ई-घोडाघोडी खबर

१४ जेष्ठ २०८१

  • नेपाली जात व्यवस्था बिरुध्द आन्दोलनले नचिनेका आदर्श पुरुषः संत रविदास (रैदास)

    नेपाली जात व्यवस्था बिरुध्द आन्दोलनले नचिनेका आदर्श पुरुषः संत रविदास (रैदास)

    Share

    स्वामी जीवन प्रेम
          १२,फागुन
    १५ औं शताव्दीका बुद्ध पुरुष, एक महान संत, समाज सुधारक एवं कवि संत रविदासको जन्मजयन्ती अर्थात रविदास जयन्ती उत्तर भारतका विभिन्न स्थानमा आज मनाईदै छ । हरेक वर्ष माघ शुक्ल पूर्णीमाका दिन पर्ने रविदास जयन्तीका बारेमा नेपालमा भने अत्तोपत्तो छैन । संत रविदासको जन्म भारतको वाराणसीमा भएको थियो । उनी भारतका अर्का महान संत कबीरदासका समकालीन थिए ।
    सद्गुरु ओशोले सन् १९७९ अक्टोबरमा दिनु भएको प्रवचन श्रृखला “मन ही पुजा मन ही धुप” मा संत रविदासको महिमा र वहाको शिक्षा उपर १० वटा प्रवचनहरुमा विस्तारले वर्णन गर्नुभएको छ ।
    काशीका ब्राह्मणहरु जसले भगवान गौतम बुद्ध र महाबिरलाई समेत स्वीकार गर्न सकेनन् त्यही संत रविदास जो शुद्रको घरमा जन्मेका थिए उनको परम ज्ञानको ज्योतीलाई अस्वीकार गर्न सकेनन् । श्री भक्तमालमा हिन्दुहरुले संत रविदासलाई परम भक्तको उपाधी दिएका छन् भने सद्गुरु ओशोले वहाँलाई भारतीय संत आकाशका ध्रुबताराको संज्ञा दिनु भएको छ ।
    संत रविदास स्वामी रामानन्दचार्यका शिष्य, संत कबीरका गुरुभाई र कृष्णप्रिया मीराबाईका गुरु थिए । मीराबाईले आफ्ना गुरु रविदासका बारेमा यसरी व्यक्त गरेकी छिन् “गुरु मिलीया रविदास जी दीनी ज्ञान की गुटकी । चोट लगी निजनाम हरी की महारे हिवरे खटकी ।।” त्यस्तै सिख धर्मको पवित्र धर्मग्रन्थ गुरुग्रंथ साहिबमा संत रविदासका ४० भजनहरु समावेश छन् ।
    जात व्यस्थामाथी प्रहार
    २१ औं शताव्दिमा समेत हिन्दुहरुको वर्ण व्यवस्था कायमै रही जातका आधारमा विभेद विद्यमान रहेको तथा सो को विरुद्ध आन्दोलन गरिरहन परेको अवस्थामा १५ औं शताव्दीको अवस्था हामी सहजै अनुमान लगाउन सक्छौं ।
    त्यसबेला शुद्रहरुलाई उच्च जातीलाई छुन र मन्दिरमा प्रवेश गर्न बन्चित गर्ने मात्र नभई उनीहरुमाथी अत्यन्त अमानवीय र क्रुर व्यवहार गरिन्थ्यो । संत रविदास शुद्रमा पनि अत्यन्त निम्न वर्ग अर्थात जहाँ अरु जातका शुद्रहरुले समेत विहाबारी, पानी नचलाउने, छालाको काम गर्ने चमार (नेपालको सन्दर्भमा पहाडमा शार्की र तराईमा चमार) जातमा जन्मेका थिए ।
    त्यस्तो कालखण्डमा संत रविदासले सबै मानिसहरु एउटै ईश्वरले निर्माण गरेकाले मानव मानव विच कुनै पनि प्रकारको भेदभाव नगर्न र सबैलाई समान र प्रेमपूर्ण व्यवहार गर्न शिक्षा दिएका थिए । मानीस उच नीच जातका आधारमा नभई उसको चिन्तन, बोली र व्यवहारका आधारमा हुने सन्देश दिएका थिए ।
    एक पदमा वहाँ भन्नुहुन्छ, “रविदास जन्म के कारनै, होत न कोउ नीच । नर कूँ नीच करि डारि है, ओछे करम की कीच ।।” अर्थात कुनै जात विशेषमा जन्मका कारणले कोही नीच हुदैन, तुच्छ कर्म गर्नाले मानीसलाई नीच बनाई दिन्छ ।
    यस पदमा रहस्यद्रष्टा संत रविदासले मानीसलाई कति महिमा दिनु भएको छ भन्ने पनि देखिन्छ । मानीस जन्मका आधारमा त नीच हुनै सक्दैन त्यसमा पनि कर्मका आधारमा पनि स्थायी रुपले सधैं नीच नै भै रहदैन । तुच्छ कर्मले मानीसलाई हिन र नीचतामा धकेल्ने र प्रेमपूर्ण उच्च कर्मले मानीसलाई ईश्वरिय बनाईदिने कुरा इंगित गरेका छन् । भगवान गौतम बुध्दको कर्मफलको सिध्दान्त र श्रीकृष्ण भगवानले भागवद् गीतामा अर्जुनलाई दिनुभएको कर्मयोगको सारसंक्षेप एउटै दोहामा व्यक्त गरेका छन् संत रविदासले ।
    अर्को पदमा वहाँ भन्नुहुन्छ “जाति जाति में जाति हैं, जो केतन के पात । रैदाष मनुष ना जुड सके जव तक जाति न जात ।।” अर्थात जसरी केराको बोटलाई काटेर हैर्दा पत्रै पत्र भेटिन्छन् त्यसैगरी मानीसहरु पनि जात भित्र पनि उपजातका पत्र पत्रमा विभाजित छन्, जबसम्म यी जातहरु अन्त्य हुँदैनन् तबसम्म मानिसहरु एकआपसमा जोडिन सक्दैनन् र समानता हुदैन ।
    जातिय विभेदभन्दा अझ माथी रहेको साम्प्रदायीक विभेद र त्यसको अन्त्यका लागि वहाँ भन्नुहुन्छ, “कृस्न, करीम, राम, हरि, राघव, जव लग एक न पेखा । वेद, कतेव, कुरान, पुरानन, सहज एक नहिं देखा ।।” अर्थात ईश्वर एक छन्, कृष्ण, राम, हरि, करिम (ईश्लाममा ईश्वर/अल्लाहका लागि दिईएका ९९ वटा नाम मध्येको एक नाम) अलग–अलग जुनसुकै नाम दिएपनी । त्यस्तै वेद, पुराण, कुरान लगायतका सबै धर्मग्रन्थहरुमा उही एक ईश्वरको ज्ञान र भक्तीको मार्ग देखाएको छ ।
    अर्को पदमा संत रविदास वताउनु हुन्छ, “ब्राह्मण मत पूजिए जो होवे गुणहीन । पूजिए चरण चंडाल के जो होवे गुण प्रविण” अर्थात गुणहिन ब्राह्मण वा उच्च पदमा आशिन व्यक्ती भएपनी पुज्नु हुदैन, बरु गुणवान चंडाल (लास जलाउने माछे) को चरण पुज्नु पर्दछ ।
    यसरी संत रविदासजीले जात र धार्मिक सम्प्रदाय बिचको विभेद हटाउन सम्पूर्ण मानीसको श्रृजना एक ईश्वरले गरेको, सम्पूर्ण धर्मले एकै ईश्वर (परम शक्ती) लाई पुज्ने गरेको । मानीसले जीवनमा ईश्वरिय उच्च आदर्श लाई मनन गर्दै, गुणवान व्यक्तीको सम्मान गर्न र निरन्तर आफ्नो कर्मलाई स्वच्छता तर्फ लैजानु पर्ने सन्देश दिएका छन् ।
    नेपालीले नचिनेका संत रविदास
    नेपाली समाजमा मार्क्श, एंगेल्स, लेलीन र माओको साम्यवादी विचारधारा र वर्ग संघर्षको विद्रोहमा लागेका बामपन्थीहरु वा दलित अधिकारकर्मी कसैले पनि संत रविदासका आदर्शका बारेमा अध्ययन वा चर्चा गरेको सुनिदैन । दक्षिणपन्थी वा बामपन्थी विद्वानहरुले समेत १५ औं शताव्दिका यती आदर्श पुरुषका बारेमा लेखे बोलेको सुनिदैन ।
    नेपाली रंगभेद, जातीभेद, लैङ्गिक विभेद विरुद्धको आन्दोलनमा होमिएका मानीसहरुले दक्षिण अफ्रिकाका नेल्शन मण्डेला, भारतका महात्मा गांधी र डाक्टर भिमराव अम्बेडकरलाई आदर्शका रूपमा लिदै गर्दा १५ औं शताव्दिका महान संत रविदास र संत कबिरका बारेमा सामान्य पनि जानकारी नराख्नुले अध्यात्मले र अध्यात्मिक व्यक्तिहरुले समाज सुधारमा र आदर्श समाज निर्माणमा खेल्ने भूमिकाको उपेक्षा गरेको त हैन कतै ?
    बरिष्ठ पत्रकार विजयराज पाण्डेले भनेजस्तै हामीले समाजका हरेक समस्याको राजनैतिक र आर्थिक समाधान मात्र खोजीरहेका छौं तर आध्यात्मिक आयामलाई बिलकुलै नजरअन्दाज गरेका कारण समाधान भएका जस्ता देखिने समस्या पनि वास्तविक रुपमा समाधान भएका छैनन् । वहाँले भनेजस्तै मानीसका व्यक्तिगत र सामाजिक समस्याहरुलाई राजनैतिक वा आर्थिक तबरबाट मात्रै नभई आध्यात्मिक तबरबाट पनि समाधान खाेजीनुपर्छ ।
    नेपाली चलनचल्तीको समाजवादी आदर्शले मात्रै सभ्य समाजको निर्माण सम्भव छ भन्ने कुरा हाम्रो जस्तो बहु धार्मीक, बहु जातीय, बहु राजनैतीक र स्पष्ट वर्ग निर्धारण हुन नसक्ने मुलुकका लागि सम्पूर्ण आदर्श बन्न सक्दैन । हालसम्म भएका दक्षिण वा बामपन्थी आन्दोलनले हटाउन नसकेको जातिय विभेदको मुद्धा संत रविदासको आदर्शबाट अगाडी बढाउन सके यो आन्दोलनले स्पष्ट मार्गदर्शन प्राप्त गर्न सक्छ की ?
    नेपालको र भारतमा व्याप्त साम्प्रदायिक र जातिय विभेद अन्त्यका लागि संत रविदासले देखाउनु भएको ज्ञान, प्रेम र भक्तीको उच्च आदर्शलाई मनन गर्न सके संघर्ष र प्रतिशोधपूर्ण विभेद विरुद्धको विद्रोहले सार्थकता पाउँन सक्छ । नेपाल र नेपालीले संत रविदासलाई चिन्नु र जान्नु पर्नेछ । रविदास जयन्तीको अवसरमा सन्त रविदासका बारेमा पढ्न, सुन्न र मनन गर्न Man Hi Pooja Man Hi Dhoop 01-10 – Osho World हेर्न
    सम्पूर्णमा अनुरोध छ ।
                                                          लेखक
    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री