ई-घोडाघोडी खबर

३० भाद्र २०८१, आईतवार

  • Mohrain Tours and Travels
  • गेटा मेडिकल विश्वविद्यालयमा सय बेडको सेवा सुरु हुँदै

    गेटा मेडिकल विश्वविद्यालयमा सय बेडको सेवा सुरु हुँदै
    Spread the love

    भावना जोशी

    अत्तरिया, असोज ३० गते । गेटा मेडिकल विश्वविद्यालयमा भोलिदेखि एकसय बेडको अस्पताल सञ्चालनमा आउनेभएको छ । एकसय बेड क्षमताको अस्पताल सञ्चालनका लागि सबै तयारी पूरा भइसकेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रमोद जोशीले बताउनुभयो ।

    अस्पताल सञ्चालनका लागि आवश्यक तयारी भइसकेको र बुधबार विहान १० बजेबाट अस्पतालले ओपीडी सेवा सुरु गर्नेभएको हो । यसका लागि आवश्यक बजेट, कर्मचारी व्यवस्थापन, स्वास्थ्य उपकरण औषधिलगायतको प्रबन्ध भइसकेको उहाँले बताउनुभयो ।

    अस्पताल सञ्चालनका लागि सहायकस्तर र श्रेणीविहिन गरेर एक सय १० जना र नेपाल सरकार मन्त्रीपरिषदको २०८० असोज १६ गतेको निर्णयअनुसार राजपत्राङ्कित तथा अधिकृतस्तर ३१ जनाको अस्थायी दरबन्दी संरचना स्वीकृत भएपछि अस्पताल सञ्चालनमा ल्याउन  सहज भएको जोशीले बताउनुभयो ।

    आर्थिक वर्ष २०८०–८१ को बजेटमा गेटा अस्पताललाई एकसय बेड क्षमताको अस्पतालको रुपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि पुँजिगततर्फ ८० करोड र चालुतर्फ ३ करोड ५० लाख बजेट बिनियोजन गरिएको मेसु जोशीले बताउनुभयो ।

    साथै २०८० भदौ १३ गतेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरको निर्णयअनुसार वार्षिक विकास कार्यक्रम स्वीकृति भइ प्राप्त भएको एवम् चालु आर्थिक वर्षको बजेट कार्यान्वयनसम्वन्धि मार्गदर्शन गेटा अस्पताललाई प्राप्त भएपछि बुधवारदेखि अस्पताल सञ्चालन आउन लागेको हो ।

    ओपीडी सेवा सञ्चालनका लागि मन्त्रालयले भदौ २१ गते अनुमति दिएको थियो  । अस्पताल सेती प्रादेशिक अस्पताल सरह सेवा शुल्क लिनेगरी अस्पताल सञ्चालन हुन लागेको छ  । अस्पताल सञ्चालनमा ल्याउन मेसुसहित चिकित्सक तथा स्वास्थ्यकर्मीलगायत २६ जना कर्मचारी हाजिर भइसकेका जोशीले बताउनुभयो । अस्पतालले थप सेवा कात्तिक १ गतेदेखि सञ्चालन गर्ने जनाएको छ ।  जनरल ओपीडी, हाडजोर्नी तथा नसारोग ओपीडी, स्त्रीसेवा, जनरल सर्जरी, अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला सेवा र फार्मेसी सेवा सञ्चालनमा आउने जनाइएको छ ।

    यस्तै एमसीएच क्लिनिक सेवा कात्तिक महिनाभित्र, खोपसेवा विस्तार र अन्तरङ सेवा मंसिर महिनाभित्र, इमरजेन्सी सेवा र प्रसुती सेवा पुस महिनाभित्र, शल्यक्रिया सेवा विस्तार चैत महिनाभित्र, आइसियू तथा एनआइसियू सेवा आगामी बैशाखभित्र सञ्चालनमा ल्याउने तयारी अस्पतालले गरेको जनाएको छ ।

    धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल, प्रमुख जिल्ला अधिकारी, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकायका प्रमुख, गोदावरी नगरपालिकाका प्रमुख, वडाअध्यक्षलगायत सरोकारवाला निकायले  मंगलबार अस्पतालको अवलोकन र निरीक्षण गर्नुभएको छ ।

    सेती प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि उपचार पाउनबाट वञ्चित बिरामीले अब गेटा अस्पतालबाटै सहज रुपमा उपचार सेवा पाउने भएका छन् । गेटा अस्पतालमा क्रमिकरुपमा बेड संख्यासँगै जनशक्ति र औषधि लगायतको प्रबन्ध गर्नेगरी काम अघि बढाइएको मेसु जोशीले जानकारी दिनुभयो ।

    ई-घोडाघोडी खबर
    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247