ई-घोडाघोडी खबर

७ जेष्ठ २०८१

  • २२ वर्षदेखि आफन्तको पर्खाइमा छन् सुदूरपश्चिमका द्वन्द्व पीडित

    २२ वर्षदेखि आफन्तको पर्खाइमा छन् सुदूरपश्चिमका द्वन्द्व पीडित

    Share

    कैलाली । विगत २२ वर्ष देखी कञ्चनपुरकी लक्ष्मी देवी चौधरी छोरी परलोटीको बाटो कुरिरहेकी छन् । २०५८ साल फागुन १३ गते विद्यालय गएकी परलोटी त्यसपछि आजसम्म घर फर्किएकी छैनन् । १५ वर्षकी उनी सधैँ जसो त्यो दिन पनि बिहानै विद्यालय गइन् । साँझ सम्म घर नफर्किएपछि अभिभावकहरूले खोजी सुरु गरे ।

    छोरी त फेला परिनन् तर, परिवारले उनको अपहरण भएको जानकारी भने पाए । अपहरण भएको तेस्रो दिन फागुन १६ गते जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा खोजीको अपिल गर्दै अभिभावक पुगे । तर, केही पत्ता लागेन । त्यस यता राष्ट्रिय मानव अधिकार आयोग, माइती नेपाल, इन्सेक, कारागार र हेडक्वाटर सम्म पुग्दा पनि परलोटी फेला नपरेको लक्ष्मीको पीडा छ ।

    ‘बिहान राम्रै सँग स्कुल गएकी छोरीलाई स्कुलबाटै अपहरण गरेर लगे। त्यसपछि खोजीनिती गर्दा आर्मीको ब्यारेकमा छ भन्ने थाहा पायौँ तर त्यहाँ हामीलाई जान दिइएन । कति दिनसम्म त यतै छ भन्थे पछि कता लगे थाहै भएन’ २२ वर्ष पछि पनि लक्ष्मीलाई त्यो दिनले पोलिरहन्छ ।

    जनयुद्धका समयमा बेपत्ता पारिएकी छोरीको बाटो अझै कुरिरहन्छन् उनी । ‘मलाई मेरी छोरी बितेको छ जस्तो लाग्दैन । कति बेला टुप्लुक्क आउँछ अनि आमा भनेर बोलाउँछ जस्तो लाग्छ’ लक्ष्मीले भनिन् ।

    छोरीको अवस्थाबारे पटक पटक सरकार सँग आग्रह गर्दा पनि आश्वासन मात्रै पाइरहेको उनको गुनासो छ ।

    ‛सरकारसँग केरो एउटै माग छ कि छोरी सास देऊ कि लास देऊ’ उनी भन्छिन् , ‛हामी जस्ता सामान्य मान्छेको पीडा यहाँ कसले सुन्ने ?’

    सरकारबाट उनले अहिले सम्म २ लाख मात्रै पाएकी छन् । तर, उनले आफूलाई राहत नभई छोरी चाहिएको बताउँछिन् ।

    कैलालीकी कृष्णी देवी चौधरीको कथा पनि लक्ष्मीको भन्दा फरक छैन । उनका श्रीमान् विनोद चौधरी पनि २०५८ साल फागुन २७ गते कामको सिलसिलामा घर बाहिर जाँदा अपहरणमा परे । त्यति बेला विनोद कैलालीको शिव प्रावि विद्यालयका स्थायी शिक्षक थिए ।

    फागुन २७ गतेबाट २०५९ जेठ १५ गते सम्म तेघरी ब्यारेकमा राखिएका विनोदलाई त्यो बेला सम्म खाना, लत्ता कपडा लगेर कृष्णीले पनि भेटेकी थिइन् । तर जेठ १६ गते राति तेघरी ब्यारेक बाट सरुवा गरिने भन्दै उनलाई त्यहाँबाट बेपत्ता पारेको उनले बताइन् ।

    उनले भनिन ‛जेठ १५ गते सम्म त उहाँ त्यही हुनु हुन्थ्यो । तर जेठ १६ गते राति त्यहाँबाट सरुवा गर्ने भनेर लगियो । हामीलाई त लगेको पनि थाहा थिएन । उहाँ सँगै बस्नु भएको साथी अनिल चौधरीले भनेपछि थाहा पायौ । आँखामा पट्टी बाधे लगेका हुन रे ।’

    बेपत्ता भएको १९ वर्ष सम्म पनि कुनै खबर नआएपछि आफन्तको सल्लाहमा ३ वर्ष अगाडी आफ्नो संस्कार अनुसार श्रीमानको अन्तिम संस्कार गरेको उनले सुनाइन् । बुवा बेपत्ता हुँदा ३ वर्षका उनको छोरा अहिले २५ वर्ष भएका छन् ।

    कृष्णि र लक्ष्मी यो समाजका एक प्रतिधी पात्र मात्रै हुन । जनयुद्धका बेलामा मृत्यु भएका, बेपत्ता परेका र घाइतेका हजारौँ परिवारहरू अहिले पनि न्यायको खोजीमा छन् । तर दुई दशक सम्म पनि न्याय भने पाउन सकेका छैनन् । सरकारले युद्धमा मृत्यु भएकाहरूलाई सहिद घोषण गरे पनि मृतकका परिवाको अवस्था भने जस्ताको त्यस्तै छ ।

    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेकको) तथ्याङ्क अनुसार जनयुद्धमा सुदूरपश्चिमका ५१ जना बेपत्ता भएका छन् । जस मध्य कञ्चनपुरका २६ जना, कैलालीमा १२ जना, डोटीमा ३ जना, अछाममा ३ जना, बैतडीमा ४ जना, डडेल्धुरामा ३ जना रहेका छन् । यो समयमा सुदूरपश्चिममा १ हजार ५ सय ५८ जनाले ज्यान गुमाएका थिए । त्यस्तै अङ्गभङ्ग हुनेहरूको सङ्ख्या पनि ठुलो छ ।

    अहिले पनि द्वन्द्वका घाउहरू पूर्ण रूपमा निको नभएको इन्सेकका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले बताए । उनले अहिले सम्म पनि पीडित परिवारले बेपत्ता भएकाहरूको बारेमा सरकारबाट तथ्यगत जानकारीको अपेक्षा गरेको बताए ।

    ‘केहीले मृत्यु भइसकेको भन्दै घटनाबारे सत्य तथ्य छानबिन गरिरहेका छन्, केहीले राहतको लागि आग्रह गरिरहेका छन्’ उनी भन्छन्, ‘यो समय सम्ममा बेपत्ता भएका मृत्यु भएका र अङ्गभङ्ग भएकाहरूको परिवारमा निकै समस्या रहेको छ ।’

    सरकारबाट आउने अवसरहरूमा पनि समान पहुँच हुन नसक्दा पीडितहरू थप समस्यामा रहेको उनले बताए ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री