ई-घोडाघोडी खबर

२६ कार्तिक २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • निजी अस्पतालमा विपन्नलाई डायलासिस

    निजी अस्पतालमा विपन्नलाई डायलासिस
    Spread the love

    कैलालीमा रहेको एक निजी अस्पतालमा विपन्नलाई निःशुल्क डायलासिस सेवा सुरु भएको छ । धनगढीमा रहेको नवजीवन अस्पताल प्रालिले विपन्नलाई निःशुल्क डायलासिस सेवा दिन थालेको हो तर सेवा प्राप्तिका लागि स्थानीय सरकारको सिफारिसपत्र आवश्यक पर्ने गरेको जनाइएको छ ।

    स्थानीय सरकारले मिर्गौलापीडित व्यक्ति विपन्न रहेको सिफारिस दिएमा सो सिफारिसका आधारमा निःशुल्क उपचार गरिने सुदूरपश्चिम इन्टरनेसनल डायलासिस सेन्टरका इन्चार्ज अञ्जना तण्डुकारले बताउनुभयो ।

    उहाँका अनुसार निःशुल्क उपचार सेवा उपभोग गर्न चाहेको व्यक्ति मिर्गौलाको समस्याबाट ग्रसित बिरामी रहेको पुस्ट्याइँ गर्ने पत्र भने सेन्टरले उपलब्ध गराउने छ । सो पत्रको आधारमा सम्बन्धित व्यक्तिको वडा कार्यालयले ती व्यक्ति विपन्न रहेको बेहोरासहितको पत्र पालिकामा लेखी पठाएमा पालिकाले निःशुल्क उपचारको व्यवस्थाका लागि सिफारिस गर्ने उहाँले बताउनुभयो ।

    सुदूरपश्चिम इन्टरनेसनल डायलासिस सेन्टरसँगको सहकार्यमा गत वर्षदेखि नवजीवन अस्पतालमा डायलासिस सेवा सञ्चालन गरिएको छ । विपन्नलाई निःशुल्क उपचार सेवाको व्यवस्था भने गत बिहीबारदेखि लागु गरेको जनाइएको छ ।

    सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा डायलासिस सेवा पहिलेदेखि नै सञ्चालनमा छ तर सरकारी अस्पतालमा उपलब्ध शय्याले मात्रै नपुग्ने भएपछि निजी अस्पतालमा पनि डायलासिस सेवा सुरु गरिएको हो । डायलासिस गर्नुपर्ने बिरामीले बेलैमा शय्या नपाउने अवस्था देखिएपछि निजीमा पनि सेवा सुरु गरेको तण्डुकारले बताउनुभयो ।

    नवजीवन अस्पतालले छ शय्याको डायलासिस सेवा दिइरहेको छ । पाँच वटा डायलासिस शय्या सेन्टर र एउटा शय्या सघन उपचार कक्ष (आइसियु) मा रहेको छ । आइसियुमा राखेर उपचार गर्नुपर्ने कतिपय बिरामीलाई डायलासिस पनि आवश्यक पर्ने गरेका कारण त्यहाँसमेत डायलासिस शय्या बनाएको अस्पतालका डा. विदुरमणि गौतमले बताउनुभयो ।

    नवजीवन अस्पतालले नियमित डायलासिस गर्ने बिरामीका लागि प्रत्येक पटकको सामान्य डायलासिस शुल्क चार हजार पाँच सय निर्धारण गरेको छ । ओपिडी र आकस्मिक कक्षबाट आएका बिरामीको छ हजार शुल्क लिने गरिएको छ । औषधी प्रयोग गर्नुपरेमा भने शुल्क महँगो पर्ने गरेको जनाइएको छ ।

    मिर्गौलाको समस्या भएका बिरामीले न्यूनतम चार घण्टासम्म डायलासिस गर्नु पर्छ । नवजीवन अस्पतालमा १३ जना बिरामीले नियमित डायलासिस गराइरहेको तण्डुकारले जानकारी दिनुभयो । एक बिरामीले हप्तामा दुई पटकसम्म डायलासिस गराइरहेको उहाँले बताउनुभयो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी