ई-घोडाघोडी खबर

१४ जेष्ठ २०८१

  • पहिलो पटक काठमाण्डौंको यात्रा ः वैशाख १२ को भूकम्प–लाग्यो अब कहिल्यै काठमाण्डौं जान नपरोस् ।

    पहिलो पटक काठमाण्डौंको यात्रा ः वैशाख १२ को भूकम्प–लाग्यो अब कहिल्यै काठमाण्डौं जान नपरोस् ।

    Share

    ईन्द्रा केसी

    कैलाली ।

    भनिन्छ नि काठमाण्डौ शहर, हेर्दा लाग्छ रहर ।

    साच्चै भन्नुपर्दा काठमाण्डौ नपुगेकाहरुलाई माथिको भनाई मेल खान्छ । राजधानिका रुपमा रहेको काठमाण्डौ शहर पुग्ने हरेकको रहर हुन्छ । कस्तो होला काठमाण्डांै यो काठमाण्डौं नपुगेकाहरुको मनमा आउने प्रश्न हो ।
    त्यो धरहरा कस्तो होला, त्या माथि गएर हेर्दा कस्तो देखिन्छ होला, कति रमाईलो होला, राजा बसेको ठाँउ कस्तो होला, किताबमा पढेको पनि हो, फोटोमा त कस्तो राम्रो देखिन्छ साच्चै नजिक बाट देख्दा कस्तो होला यस्ता अनेकन प्रश्नहरु मेरो मनमा पनि थिए । काठमाण्डौ कहिलै नपुगेकालाई यस्ता प्रश्नहरु आउनु स्वभाविक पनि हो । मेरो मनमा पनि यस्ता थुप्रै प्रश्नहरु थिए ।
    यस अन्तर्गत २०७२ बैशाखमा पहिलो पटक काठमाण्डौ जाने अवसर प्राप्त भयो । डब्लु डब्लु जे ले महिला पत्रकारहरुका लागि आयोजना गरेको तालिममा सहभागि हुने अवसर प्राप्त भयो । कैलाली जिल्लाबाट सो तालिममा सहभागी हुन पाउदा खुशी त थिए नै काठमाण्डौ जान पाउदाको खुशी झनै बेग्लै थियो । मनमा अनेकौ प्रश्न र कौतुहलता संगाल्दै काठमाण्डौंको यात्राका लागी बैशाख ४ गते काठमाण्डौं जाने बस चढें । त्रिशुली नदिको नाम सुन्दै डर लाग्थ्यो नदि किनार हुदै जाँदा मनमा लाग्यो डराउनुपर्ने जस्तो त छैन रहेछ । बसमा चढ्दाको पट्यार लाग्दो समयलाई छिचोल्दै २८ घण्टाको बस यात्रा पछि म पहिलो पटक काठमाण्डांै पुगे ।
    सबै काठमाण्डौं घुम्छु, धरहरा चढ्छु, किताबमा देखेका पढेका सबै ठाँउ जान्छु भन्ने कुराहरु संगाल्दै खुशी हुदै काठमाण्डौको गोगंबु बसपार्क पुगे । बसपार्क पुग्ने बितिकै याद आयो किताबमा त्यो पढेको थियो र पुग्न पाए । दाजु लिन आउनु भएको थियो उहाँ संगै चाबहिल गए त्यो दिन त्यहि बसे । तालिम बबरमहर स्थित साफ फाल्चामा थियो । अर्को दिन देखि नियमित दाजुले बबरमहल पुर्याउन जाने र बेलुकी लिन जाने गर्नुभयो । अन्य जिल्लाका साथिहरु भने आयोजकले भनेको ठाउमा बसेका थिए म भने एक्लै पहिलो पटक अप्ठ्यारो लागेर दाजु संगै बस्ने गर्दर्थे । तालिम सकिने अन्तिम दिन थियो बैशाख १२ गते त्यो दिन दाजुलाई पुर्याउन जान नि पर्दैन लिन पनि नआउनु अब त ७ दिन हुन लाग्यो म आफै आउछु भन्दै बस चढें र तालिममा सहभागि हुन पुगे । तालिम सकेर प्रमाण पत्र वितरण गरिसकेपछि खाना खाएर धरहरा घुम्न जाने अनि भक्तपुर घुम्न जाने योजना रहेको आयोजक कमिटिका एक जना म्यामले भन्नुभयो । त्यस पछि त के थियो र मनले चाहेको ठाँउ धरहरा घुम्न पाईन्छ भन्दै मख्ख पर्दै छिटो छिटो तालिम सकिए हुन्थ्यो भन्ने लाग्न थाल्यो । सबै सकिएर अन्तिममा प्रमाण पत्र वितरण हुदै थियो ।

    साफ फाल्चाको ४ तला माथि हलमा हामी बसिरहेका थियौ । एक्कासी हल्लायो म त अक्क न बक्क भए के भएको हो थाहा नै पाईन सर म्यामहरु भन्न थाल्नुभयो भूकम्प आयो सबैजना टेबलको तल बस्नुहोस् । त्यसपछी सबै साथिहरु रुन थाल्नु भयो ।
    एकै छिन हल्लाएको थियो । केहि भयो होला भन्ने नै लागेन भूकम्प सकिने बितिकै सबै जना तल होटेलको खुल्ला ठाँउमा गयौं । एकछिनमा एकजना म्याम आउनुभयो अनि भन्नुभयो धरहरा त ढल्यो नि म अचम्म परे एकै छिन त हल्लाको थियो फेरी एक्कासि सम्झिए भाग्यमा बाच्न लेखेको रहेछ ।
    म संग तालिममा सहभागी भएका साथिहरु कोही दोलखा, बेनी, नवलपरासी लगायतका ठाँउका थिए । सबै जना रुन लागेका थिए । कोहि साथिको त भूकम्पले घरमा क्षति पनि गरेको थियो । एकै छिनमा सबैतिर क्षति भएको खबर आउन थाल्यो । प्लेनहरु आकाशमा उडेको उडै हुन थाले । त्यो भुकम्प पछि बेला बेला पराकम्पन्न आईरहेको थियो ।
    सबै जना आ आफ्नो घरमा फोन गर्न थाले मेरो मनमा त्यति बेला सम्म पनि लागेको थिएन कि यति धैरै क्षति भयो भन्ने, सपना जस्तै लागिरहेको थियो । मलाई झल्यास्स दाजुको याद आयो कैलालीका त क्षति भएन तर दाजुलाई के भयो भन्ने चिन्ता हुन थाल्यो । फोन नलाग्ने भईसकेको थियो । कपनमा रहेको सात तलाको घर पनि भत्कियो अरे भन्ने कुरा आयो मलाई झन डर लाग्न थाल्यो किनकी त्यसको छेउमै हामी बसेका थियौं ।
    केही समय पछि सबै जनाले खाना खायौ । साथिहरु सोही होटेलमा बसेका थिए म भने चाबाहिल पुग्नुपर्ने थियो । संगै भएका साथिले धरहरा हेर्न जाउन त भन्ने प्रस्ताव राखे । मनमा सोचे राम्रो हुँदा हेर्न पाईएन हेरिहालौ न भन्दै केही साथीहरु धरहरा तर्फ लाग्यौ । धरहरा वर पर प्रहरीले जान दिएका थिएनन् धेरै क्षति भएको थियो । एकै छिनमा हामी बबरमहल फर्कियौ । साथिहरु होटलमा गए तर म चाबाहिल तर्फ जान थाले । गाडिहरु आएका थिएनन् आएका गाडिहरु रोकिरहेका थिएनन् । डर लाग्यो बाटो पनि थाहा भएन रुदै हिड्दै एक्लै नयाँ बानेश्वर सम्म पुगे । साँझ पर्न थालिसकेको थियो आशु झरिरहेका थिए बाटोको वरपर कतै बिजुलीको पोलले कार च्यापिएको थियो भने कतै घर ढलेका थिए । म कहाँ गईरहेको छु र कहाँ जाने हो भन्ने सम्म पनि थाहा थिएन । बानेश्वर पुगिसकेपछि एउटा गाडी भेटियो र त्यसमै चढे तर कहा निर झर्ने हो थाहा थिएन रात परिसकेको थियो ।
    सोहि गाडीमा २ जना अत्तरियाको केटाहरु थिए म आत्तेको देखेर होला कहाँ जाने हो भनेर सोधे । मैले पनि कुनै अप्ठ्यारो नमानेर सात तला भवन नजिक जाने हो भने । उनीहरुले हामी पनि कपन जाने हो हामी पुर्यादिन्छौ भने त्यसपछी यति खुशी लाग्यो सोचें भगवान नै पाएछु । बस बाट ओर्लिसकेपछी बाटो केहि सुनसान पनि थियो तर मनमा कत्ति पनि ती केटारुले केहि गर्छन कि भन्ने डर नै थिएन थियो त केवल भरोसा । सहज रुपमा नै उनीहरुले म बस्ने ठाँउ सम्म पुर्याइदिए उनीहरुको मैले नाम पनि सोधिन न त सम्पर्क नम्बर नै लिए त्यो अहिले सम्म पनि पछुतो छ मलाई त्यसरी सहयोग गरेका को होलान् ।
    त्यसपछिका पराकम्पन्नले पनि निकै दुःख दियो । बाहिर बस्थ्यौं खान नपाएर समस्या भयो । पैसा पनि थिएन निकै कष्टपुर्ण बित्यो । किन आए काठमाण्डांै भन्ने पछुत लाग्यो घर पुग्ने हुटहुटि थियो तर गाडीहरु पाउने सम्भावना थिएन । एक छिन सुत्थ्यांै फेरि हल्लाउथ्यो जुरुक्क उठेर बस्थ्यौं जसो तसो बसिरहेका थियौं फेरी बैशाख २९ को ठूलो पराकम्पन्नले सातो खायो लाग्यो अव बाचिदैन । मनमा लाग्थ्यो घर पुग्न पाएको भए बाच्थे होला घर परिवार, साथिहरु संग भेट्न नपाई मरिने भयो ।

    बल्ल बल्ल घर फर्कने गाडी पायांै लाष्टको सिटमा ९ जना बसेर भएपनि घर पुगे । कस्तो दुब्लाएको चिनिनै नसकिने जस्तो सबैले भने । जब घरमा पुगे लाग्यो स्वर्गमा फर्किए म बाचे, मेरो सबै संग भेट भयो । मनमा यो पनि लाग्यो कि काठमाण्डौ अब कहिल्यै जान नपरोस ।

     

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री