ई-घोडाघोडी खबर

७ जेष्ठ २०८१

  • धनगढीमा आगलागी अस्पतालसहित सात पसलमा क्षति

    धनगढीमा आगलागी अस्पतालसहित सात पसलमा क्षति

    Share

    भावना जोशी

    अत्तरिया, मङ्सिर २ गते । धनगढी बजारमा भीषण आगलागी भएको छ ।  शुक्रवार राति १ बजेको समयमा धनगढी उपमहानगरपालिका वडा नं. १  मुख्य बजार सारथि अस्पताल क्षेत्रमा आगलागी भएको हो ।

    आगलागीले अस्पतालसहित सात वटा पसलमा क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो । सुरुमा अस्पताल नजिक दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरको जुत्ता चप्पलको होलसेलको गोदाममा अचानक विद्युत् तार सर्ट भई आगलागी भएको र त्यहाँबाट सल्केको आगोले अन्य पसलमा समेत क्षति  गरेको चन्दले जानकारी दिनुभयो  ।

    राति नै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको कमान्डमा ४० जना प्रहरी, तेघरी ब्यारेक कैलालीबाट सेनानी बिपेन आचार्यको कमान्डमा २६ जना नेपाली सेना, सशस्त्र प्रहरी बल ३४ नम्बर गण हेडक्वार्टर कैलाली नैनादेवीबाट सहायक प्रहरी नायब उपरीक्षक खेमराज ठकुल्लाको कमान्डमा ३० जनाको टोली, स्थानीय, धनगढी उपमहानगरको २ वटा, गोदावरी नगरपालिकाको १ वटा, पुनर्वास नगरपालिकाको १ वटा गरी ४ वटा दमकलसहितको टोलीले आगो नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो ।

    घटनामा मानवीय क्षति नभए पनि अन्य धेरै पसलहरू जलेर नष्ट भएकोले क्षतिको धेरै भएको हुन सक्ने पूर्ण विवरण आइसकेको छैन । व्यापारीहरूले क्षतिको बारे जानकारी दिई नसकेकोले कति क्षति भयो भन्ने बारे अहिले यकिन नभएको चन्दले जानकारी दिनुभयो । आगलागीमा दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोर एन्ड सु–सेन्टर (जुत्ता चप्पलको होलसेल  गोदाम), टेकेन्द्र शर्माले सञ्चालन गरेको मधुमाला देवी सप (बेबी सपको गोदाम), वासुदेव भट्टले सञ्चालन गरेको भट्ट सपिङ सेन्टर (ब्याग हाउस), जगत् बहादुर बलायरले सञ्चालन गरेको सुशिक्षादेवी सपिङ् सेन्टर (कपडाको गोदाम), शोदा साउदले सञ्चालन गरेको न्यु सदिच्छा इन्टरप्राइजेजी (कपडा, जुत्ता, ब्यागको गोदाम), गौरी भण्डारीले सञ्चालन गरेको भण्डारी सु –सेन्टर (जुत्ता चप्पलको गोदाम), सारथि अस्पताल कैलाली, , जानकी भट्टले सञ्चालन गरेको भट्ट ट्रेडर्स एन्ड सप्लायर्स (ब्याग हाउस) गरी आठ ओटा पसलमा पूर्ण क्षति भएको चन्दले बताउनुभयो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री