ई-घोडाघोडी खबर

७ जेष्ठ २०८१

  • आयोडिन नुनको उपभोगले स्वास्थ्य समस्या न्यूनीकरण

    आयोडिन नुनको उपभोगले स्वास्थ्य समस्या न्यूनीकरण

    Share

    आयोडिनयुक्त नुन उपभोग गर्ने बानी बढेपछि आयोडिनको कमीले मानिसमा देखिने विभिन्न शारीरिक समस्या न्यूनीकरण हुँदै गएको छ ।

    यो नुनको उपभोग गर्ने जनसङ्ख्या बढेसँगै पहिलेको जस्तो सुस्त मनस्थिति, पुट्कोपना, गलगाँड हुनेजस्ता शारीरिक समस्या न्यूनीकरण हुँदै गएको पाइएको बाजुरा जिल्ला अस्पतालका प्रमुख नृपराज गिरी बताउनुहुन्छ ।

    “आयोडिन नुन र पोषणयुक्त अन्य खानेकुराको उपभोग बढेकाले हुनसक्छ, अस्पतालमा पछिल्ला दशकमा प्रसूति सेवा लिन आउने माहिलाबाट पुट्कोपना, ख्याउटेपना र सुस्त मनस्थितिका शिशु जन्मिएको विवरण देखिँदैन,” उहाँ भन्नुहुन्छ, “गलगाँडको समस्या लिएर आउने नयाँ बिरामी पनि छैनन् ।”

    आयोडिनयुक्त नुनको पहुँच सबै ठाउँमा नपुग्दा कतिपय नागरिकले विगतमा आयोडिन तत्व नभएको ढिके नुन उपभोग गर्नुपर्ने बाध्यता थियो । आयोडिन तत्त्वका साथै भिटामिन ‘ए’ को कमीका कारण मानिसको बुझ्ने तथा सिक्ने क्षमतामा ह्रास आउने, सुस्त मनस्थितिका सन्तान जन्मिने, गलगाँड हुने, महिनावारी हुने महिलामा अत्यधिक रक्तस्राव हुने, महिनावारी अनियमित हुने ,वयस्क व्यक्तिको प्रजनन् क्षमता कमजोर हुनेलगायत स्वास्थ्य समस्या देखिने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

    आयोडिनयुक्त नुनको उपभोग गर्दा हुने फाइदा र नगर्दा हुने बेफाइदाका बारेमा पहिलेको भन्दा जनतामा चेतना बढेको पाइएको स्थानीयवासी ज्ञानबहादुर शाही सुनाउनुहुन्छ  । “पहिल्यैदेखि घरमा ढिके नुन उपभोग गर्ने बानी परेकाहरू पनि अहिले पोकाको आयोडिनयुक्त धुलो नुन उपभोग गर्ने गरेका छन्”उहाँ भन्नुहुन्छ,”आयोडिन नुनका बारेमा अहिले सबैमा चेतना आइसकेको छ ।” उक्त नुन बिक्री वितरणको दायित्व बोकेको साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडले नेपालमा यो नुन उपभोग गर्ने जनसङ्ख्या ९३ प्रतिशत पुगेको जनाएको छ ।

    कर्पोरेसनका विभागीय प्रबन्धक ब्रजेशकुमार झा भन्नुहुन्छ,“आयोडिनयुक्त नुन खानुपर्छ भन्ने चेतना नागरिकमा पहिलेको भन्दा निकै बढेको छ, यसको पहुँच पनि सबैतिर पुगेको छ, आयोनुनको उपभोग गर्ने बढेसँगै मानिसको स्वास्थ्यमा देखिने विकृति अहिले पूरै हटेको छ ।”

    सात प्रतिशत जनसङ्ख्याले भने खुला सीमाको फाइदा उठाउँदै भारतबाट अवैधरुपमा आयात गरिने ढिके नुन उपभोग गरिरहेको पाइएको छ ।

    यसरी भित्रिने ढिके नुनमा आयोडिनको मात्रा नहुने भएकोले खान नहुने बताइन्छ । ढिके नुन आयोनुनको मूल्यभन्दा कम पर्ने हुँदा सीमा क्षेत्रका कतिपयले यो नुन उपभोग गर्ने गरेका हुन् । आयोडिनयुक्त ढिके नुन भने छिटपुट रूपमा बिक्री वितरण हुने गरेको छ । यस्तो ढिके नुनको बाहिरी भागमा हुने आयोडिनत्व धोइपखाली प्रयोग गर्नुपर्दा त्यसमा रहने आयोडिन तत्त्व नष्ट हुने गर्छ । नेपाल सरकार र लिमिटेडको संयुक्त पहलमा सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, अछाम र दार्चुला जिल्लासहित देशका २२ दुर्गम जिल्लामा तोकिएको कोटाअनुसार सहुलियत मूल्यमा ‘भानु ब्राण्ड’को आयोनुन बिक्री वितरण भइरहेको छ ।

    सरकारले ढुवानी अनुदान र कर्पोरेसनले प्रतिकिलोमा छ रुपिँया छुट दिएर दुर्गम जिल्लामा यो नुन प्रतिकिलो रु नौ मा बिक्री वितरण गरेको हो । सुदूरपश्चिम प्रदेशमा आव २०८०/८१मा २४हजार पाँच सय १४ क्विन्टल सहुलियत मूल्यका नुनको कोटा तोकिएकामा गत भदौ अन्तिमसम्म चार हजार नौसय १५ क्विन्टल नुन सम्बन्धित जिल्लामा ढुवानी भइसकेको कर्पोरेसनको धनगढीस्थित प्रदेश कार्यालयले जनाएको छ । अनुदान नदिइएको आयोडिनयुक्त शक्ति र आयो नुन भने कर्पोरेसनले बजारमा प्रतिकिलो  रु १५ मा बिक्री वितरण गर्ने गरेको छ ।

    कर्पोरेसनका विभागीय प्रबन्धक झा नेतृत्वको एक टोलीले अछाम, बझाङ, बाजुरालगायत जिल्लामा आयोडिन नुनको आपूर्ति व्यवस्थापन र देखिएका समस्यालगायत विषयमा केही दिनअघि स्थलगत निरीक्षण अनुगमन गरेको थियो । समयमै आपूर्ति व्यवस्थापन हुननसक्दा कतिपय समयमा यो नुन पाउन समस्या हुने गरेको स्थानीयवासीको गुनासो पनि छ ।

    घरपालुवा गाईबस्तुका लागिसमेत यो आयोडिन नुनको जोहो गर्न खोज्दा मान्छेका लागि नपुगेर कहिलेकाहीँ आपूर्तिमा समस्या देखिने गरेको बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “भौगोलिक विकटतासँगै जनभावनालाई मध्यनजर गरी यो नुनको आपूर्तिका लागि कोटा निर्धारण गर्न आवश्यक छ ।”

    नेपालमा पहिलो पटक सन् १९६५मा गरिएको सर्वेक्षणकाअनुसार त्यसबेला आयोडिनको कमीका कारण ५५ प्रतिशत जनताको स्वास्थ्य कुनै न कुनै रूपमा असर परेको थियो । जन्मिने चार प्रतिशत बालबालिका सुस्त मनस्थितिका हुन्थ्यो ।

    सरकारको नीतिगत निर्णयपछि सन् २०७३ देखि नेपालमा आयोडिन नुन बिक्री वितरण थालिएको हो । नुनको सहज आपूर्ति गर्न स्थापित कर्पोरेसनले हाल नुनसहित अन्य दैनिक उपभोग्य वस्तु र रासायनिक मल सुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको कर्पोरेसनका विभागीय प्रबन्धक झा बताउनुहुन्छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री