गोदावरी नगरपालिका वडा नम्बर १ की नौसरी पार्कीलाई बुधबार छिमेकीको कुकुरले टोक्यो। त्यहीँ दिन नौसराका पति अर्जुन पार्कीले उनलाई रेबिज विरुद्धको खोप लगाउन सेती अस्पताल ल्याए। त्यो दिन अस्पतालको आकस्मिक कक्षमा एक सय पचास जनालाई रेबिज विरुद्धको खोप लगाइयो।
नौसरी पार्की आज अर्थात् आइतबार दोस्रो खोप लगाउन अस्पताल आइन्। तर, उनले खोप लगाउन पाइनन्। अस्पतालमा खोप नभएपछि स्वास्थ्यकर्मीले बाहिरबाट खरिद गरेर ल्याउन भनेको अर्जुन पार्कीले बताए। ‘सेतीमा ७ गते गएर बल्लतल्ल पहिलो खोप लगाए। दोस्रो खोपका लागि आज श्रीमतीलाई पठाउँदा खोप छैन किनेर ल्याउनु भनियो। किन्दा सात सय पर्दो रहेछ पैसा नहुँदा श्रीमती खोप नलगाएरै फर्केर आइन्,’ अर्जुनले भने।
सेती अस्पतालमा रेबिज विरुद्धको खोप निःशुल्क लगाउने व्यवस्था छ। तर, दैनिक खोप लगाउन आउनेको संख्या अत्यधिक भएकाले अस्पतालमा पछि आउनेले खोप नपाउने समस्या छ। सेतीमा प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रबाट खोप आउने गरेको छ। त्यहाँ पनि पछिल्लो पटक आएको एक हजार दुई सय खोपमा आकस्मिक प्रयोगका लागि दुई सय खोप मात्रै मौज्दात रहेको छ।
सेतीमा पनि खोप सिद्धिएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले बताए। ‘अस्पतालमा दैनिक खोप लगाउने मान्छे आउने गरेका छन्। हामीलाई पनि आपूर्ति व्यवस्थापन केन्द्रले दिने गर्छ। अस्पतालमा पनि खोप छैन,’ उपाध्यायले भने। संघीय सरकारले प्रदेश सरकारलाई रेबिज विरुद्धको खोप अनुदानमा दिने गरेको छ। १५ दिन अगाडि साउनमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा संघ सरकारले एक हजार २ डोज पठाएको थियो।
यो खोपको ७० प्रतिशत सेती अस्पतालमा खपत भएको छ। रेबिज विरुद्धको खोप लगाएको घरपालुवा कुकुरले चाट्दा र नङ्ग्रा बिझाउँदा समेत खोप लगाउने प्रवृत्ति बढेकाले १५ दिनमै आएको खोप सकिएको प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख डाक्टर निरज अर्यालले बताए। ‘हामीलाई संघ सरकारले अनुदानमा रेबिजको खोप उपलब्ध गराउँछ।
आपूर्ति व्यवस्थापन केन्द्रमा आउने खोप नौ जिल्लामा आपूर्ति गर्नुपर्छ,’ उनले भने, ‘घरमा पालेको र रेबिज विरुद्ध खोप लगाएको कुकुर चाट्दा र नङ्ग्रा बिझाउँदा पनि खोप लगाउन आउने प्रवृत्तिका कारण स्याल र छाडा कुकुरले टोक्दा खोप दिन नसकिने अवस्था सिर्जना भएको छ।’
घरमा पालेको र रेबिज विरुद्धको खोप लगाएको कुकुरले टोक्दा रेबिज नहुने भए पनि खोप लगाउन आउने गर्नाले जङ्गली जनावर र छाडा कुकुरले टोकेर आउने व्यक्तिले खोप नपाउने समस्या भएको छ। संघमा समेत खोपको अभाव रहेकाले भदौ अन्तिममा मात्रै केन्द्रबाट थप खोप आउने स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको छ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी