खोपबाट वञ्चित नहुन् भनेर बेला बेला विभिन्न कार्यक्रम पनि गरिराखेका छौँ।”
उहाँले बाल मृत्युदर घट्नेमा आफू आशावादी रहेको बताउनुभयो। ‘पूर्ण खोप सुरक्षित भविष्य’ मूल नाराका साथ कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो।
यस जिल्लाका नौवटै स्थानीय तहमा लक्षित उमेर समूहका व्यक्तिलाई १३ वटा प्राणघातक रोगविरुद्ध खोप लगाई पालिकाहरूलाई पूर्ण खोप सुनिश्चित गरिसकेपछि जिल्लालाई पनि पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले बताउनुभयो।
पूर्ण खोप सुनिश्चित कार्यक्रमलाई सफल पार्न तोकिएको कार्यक्षेत्रमा खटिएका महिला स्वयंसेविका, अनमी तथा अहेवलाई नगदसहित प्रमाणपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी