ईन्द्रा कुमारी केसी
सुखड कैलाली ।
पछिल्लो समय दैनिक रूपमा विभिन्न कारणले सडक दुर्घटनाहरू बढिरहेका छन् । दुर्घटना हुने विभिन्न कारण मध्ये तीव्र गतिमा सवारी साधन चलाउनु एक प्रमुख कारण हो । नियमित जसो हुने सवारी दुर्घटना कयौंको मृत्युको कारण समेत बनेको छ । यसरी सडक दुर्घटनाका कारण दिनहुँ ज्यान गुमाउने क्रम बढिरहँदा त्यसको मारमा सर्वसाधारण तथा पैदल यात्रुहरू समेत पर्ने गरेका छन् । यसैबिच बढ्दो दुर्घटना न्यूनीकरणका लागि कैलालीको घोडाघोडी नगरपालिकामा स्लो बाइक कम्पिटिसन सम्पन्न गरिएको छ ।
“स्लो बाइक,सेभ लाइफ” भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगिताले सडक दुर्घटना न्यूनीकरणका लागि सन्देश दिने घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले बताउनुभएको छ । सवारी दुर्घटना दिनहुँ जसो भइरहेका हुन्छन् उहाँ भन्नुहुन्छ,धेरै जसो दुर्घटना तीव्र गतिका कारणले नै भएको पाइन्छ। “बिस्तारै हाँके अवश्य पुगिन्छ हतार गरे भन्न सकिन्न”, “सवारीको तीव्र गतिलाई घटाउ आफू बचौँ र अरूलाई पनि बचाऔँ ।”
तीव्र गतिमा सवारी साधन चलाएर ज्यान गुमाउनेमा धेरै जसो युवाहरू नै पर्ने गरेका छन् । यो प्रतियोगिता विशेष गरी युवाहरूलाई नै लक्षित गरेर आयोजना गरिएको हो । पुरस्कार जित्नका लागि मात्रै नभई सन्देश दिनका लागि यो प्रतियोगिता आयोजना गरिएको घोडाघोडी नगरपालिका वडा न १ का अध्यक्ष घनश्याम ओझा बताउनुहुन्छ । अहिलेका युवा पीढीले तीव्र गतिमा मोटरसाइकल चलाउने गरेका कारण अकालमै ज्यान गुमाइरहेका छन् । उहाँले भन्नु भयो, आफ्नो र अरूको ज्यानको सुरक्षाका लागि पनि बिस्तारै सवारी चलाउनुपर्दछ भन्ने सन्देश यो प्रतियोगिताले दिनेछ ।
कैलाली जिल्लामा सवारी चाप निकै बढी छ । यसरी बढ्दो सवारी चापका बिच तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटनाको जोखिम थप बढेको अस्थायी ट्राफिक प्रहरी पोस्ट साडेपानिका प्रमुख जितमान धामी बताउनुहुन्छ । धामीका अनुसार सडकमा नियन्त्रित गतिका साथ ट्राफिक नियमको पालना गरी सवारी साधनको प्रयोग गरेमा दुर्घटनाबाट बच्न सकिन्छ । प्रतियोगिताले सडक दुर्घटना न्यूनीकरणका महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बास नेपाल कैलालीका अध्यक्ष चिरञ्जीवी छेडालले बताउनुभयो ।
प्रतियोगिताबाट जितेको रकम क्लबलाई सहयोग
घोडाघोडी नगरपालिकाको सहयोग तथा बास नेपाल कैलाली र घोडाघोडी उपशाखाले आयोजना गरेको स्लो बाइक प्रतियोगितामा प्रथम रोशन शाही,द्वितीय वीरेन्द्र शाही र तृतीय गणेश शाही भएका छन् । प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार,१० हजार र ५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगितामा तीनै जनाले प्राप्त गरेको रकमबाट १० हजार घोडाघोडी क्लबलाई सहयोग गरेका छन् । क्लबलाई केही सहयोग होस भन्ने उद्देश्यले कार्यक्रमका बिच नै जितेको रकमबाट नगद १० हजार घोडाघोडी क्लबका अध्यक्ष होम तामाङलाई उनीहरूले सहयोग स्वरूप प्रदान गरेका हुन । प्रतियोगितामा २३ जनाको सहभागिता रहेको थियो ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी