ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • सहारा घरलाई आर्थिक सहयोग

    सहारा घरलाई आर्थिक सहयोग
    Spread the love

    कैलाली बर्दगोरिया गाउँपालिका–२ स्थित सहयोगी हातहरू नेपाल संस्थाले सञ्चालन गरेको सहारा घरलाई एक करोड ५० लाख रुपियाँ सहयोग प्रदान गरिएको छ ।

    सहारा घरलाई व्यवस्थित रूपमा सञ्चालन गर्न राष्ट्रिय योजना आयोगले उक्त सहयोग प्रदान गरेको हो । सो संस्थाले सडकमा अलपत्र परेका, मानसिक रोगी, बेसहारा तथा असाहय नागरिकलाई सहारा दिँदै आएको छ ।

    स्थानीय बलबहादुर विष्टले २०७० सालदेखि सञ्चालनमा ल्याउनुभएको सहारा घरमा मानसिक रोगी तथा असाह्य बालबालिका गरी एक सय जनाभन्दा बढीले आश्रय पाइरहेका छन् । देश/विदेशबाट उपलब्ध  व्यक्ति तथा सङ्घ संस्थाको सहयोगबाट सहारा घर सञ्चालन हुँदै आएको छ ।

    सरकारले पहिलो पटक यति ठुलो सहयोग गरेपछि साच्चै नै राम्रो काम गरेको अनुभूति भएको सहाराका सञ्चालक विष्टले बताउनुभयो । समाज सेवामा अहोरात्र खटिएका विष्टले सडकमा अलपत्र परेका नागरिकको अभिभावकीय जिम्मा सम्हाल्दै आउनुभएको छ ।

    सरकारले लिनुपर्ने जिम्मेवारी आफूले लिँदाको खुसीसँगै सरकारको साथले उत्साह थपेको उहाँले बताउनुभयो । बर्दगोरिया गाउँपालिकाको सिफारिसमा सहारा घरका लागि यत्तिको रकमसहितको योजना परेको हो ।

    बर्दगोरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्कीले सहारा घरले राम्रो काम गरेको बताउँदै दीर्घकालीन व्यवस्थापनका लागि योजना आयोगबाट अनुदान परेको बताउनुभयो । भौतिक पूर्वाधार निर्माणका लागि छुट्याइएको सो योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रियामा गइसकेको छ ।

    उहाँले एक महिनाभित्र ठेक्का सम्झौता गरी निर्माण योजनाको काम सुरु गरिने उहाँले बताउनुभयो । विशेष अनुदान अन्तर्गत बहुवर्षीय योजना परेको जानकारी दिँदै प्रमुख कार्कीले राष्ट्रिय माध्यमिक विद्यालय कोटा तुलसीपुर र मोहन्याल माध्यमिक विद्यालय बाँस्कोटीलाई पनि एक करोड ८० लाख अनुदान प्राप्त भएको जानकारी दिनुभयो ।

    उक्त तीन वटै योजनाको एकै पटक टेन्डर आह्वान गरेर निर्माण प्रक्रिया अगाडि बढेको जनाइएको छ । सीमित स्रोत साधनमा खुम्चिएर सेवा दिइरहेको सहारा घर अब व्यवस्थित र सुविधायुक्त हुने अपेक्षा गरिएको छ ।

    सहारा घरमा पाँच जनाले स्वयम्सेवकका रूपमा सहयोग गरिरहेका छन् । उहाँहरूले सहारा घरमा आश्रितहरूलाई खाना बनाउने, सरसफाइ गर्ने, हेरचाहमा सहयोग गरिरहेको सहारा घरका सञ्चालक विष्टले बताउनुभयो ।

    सहारा घरको मानवीय सेवाबाट प्रभावित भएर देश/विदेशमा रहेका नेपालीले जन्मदिन, विवाह, उत्सवमा खर्च गर्ने रकम बचाएर सहारा घरलाई दिने गरेका छन् । सहयोगबाट नै अहिलेसम्म सहारा घरमा आउने असहाय, दुःखी, पीडितलाई खाने बस्ने व्यवस्था भएकोे सञ्चालक विष्टले बताउनुभयो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी