ई-घोडाघोडी खबर

२६ कार्तिक २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • दार्चुलाको व्यासमा पनि देखिन थाले डेङ्गी सार्ने लामखुट्टे

    दार्चुलाको व्यासमा पनि देखिन थाले डेङ्गी सार्ने लामखुट्टे
    Spread the love

    तराईका जिल्लामा बढी हुने डेङ्गी सङ्क्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ। तराईबाट लामखुट्टे पहाड उक्लिएकाले ती क्षेत्रमा पनि जोखिम बढ्दै गएको छ।

    सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले भने, ’दार्चुलाको व्यासमा पनि डेङ्गी सार्ने लामखुट्टे फेला परेको छ। दार्चुलामा प्रदेशकै बढी सङ्क्रमित पनि भेटिएका छन्।’ पहाडमा पनि डेङ्गी सङ्क्रमण बढ्दै गएको र सङ्क्रमितलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। उनले भने ’यहाँ पनि डेङ्गी सङ्क्रमण बढेको छ। सबैले सचेत रहन आवश्यक छ।’

    डेङ्गी भएमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिडौलाको मासु दुख्ने आदि डेङ्गीका लक्षण देखापर्ने गर्दछन्। यसका साथै गम्भीर प्रकृतिको डेङ्गी सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार वान्ता हुने, श्वास फेर्न गाह्रो हुने, पेट–खुट्टा सुन्निनेजस्ता लक्षण देखापर्ने निर्देशनालयले जनाएको छ।

    डेङ्गी जोखिम कम गर्न निर्देशनालयले प्राविधिक सहजीकरण, किट आपूर्ति र बिरामी व्यवस्थापनमा सहयोग गर्ने गरेको छ। पालिकाहरूले यो रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेका जोशीले बताए। वर्षातमा दैनिक डेङ्गीका बिरामी बढ्दै गएपछि प्रदेशभरि डेङ्गी सङ्क्रमण फैलाउने लामखुट्टे नष्ट गर्ने र सरसफाइ अभियानका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ।

    यसैबीच सुदूरपश्चिम प्रदेशमा डेङ्गी सङ्क्रमण ह्वात्तै बढेको छ। सन् २०२३ को पछिल्लो चार महिनाको तथ्याङ्क हेर्दा यहाँ डेङ्गी सङ्क्रमण ह्वात्तै बढेको देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो। निर्देशनालयका अनुसार मे महिनामा २२, जुनमा २६ जनामा सङ्क्रमण देखिएकामा जुलाइमा त्यो सङ्ख्या बढेर ५८ पुगेको छ।

    यस्तै अगस्ट महिनामा भने डेङ्गी सङ्क्रमण ह्वात्तै बढेको पाइएको छ। अगस्टको अहिलेसम्म दुई सय १३ जनामा सङ्क्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका सम्पर्क व्यक्ति जोशीले जानकारी दिए। सुदूरपश्चिममा सन् २०२३ को अहिलेसम्म पाँच सय ४० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ।

    उनले भने, ’अरु महिनाभन्दा यो अगस्ट महिनामा डेङ्गी सङ्क्रमितको सङ्ख्या अधिक बढेको पाइएको छ। गर्मी र वर्षातको समय रहेकाले यो सङ्ख्या बढेको हो।’ यसअघि सन् २०२३ कै जनवरीमा १५, फेब्रुअरीमा ५२, मार्चमा एक सय २९, अप्रिलमा २५ जनामा सङ्क्रमण देखापरेको थियो।

    प्रदेशको तथ्याङ्कअनुसार सबैभन्दा बढी  पहाडी जिल्ला दार्चुलामा एक सय ९४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ। कैलालीमा एक सय २५, कञ्चनपुरमा ९५, अछाममा ५२, बाजुरामा ३२, डोटीमा १५, बझाङमा १२, डडेल्धुरामा नौ र बैतडीमा छ जनामा सङ्क्रमण देखिएको छ।

    सङ्क्रमणका कारण यस वर्ष कसैको ज्यान भने गएको छैन। गएको वर्ष यस प्रदेशमा एक हजार दुई सय ८९ जनामा सङ्क्रमण देखिएकामा चार जनाको ज्यान गएको थियो। गर्मी र वर्षातको समय भएकाले डेङ्गीका  बिरामीको सङ्ख्या बढ्न थालेको जोशीले बताए। उनले भने, ’डेङ्गीको जोखिम कात्तिकसम्ममै रहन्छ। वर्षातको समयमा लामखुट्टे उत्पादन बढी हुने र यसको टोकाइबाट सङ्क्रमण पनि हुन जान्छ।’

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी