ई-घोडाघोडी खबर

१४ जेष्ठ २०८१

  • मासिए धर्मशाला, हराए चौतारा

    मासिए धर्मशाला, हराए चौतारा

    Share

    बैतडी, वैशाख २९ गते  । सडक यातायात सेवा तथा बजार विस्तार भएपछि नुनको कथासँग जोडिएका ऐतिहासिक धर्मशाला र चौतारीहरू मासिँदै जान थालेका छन् । नुन किन्न जाँदा ५० वर्षअघिसम्म भारी बिसाएर बास बस्ने थलोका रूपमा प्रयोगमा रहेका धर्मशाला संरक्षण नहुँदा खण्डहर बनेका  छन् । त्यस्तै भरियाले भारी बिसाउने र थकाइ मार्ने चौतारी पनि मासिँदै गएका छन् । स्थानीयस्तरमा बजार विस्तार भएपछि पाटन नगरपालिका–८, खोड्पेमा रहेको ऐतिहासिक धर्मशालामा घँगारुको झाडी उम्रिएको छ ।

    यस जिल्लामा ३० वटाभन्दा बढी धर्मशाला रहेका छन् । धर्म कमाउन तथा इतिहासकालसम्म नाम राख्न धर्मशाला निर्माण गर्ने र बरपिपलको रुखसहितको चौतारी निर्माण गर्ने परम्परा रहेको पाइन्छ । स्थानीय ढुङ्गाबाट गब्युर (पिरामिड) शैलीमा निर्मित धर्मशाला मानवतावादी नेता जयपृथ्वीबहादुर सिंहका पालामा निर्माण भएको बताइन्छ । वरिष्ठ पत्रकार लक्ष्मीदत्त पाण्डेयले बझाङदेखि बैतडी हुँदै भारतको पिथौरागढसम्म राजा जयपृथ्वीबहादुर सिंहको अगुवाइमा ६० भन्दा बढी धर्मशाला निर्माण भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “जयपृथ्वीबहादुर सिंहले गोरखापत्रको जागिर छाडेर फर्केपछि उहाँकै अगुवाइमा यतिका धर्मशाला बनेका हुन् । उहाँले भारतको बैङ्लोरमा बसेर मानवतावादी क्लब खोल्नुभयो । त्यति बेला नेपालबाट नुन लिन भारतको टनकपुर र पिथौरागढ जानुपर्ने बाध्यता थियो ।”

    नुन किन्न हाट जाने बटुवाका लागि बझाङ, बैतडी र डडेलधुराका विभिन्न स्थानमा बास बस्न धर्मशाला बनाइएको जानकारी उहाँले दिनुभयो । अछाम र बाजुरा जिल्लामा रहेका धर्मशाला र पाटीपौवा पनि हराइसकेका छन् ।

    जयपृथ्वीबहादुरकै प्रेरणाबाट केही धर्मशाला स्थानीय समाजसेवीको अगुवाइमा बनेको बताइन्छ । तत्कालीन इस्ट इन्डिया कम्पनीले झुलाघाटमा झोलुङ्गे पुल बनाएपछि यो नाकाबाट आवतजावत गर्न सुर्नया, पाटन, पुर्चौडी, कठपते र घनघस्याको उकालोमा धर्मशाला बनाइएको पाइन्छ ।

    प्राध्यापक डा. तारानाथ शर्माले लेख्नुभएको घनघस्याको उकालो सुरु हुने अघोरीगाडमा पनि धर्मशाला रहेको छ तर संरक्षण नहुँदा ढुङ्गा निस्केर छरपस्ट अवस्थामा छ । पाटन नगरपालिका–४ स्थित खुट्किडीको उकालोको धर्मशालाको अवस्था पनि उस्तै छ । पाटन नगरपालिका–६ ठाकुर मन्दिर छेउमा रहेको धर्मशालामा भने मेला पर्वको राति भक्तजनले ओत लाग्ने गरेकाले संरक्षित अवस्थामा रहेको छ । कठपतेमा रहेको धर्मशालामा झाडी पलाएको छ ।

    स्थानीय तह उदासीन 

    स्थानीय सरकारले चासो नदिँदा धर्मशालाको इतिहास हराउने अवस्था आएको नागरिक अगुवा बताउँछन् । कर्ण दयाल सोराडी भावी पुस्ताले आफ्ना पूर्वजको इतिहास बुझ्न पाउने गरी धर्मशालाको संरक्षण गर्नुपर्ने बताउनुहुन्छ । धर्मशाला, पाटीपौवा, पिपल चौतारी निर्माणको इतिहास मानवीय सेवा र धर्म, पूर्वजको इतिहास, इज्जत र प्रतिष्ठासँग जोडिने भएकाले यस्ता सम्पदाको संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री