ई-घोडाघोडी खबर

२६ कार्तिक २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • अट्ठाइस महिलाको उद्धार

    Spread the love

    बडीमालिका समाचारदाता

    मार्तडी चैत १२ गते । बाजुराबाट २८ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ । ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गरिएको जनाइएको छ । बाजुराको दुर्गम गाउँमा हुने मातृ मृत्युदर घटाउन ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत यत्तिका महिलाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    हवाई उद्धार कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७७ असोज ११ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएको थियो ।

    जस अन्तर्गत यस जिल्लाबाट २०७७ सालमा चार जना, २०७८ मा तीन, २०७९ मा सात र २०८० मा १४ जना गरी २८ जना गर्भवती तथा सुत्केरीको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिनुभयो ।

    यीमध्ये २६ जना गर्भवती तथा सुत्केरीलाई कर्णाली प्रादेशिक अस्पताल सुर्खेत, एक जनालाई सेती प्रादेशिक अस्पताल धनगढी र एक जनालाई भेरी अस्पताल नेपालगन्जमा पठाइएको थियो ।

    तीमध्ये नौ जना जगन्नाथ गाउँपालिका, सात जना हिमाली गाउँपालिका, पाँच जना बुढीनन्दा नगरपालिका, तीन जना बडीमालिका नगरपालिका, दुई जना स्वामिकार्तिक गाउँपालिका, एक/एक जना गौमूल र खप्तड छेडेदह गाउँपालिकाका महिला छन् ।

    २०८० सालको माघमा पाँच र चैत महिनामा तीन गर्भवती तथा सुत्केरीको हवाई उद्धार भएको छ । यही शुक्रबार पनि जगन्नाथ गाउँपालिका–६ का २८ वर्षीय सुत्केरी दुर्गा बुढाको सदरमुकाम मार्तडीबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उद्धार गरिएको छ ।

    जगन्नाथ गाउँपालिका र हिमाली गाउँपालिका भूगोलको दृष्टिकोणले सबैभन्दा विकट गाउँपालिका हुन् । ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत यी पालिकाका लागि उपयुक्त भएको खप्तड छेडेदह गाउँपालिकाका उपाध्यक्ष बिसु नाथले बताउनुभयो ।

    उद्धार कार्यक्रम दुर्गमका महिलाका लागि कोसेढुङ्गा साबित भएको छ । हवाई उद्धार गरी सुविधासम्पन्न अस्पतालमा ल्याइएका महिलाको सुत्केरी पोषण स्याहार तथा यातायात सहयोगका लागि एकमुस्ट २० हजार रुपियाँ उपलब्ध गराउने व्यवस्था रहेको छ ।

    ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, मनाङ, मुस्ताङ, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, डोल्पा, कालीकोट, मुगु, हुम्ला, बाजुरा, अछाम र दार्चुलामा पूर्ण रूपमा लागु भएको बताइएको छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी