ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • सिसाका बोतल जथाभावी फाल्दा जोखिम

    सिसाका बोतल जथाभावी फाल्दा जोखिम
    Spread the love

    अछाम — गत साता खेतमा काम गर्ने बेला ढकारी गाउँपालिका–८ घोडासैनका नन्दबहादुर भण्डारीको सिसाले पैतालामा काटियो । चप्पल नलगाएर हिलोमा काम गरिहेका नन्दबहादुरको खुट्टामा ३ टाँका लगाउनु पर्‍यो । नजिकैको स्वास्थ्य चौकीमा उपचार गर्दा घाउ निको भएन । घाउ पाक्न थालेपछि दुई पटक जिल्ला अस्पताल मंगलसेन पुगे ।

    ‘आउजाउ गर्दा पाँच हजार रुपैयाँभन्दा बढी खर्च भइसक्यो । घाउ निको भएको छैन,’ उनले भने, ‘सावधान भएर डरैडर काम गर्दा पनि खुट्टामा ठूलै घाउ बन्यो ।’ छेउको खोलाले बगाएर ल्याउने सिसाजन्य वस्तु उनको खेतमा थुप्रिने गरेको छ । भलसँगै मदिराका खाली बोतल–सिसा बगेर खेतमा थुप्रिने गरेको उनले बताए ।

    मंगलसेन नगरपालिका–५ की खण्टी विकको धेरैजसो खेतबारी बजार क्षेत्रमै पर्छ । केही समयदेखि बोतलका सिसाका टुक्राले खेतबारीमा काम गर्न नसकिएको उनले बताइन् । ‘खेत रोप्ने बेला हिलोमा चप्पल लगाएर जान सकिँदैन । खाली खुट्टा जाँदा सिसाका टुक्रामात्रै भेटिन्छन्,’ उनले भनिन्, ‘खेतको माथि बजार छ । झारफुंगा धाराबाट बगेर आउने पानीसँगै बजारको फोहोर, प्लास्टिक र सिसीमात्रै बारीमा थुप्रिएर हैरान पारेको छ ।’ खेतबारी, धारा, पँधेरादेखि खरबारीमा असरल्ल भेटिने सिसा बोतल र टुक्राले कृषि कर्ममा समस्या पारेको स्थानीय बताउँछन् । ‘खेतबारीमा डरैडर काम गर्नुपर्छ । कतिबेला पो सिसा र धातुले काटिन्छ ?,’ नन्दबहादुरले भने, ‘बजार क्षेत्र मात्रै होइन, गाउँघरका खेतबारीमा पनि जथाभावी बोतल फालिएका हुन्छन् ।’

    मदिराका कारण हुने हिंसा र अपराधिक क्रियाकलापबाट महिला नै पीडित भएको र मदिरा सेवनपछि जथाभावी फालिएका सिसीबोतलबाट पनि खेतबारीमा काम गर्न महिलालाई समस्या भएको ढकारी गाउँपालिका–७ की नन्दा बुढा सुनाउँछिन् । ‘मदिराले महिला हिंसा कति निम्त्याएको छ भन्ने कुरा जिल्लामा सबैलाई थाहा छ । यसको मारमा महिला परिरहेका छन् । हरेक दिन मदिरा सेवन गरेर कुटपिट गर्नेजस्ता यातना एकातिर सहेर बस्नुपरेको छ । अर्कोतिर जथाभावी मदिराका बोतल फुटाइएका छन् । खेतबारीमा घाँसपात र हिँड्डुल पनि डरैडर गर्नुपर्छ,’ उनले भनिन्, ‘गाउँमा अन्न नपाएला मदिरा भने जताततै पाइन्छ । बरु खाएर सिसी जथाभावी नफालिदए हुन्थ्यो ।’

    धान गोड्ने बेला मदिराका सिसा भेटिएको देखाउँदै मंगलसेन नगरपालिका-५ का महिला । तस्बिर : मेनुका ढुंगाना/कान्तिपुर

    बाटोघाटो, चौरचौतारा तथा खेल्ने ठाउँमा सिसाका टुक्राले गर्दा बालबालिकालाई समेत अप्ठ्यारो हुने गरेको उनले बताइन् । ‘फुटेका बोतल र सिसाका टुक्रा नभेटिने कुनै ठाउँ छैन । केटाकेटीलाई खाली ठाउँमा खेल्न पठाउन सक्ने अवस्था छैन,’ उनले भनिन्, ‘हेर्दा सामान्य लागे पनि यो जटिल विषय हो । पटक-पटक घाउ बनेर घरमै थन्किनु परेको । यसको समाधान नखोजे जटिल समस्या आउन सक्छ ।’

    गाउँमा किराना पसलसँगै मदिरा व्यवसाय गरिरहेका ढकारी–८ का रंगनाथ विष्टले मदिरा भित्रिए पनि गाउँबाट बोतल लैजान कोही नआउने गरेको बताए । ‘गाउँको सामान्य पसलमा पनि वर्षमा ५०/६० कार्टुन मदिरा कारोबार हुन्छ,’ उनले भने, ‘खाएर रित्तिएका बोतल लिन कोही आउँदैनन् । त्यसपछि यत्रतत्र बन्छन् ।’ कतिपय ग्राहकले मदिरा बाटोमै सेवन गरेर बोतल जथाभावी फाल्ने तथा बालबालिकाले फुटाइदिने गरेको उनले बताए । ‘यसमा व्यापारीले चाहेरमात्रै व्यवस्थापन हुन गाह्रो छ । अरु फोहार जस्तो यो न कुहिन्छ न जलाउन मिल्छ ।’

    सिसाजन्य वस्तुले काटिएर घाउ बनेपछि जिल्ला अस्पतालमा उपचारका लागि आउनेको संख्या केही समयदेखि बढिरहेको डाक्टर अतुल भारद्धाजले बताए । ‘सानोतिनो घाउ भए कतिपय घरेलु उपचार र स्वास्थ्य चौकीसम्म पुग्छन् । ठूलै घाउ जिल्ला अस्पतालसम्म आउने पनि बढेका छन्,’ उनले भने, ‘सिसा जताततै फाल्नु सामान्यरुपमा लिने गरेको पाइन्छ । यसको असरबारे र व्यवस्थापनबारे सचेत गराउन आवश्यक छ ।’

    सिसाका टुक्र खोलाले बगाएर बाटोमा ल्याएपछि निकालेर फाल्दै मंगलसेनका एक युवक । तस्बिर : मेनुका ढुंगाना/कान्तिपुर

    मदिराका खाली सिसीले ग्रामीण भेगसम्म समस्या निम्त्याएकाले समाधानका लागि स्थानीय तह नै बढी जिम्मेवार हुनुपर्ने उद्योग वाणिज्य संघ अछामका उपाध्यक्ष बम रावल बताउँछन् । व्यापारीले बेचेका मदिराका सिसी आफैंले व्यवस्थापन गर्न प्रशासनमार्फत सबै व्यवसायीलाई पहिले नै जानकारी गराइसकेको उनले बताए । ‘आफूले बेचेको सिसा कसरी व्यवस्थापन गर्ने हो त्यो व्यापारीले सोच्नुपर्ने त हो । यसमा व्यापारी पनि अटेरी देखिएका छन्,’ उनले भने, ‘पालिकाभित्र फोहोर व्यवस्थापन कसरी भइरहेको छ ? यसबारे जनप्रतिनिधिले पनि चासो दिएजस्तो लाग्दैन ।’

    मदिराका खाली सिसीले समस्या बढाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा १७ पटकसम्म बैठक बस्दा पनि समस्या उस्तै रहेको मंगलसेन नगरपालिका प्रमुख पदम बोहराले बताए । व्यवसायीले खाली सिसी कवाडीलाई दिने वा कम्पनीलाई फिर्ता दिने जिम्मा व्यापारीले नै लिने सहमति धेरैपटक भए पनि कार्यान्वयन नभएकाले फेरि सरोकारवाला बसेर ठोस निर्णय गर्ने उनले बताए ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी