ई-घोडाघोडी खबर

५ चैत्र २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • ‘सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली नै चलाउनु मानव अधिकारको चरम उल्लंघन’

    ‘सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली नै चलाउनु मानव अधिकारको चरम उल्लंघन’
    Spread the love

    झापा — कोशी प्रदेश नामाकरणको विरोधमा पूर्वमा जारी पहिचानवादी आन्दोलनमा सुरक्षाकर्मीले आन्दोलनकारीमाथि गोली नै चलाउनु मानव अधिकारको चरम उल्लंघन भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ठहर गरेको छ । 

    इन्सेक झापाले बिहीबार बिर्तामोडमा आयोजना गरेको अर्ध वार्षिक समीक्षा गोष्ठीका क्रममा कोशी नामाकरणको विरोधमा जारी आन्दोलनमा सुरक्षाकर्मीको गोली लागेर एक जना आन्दोलनकारी लाजेहाङ लिम्बूको मृत्यु भइसकेको र केही आन्दोलनकारी घाइते भएको भन्दै सभा, सम्मेलन र विरोध गर्न पाउने नागरिक अधिकारप्रति राज्य पक्षबाट चरम उल्लंघन भएको जनाइएको हो ।

    ‘राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक लगायतका अधिकार सम्बन्धी महासन्धि र सभा, सम्मेलन, विरोध गर्न पाउने नागरिक अधिकारलाई कुण्ठित गर्ने कार्यले मानव अधिकारको चरम उल्लंघन हुन जान्छ’, इन्सेक झापाका प्रतिनिधि नरेश खातीले भने, ‘आन्दोलनकारी माथि गोली प्रहारजस्ता घटनाले पक्ष राष्ट्रका रुपमा राज्यले गरेका सन्धि सम्झौताको ठाडो उल्लंघन हुन जान्छ ।’

    सन् २०२३ को जनवरी १ देखि जुन १५ सम्म झापामा विभिन्न किसिमका मानव अधिकार उल्लंघनका घटना बढेर गएको इन्सेकले उल्लेख गरेको छ । यो अवधिमा झापामा जनप्रतिनिधि माथि सार्वजनिक स्थानमा भएको कुटपिट घटना र ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई सादा पोसाकका माथिल्लो दर्जाका प्रहरीद्वारा सार्वजनिक स्थानमा निर्घात कुटपिट हुनुले कानुनी राज्यकै उपहास भएको जनाइएको छ । ‘नागरिकलाई सुरक्षा दिने राज्यबाटै भएका यस किसिमका घटनाले नागरिकले सुरक्षा हैन कि भय महसुस गर्न थालेको देखिन्छ’, खातीले भने ।

    महिला र बालबालिकामाथि यौनजन्य दुर्व्यवहार, बलात्कार, बलात्कार प्रयास, मानव बेचबिखन, घरेलु हिंसा, हत्या, हत्या प्रयास र बहुविवाह जस्ता घटनाहरु यो वर्ष पनि विगतमाझैं बढेर गएको जनाइएको छ । ३१ जना महिला तथा बालबालिकामाथि बलात्कार भएको, ९ जनामाथि बलात्कार प्रयास भएको र १० जनालाई यौन दुर्व्यवहार गरिएको जनाइएको छ । महिला तथा बालबालिकाहरु नातेदार र छिमेकीहरुबाट बढी असुरक्षित रहेको पाइएको छ ।

    वैदेशिक रोजगारीको बहानामा बेचिने तथा बालबालिकामाथि बन्धक बनाएर यौन कार्यमा संलग्न गरिने गरिएको पनि इन्सेकले प्रतिवेदनमा उल्लेख गरेको छ । पाँच महिनामा ६८ वटा घटनामा ६९ जना पीडित भएका छन् ।

    गोष्ठीमा अधिकारकर्मीहरु संगीता रौनियार, रुपक खनाल, पाण्डवलाल चौधरी, सेसेहाङ फ्याक, सुरेश बराइलीलगायतका जिज्ञासामाथि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र प्रहरी प्रमुख दुर्गाराज रेग्मीले अपराधजन्य घटनाको न्यूनीकरण र मानव अधिकारको रक्षाका लागि सुरक्षा संयन्त्र कटिबद्ध गरेको जनाएका थिए ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी