ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • पाँच सय हेक्टर वन क्षेत्र अतिक्रमण

    पाँच सय हेक्टर वन क्षेत्र अतिक्रमण
    Spread the love

     बैतडीका स्थानीय तहले पर्यावरणीय अध्ययन नगरेर जथाभाबी सडक निर्माण गर्दा ५७७ हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ । सडकले ४६६ हेक्टर वन सखाप पारेको छ भने सडक किनारमा घरटहरा ११० हेक्टर गरी ५७७ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ ।

    अतिक्रमण भएका ठाउँमध्ये मेलौली नगरपालिकामा २७ वटा घरटहरा हटाएर ३० हेक्टर वन क्षेत्र खाली गरिएको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताउनुभयो । पुरचौडी नगरपालिकाको गिरिजाबगर र सिगास गाउँपालिका–१, जुकेपानी र गर्जेमा वन क्षेत्र अतिक्रमण हटाउने प्रयास भइरहेको छ ।

    स्थानीय तहले जथाभाबी सडक खन्दा वन क्षेत्र मासिन थालेपछि पुरचौडी नगरपालिका–६, ढोल्यामोड नजिकको लौठ सल्ला रहेको चार हेक्टर वन क्षेत्रमा तारबार गरिएको उहाँले बताउनुभयो । लौठ सल्ला रहेको वसन्त हरियाली वन क्षेत्रको तीन ठाउँमा वन अतिक्रमण भएको सो कार्यालयले जनाएको छ ।

    त्यस्तै ग्वाल्लेक र सिगास संरक्षित वनमा सबैभन्दा बढी लौठ सल्ला रहेका छन् । पुरचौडी नगरपालिका र सुर्नया गाउँपालिकाको सिमानामा रहेको वसन्त हरियाली वन क्षेत्रमा तारबार लगाइएका छ ।

    लौठ सल्लाको पात र बोक्राबाट क्यान्सर रोग निको पार्ने बहुमूल्य औषधी उत्पादनमा प्रयोग हुने गरेको छ । लौठ सल्लाको पात, बोक्रा र जरा प्रशोधन गरी क्यान्सर रोग निको पार्ने ‘ट्याक्सोल’ नामको रासायनिक तत्व निकालिने गरेको विज्ञहरू बताउँछन् ।

    यो रसायन पाठेघर, फोक्सो, स्तन, टाउको, प्रोस्टेट, छाला र अन्ननलीको क्यान्सर निको पार्न प्रयोगमा रहेको निकै महँगो औषधी रहेको बताइएको छ । लौठ सल्ला जोगाउन वनस्पति अनुसन्धान केन्द्र कैलाली र डिभिजन वन कार्यालय बैतडीले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको डिभिजन वन प्रमुख कँडेलले बताउनुभयो ।

    संरक्षित वनमा सडक र संरचना

    डिभिजन वन कार्यालय बैतडीले जिपिएस माध्यमबाट अतिक्रमित वन क्षेत्रको तथ्याङ्क लिएको छ । सो तथ्याङ्क अनुसार दशरथचन्द नगरपालिका–९, ग्वाल्लेक संरक्षित वनको गिवाखोला वन र सिगास संरक्षित वनको गर्जेमा वन अतिक्रमण भएको छ ।

    सिगास संरक्षित वनको गर्जेमा २० स्थानमा वन अतिक्रमण भएको हो । संरक्षित वनबाहेक दशरथचन्द नगरपालिका–१, मुस्याचोर बजार क्षेत्रमा वन अतिक्रमण गरी सात वटा घर बनेका छन् । त्यस्तै सुर्नया गाउँपालिका–८, ढोल्यामोड र पुरचौडी नगरपालिका–६, स्थित लौठ सल्लाको वन अतिक्रमण गरी ११ वटा घरटहरा बनाइएका छन् । पुरचौडी नगरपालिका–७, रुइनचौड र बडगाउँमा वन अतिक्रमण गरी १८ वटा घरटहरा बनेका छन् ।

    पुरचौडी नगरपालिका–७ कै गिरिजा बगरमा वन क्षेत्र अतिक्रमण गरी बसपार्क निर्माण गरिएको छ । सिगास गाउँपालिका–१, विन्द्रावन र जुकेपानीमा सामुदायिक वन अतिक्रमण गरी घरटहरा निर्माण भएको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी