काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा सञ्चालित एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागीमध्ये ४७.८६ प्रतिशत मात्र ११ कक्षामा भर्ना हुन पाउने भएका छन् । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षामा सहभागी ४ लाख ६४ हजार ७ सय ६५ विद्यार्थीमध्ये २ लाख २२ हजार ४ सय ७२ जना कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् ।
बोर्डका अनुसार ननग्रेडिङ(एनजी) हुने विद्यार्थीको संख्या २ लाख ४२ हजार ३ सय १३ रहेको छ । तीमध्ये २ विषयमा एनजी हुने विद्यार्थी संख्या १ लाख १५ हजार ८ सय ३४ छ । यिनीहरू यही साउन १८ र १९ गते हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने अध्यक्ष शर्माले बताए । उक्त परीक्षाको नतिजा १ महिनामा प्रकाशित हुने बोर्ड जनाएको छ । ग्रेडवृद्धि हुने विद्यार्थी भने यसै शैक्षिक सत्रमा कक्षा ११ मा पढ्न पाउनेछन् । त्यस्तै २ भन्दा बढी विषयमा ननग्रेडिङमा पर्ने १ लाख २६ हजार ४ सय ७९ विद्यार्थीले भने आउँदो वार्षिक परीक्षामा सहभागी हनुपर्नेछ ।
नयाँ पाठ्यक्रमअनुसार पहिलो पटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका–२०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन भएको बोर्डले जनाएको छ । उक्त व्यवस्थाअनुसार विद्यार्थीले प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम २७ अंक ल्याउनै पर्छ । उक्त अंक अर्थात् १.६ जीपीएभन्दा कम अंक ल्याउने विद्यार्थी ननग्रेडिङ (एनजी) मा पर्नेछन् । उनीहरूलाई बोर्डले ग्रेडसिटसमेत उपलब्ध गराउने छैन ।
निर्देशिकामा दुई विषयसम्म एनजी आउने विद्यार्थीले बोर्डले तत्कालै मिति तोकेर लिने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।जुन विषयमा एनजी भएको हो सोही विषयमा मात्र परीक्षा दिए हुन्छ । दुई विषयभन्दा बढीमा एनजी आए अर्को वर्ष सम्बन्धित विषयको मात्र परीक्षा दिन पाइने व्यवस्था निर्देशिकामा गरिएको छ । यस्ता विद्यार्थीले ३ वर्षसम्म वार्षिक परीक्षामा सहभागी हुन पाउनेछन् । उक्त पद्धतिअनुसार गत वर्षदेखि नै कक्षा १२ को नतिजा सार्वजनिक हुँदै आएको छ । जसअनुसार परीक्षा दिएकामध्ये करिब ५० प्रतिशत विद्यार्थी मात्रै ग्रेडिङमा पर्दै आएका छन् ।
विद्यालय तहमा २०७२ देखि लेटर ग्रेडिङ पद्धति सुरु भएको हो । २०७८ मा पाठ्यक्रम विकास केन्द्रले निर्देशिका संशोधन गरेर ग्रेडिङ हुन न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था गरेको थियो । एसईईमा गत वर्षसम्म पुरानो पाठ्यक्रमकै आधारमा अध्ययन गरेका विद्यार्थी सहभागी भएकाले उनीहरूको हकमा संशोधित निर्देशिका लागू भएको थिएन । गत चैत १५ देखि २७ गतेसम्म सञ्चालित परीक्षामा ४ लाख ७५ हजार परीक्षार्थी सहभागी थिए । तीमध्ये ४ लाख ४९ हजार साधारण धारतर्फका विद्यार्थी हुन् । १५ हजार प्राविधिक धारतर्फका विद्यार्थी छन् । करिब ८ हजार विद्यार्थी परीक्षामा अनुपस्थित रहेको बोर्डले जनाएको छ ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी